Loading... आजः शनिबार, कार्तिक ६, २०७८

भेरीको पानी भुरचौरमा

जाजरकोट / भेरी नगरपालिका १० भुचौरका बासिन्दाले सयौ बर्षपछि गाउँमा खानेपानीको सुबिधा पाएका छन । भेरीको पानी लिप्ट सिस्टमबाट भुरचौरमा पुगेसंगै यहाँका बासिन्दाले खानेपानीको सुबिधा पाएका हुन । गाउँमा पानी पुगेसंगै बर्षौदेखि भेरीबाट गाग्रीमा बोकेर पानी पिउनु पर्ने भुरचौरबासीको बाध्यता अन्त्य भएको छ ।

भुरचौरका बासिन्दाले बर्षौदेखि भेरीको पानी बोकेर पिउदै आएका थिए । लिफ्ट सिस्टमबाट भेरी नदीको किनारदेखि गाउँमा पानी पुर्याइएको छ । कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा भुरचौर लिफ्ट खानेपानी योजना संचालन गरिएको हो । बहुबर्षिय यो योजनाबाट पहिलो चरणमा करिब ६० लाख लागतमा भेरी नदीको किनारबाट एक सय ९४ मिटर उचाईमा विद्युतबाट चल्ने मल्टि पम्पिङ्ग सेटबाट पानी भुरचौरमा पुर्याइएको छ । ६५ एमएमको जिआई पाईपमा भेरी किनारबाट ४०० मिटर माथि गाउँमा पानी आएको छ । अहिले प्रति सेकेण्ड ५ लिटर पानी खस्ने गर्दछ ।

अब एक लाख लिटर क्षमताको ट्याङ्की बनाएर घरघरमा खानेपानी धारा पुरयाउने आयोजनाको लक्ष्य रहेको खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, जाजरकोट प्रमुख ज्वालाराज शाहीले बताए । जाजरकोटका पहिलो लिफ्ट खानेपानी योजना सफल भएको र अब चाडै निर्माणका अन्य काम अगाडी बढाउने कार्यालय प्रमुख शाहीको भनाई छ । अब भुरचौरको टपमा एक लाख लिटरको पानी टंकी निर्माण गर्नुको साथै २५० घरधुरीको घर–घरमा पाईप लाईन विस्तार गरी धारा निमाणको काम आउदो आर्थिक बर्षमा गरिने छ । उक्त आयोजनालाई दीगो बनाउनुको साथै उपभोक्ताहरुले नियमित रुपमा तिर्नुपर्ने विद्युत महसुललाई कम गर्न मर्मसम्मार कोषको ब्यबस्था गरी सोलार सिस्टम जडानका लागि आवश्यक पहल गरिने कार्यालय प्रमुख शाहील बताए ।

लिफ्ट खानेपानी आयोजना सफल भएपछि भुचौरमा खुशियाली छाएको छ । सयौं बर्षदेखि काकाकुल भुरचौरवासीको गाउँमा खानेपानी ल्याउने सपना पुरा भएको छ । प्रदेश सरकारको सहयोगमा भेरी नदीको किनारबाट भुरचौर गाँउमा खानेपानी पुर्याउन सफल भएको भुरचौर लिफ्ट खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष बीर बहादुर शाहीले जानकारी दिए । गाउँमा पानी पुगेसंगै समयको बचत र पानी जन्य रोगको अन्त्य हुने उनको भनाई छ । यस बर्षको बजेटबाट विद्युतको टानसफर्म जडान गर्नुको साथै, जमिनको सतहदेखि १० मिटर गराई भएको ईनार निर्माण, वरिपरि तारजाली, जिआई पाईप खरिद तथा जडान गरी गाउँमा पानी पुर्याउने काम पुरा भएको छ । गाउँमा पानी पुगेसंगै गाग्री बोकेर पानीका लागि भेरी जानु पर्ने भुरका महिलाहरुको दैनिकी फेरीएको छ ।

 


ताजा समाचार