Loading... आजः शुक्रबार, अशोज १, २०७८

कविता : म पनि कवि हुने भए….

म पनि कवि हुने भए
एउटा कविता कोर्ने थिए
अनि त्यहीँ सजाउने थिए
एउटा महल
आफ्नै प्रतिविम्बको ।

रोज्ने थिए बसन्ती हरियाली
प्रेम, राश अनि खुसियाली
कोर्ने थिए तिनै रहर
हामी सङ्ग-सङ्गै बिताउने सुन्दर सहर।
थोरै दुःख अनि धेरै सुखका बगर।

हो ! कोर्ने थिए मै पनि कवि हुने भए
पोख्ने थिए यही सङ्गै
मुना र मदनको कथा
परदेशी श्याम र माइलीका
विछोडको व्यथा।
म पनि कवि हुने भए
एउटा कविता कोर्ने थिए ।

(धर्ती) शीर्षकको
एउटा सार लेख्ने थिए
अनि आफ्ना वेदना
त्यही धर्ती सङ्ग साट्ने थिए
पिरहरुलाई गद्य र पद्यमा लेखी
सुनाउने थिए
अरू जस्तै दुनियालाई मै पनि
आशु अनि चोटका कथाहरू
म पनि कवि हुने भए
एउटा कविता कोर्ने थिये।

रचना मेरो तिमीपनि हेर्ने थियौ
आकाश जस्तो छर्लङ्ग चरित्र
आफ्नै पाउने थियौ।

कल्पनाको सुन्दर महल चर्किदाको पीडा
कागजमा कविता रूपी पाउने थियौ
प्रेम नहुर्किदै आएको वियोगलाई
अक्षर मा हुबहु पढने र सुन्ने थियौ
म पनि कोर्ने थिए एउटा कविता
कवि हुने भए।।

रश्मि राई 


ताजा समाचार