Loading... आजः सोमवार, जेष्ठ १५, २०८०
Trending

छेडागाड नगरको लोकप्रिय बजेट : यस्ता छन् प्राथामिकता (पुर्णापाठ सहित)

प्रस्तावित बजेट ६७ करोड २१ लाख

जाजरकोट । आत्मनिर्भर र सम्बृद्ध छेडागाड नगरपालिका, सुखि छेडागाडबासी नारा सहित छेडागाड नगरपालिकाकाले आर्थिक बर्ष २०७८/०७९ लागि ६७ करोड २१ लाख बजेट प्रस्ताबित गरेको छ । आउदो आर्थिक बर्षका लागि नगरपालिकाले चालु तर्फ ४७ करोड १३ लाख र पुजिगत तर्फ २० करोड ८ लाख प्रस्ताबित गरेको हो ।

नगरमा उपलब्ध स्रोत साधनको समुचित उपयोग, ब्यबसायिक उत्पादन र न्यायोचित बितरण मार्फत आत्मनिर्भर,सम्बृद्ध र समुन्नत छेडागाड नगरपालिका बनाउने बजेटको लक्ष्य रहेको छ । नगरपालिकाको भौतिक तथा प्राकृतिक स्रोत साधन र मानवीय संसाधनको उचित उपयोय, प्रयोग र न्यायोति बितरण मार्फत नगरबासीको जीवन स्तरमा सुधार गर्ने बजेटको उद्देश्य रहेको नगर प्रमुख लालबहादुर महताराले बताए ।

शिक्षा क्षेत्रमा समयानुकुल लगानी बृद्धिगरी सक्षम र क्षामतावात नागरिक तयार गर्न नीति तर्जुमा गरी बजेटको ब्यबस्था गरिएको छ । आधुनिक सूचना प्रबृद्धिको प्रयोग सहित शिक्षा क्षेत्रलाइ जीवन उपयोगि र युग सुहाउदो बनाउदै भबिश्यका कर्णधार बालबालिकालाई गुणस्तरिय शिक्षा पाउने ग्यारिन्टि गर्ने बजेटको प्राथमिकता रहेको नगर प्रमुख महताराको भनाई छ ।

मुलत आउदो आर्थिक बर्षका लागि बजेटका प्राथमिकताहरु कोभिड–१९ ले सृजना गरेको चुनौती सामना गर्न आइसोलेशन व्यवस्थापन एवम् संक्रमण रोकथाम तथा उपचारको व्यवस्था गर्ने, जनस्वास्थ्य र उपचारात्मक स्वास्थ्यको साथै स्वास्थ्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रको सबलीकरण गर्ने, कृषि उत्पादन र उत्पादकत्व बृद्धि गरी धेरैभन्दा धेरै नागरिकका लागि रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गर्ने, कृषकलाई प्रविधि हस्तान्तरण सहित कृषकलाई परामर्श दिन जनशक्ति व्यवस्थापन गर्ने, भोलिको समाजलाई दिशा निर्देश गर्ने शिक्षा क्षेत्र निषेधाज्ञाबाट अत्यधिक आक्रान्त भएको अबस्थाबाट पुनरुत्थान गर्ने प्रवन्ध मिलाउने, चालु आर्थिक वर्षमा सम्झौता गरी सञ्चालनको क्रममा निषेधाज्ञाको कारणले सम्पन्न हुन नसकेका आयोजनाहरुलाई निरन्तरता दिने, निर्माणाधिन वडा कार्यलय भवन नभएका वडाहरुमा अनिवार्य वडा कार्यकालय भवन निर्माण सम्पन्न गर्ने, वडा कार्यालयसम्म सडक पहुँच बिस्तार सहित सुनिश्चित गर्ने, प्रकोप व्यवस्थापन एवम् उद्धार, राहत र पुनर्लाभको ब्यबसस्था गर्ने रहेका छन ।

त्यसैगरी सहकारी क्षेत्रमार्फत् नागरिकलाई रोजगारी सिर्जना गर्ने, गरिबी न्यूनीकरण, रोजगारी सिर्जना र आयआर्जन बृद्धिमा प्रत्यक्ष योगदान पुर्याउने, आन्तरिक राजस्व बृद्धि र परिचालनमा योगदान पुर्याउने, स्थानीय श्रोत, साधन, श्रम र सीप र प्रविधिमा आधारित, लैंगिकमैत्री तथा समावेशिता प्रवर्द्धनमा प्रत्यक्ष सहयोग पुर्याउने , स्थान विशेषको संस्कृती र पहिचान प्रवर्धन गर्ने, दिगो विकास, वातावरण संरक्षण र विपद् व्यवस्थापनमा योगदान पुर्याउने, बजारमा पहुँच बृद्धि गर्न सघाउ पुर्याउने बजेटका प्राथमिकता रहेका छन ।

आउदो बर्षमा कम लागतमा बढी लाभ लिन सकिने आयोजनाहरु, विपन्न वर्ग र क्षेत्रका बासिन्दानहरुलाई प्रत्यक्ष फाइदा पुग्ने खालका आयोजनाहरु संचालन गर्ने तयारी गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत झलक के.सीले बताए । वातावरणमैत्री एवं जलवायु परिवर्तन अनुकूलनमैत्री, लागत साझेदारी र जनसहभागिता जुट्ने, भौगोलिक सन्तुलन कायम गर्न सहयोग गर्ने आयोजनाहरु संचालन गरिनेछन उनले भने ।

जलवायु परिवर्तनद्वारा सिर्जित प्रभाव तथा असरहरुसँग जुध्नका लागि जलवायु अनुकूलन, न्यूनीकरण र समानुकूलनका योजनाहरु कार्यान्वयन मार्फत् जलवायुमैत्री नगरपालिका निर्माण गर्न सहयोग पुग्ने नीति तर्जुमा सहित बजेट ब्यबस्था भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत के. सीको भनाई छ ।
भ्रष्टाचार नियन्त्रण, जनमुखी प्रशासन र सुशासनयुक्त नगरपालिका निर्माणमा जोड दिने ,ज्येष्ठ नागरिक, महिला, बालबालिका, शारीरिक रुपमा अशक्त, दलित आदिबासी वर्ग र क्षेत्रहरुलाई प्राथमिकतामा राखी लक्षित कार्यक्रमहरु सञ्चालनमार्फत् सामाजिक संरक्षणमा टेवा पुग्नेगरी बजेट ब्यबस्था भएको नगर उप प्रमुख तथा बजेट तर्जुमा समितिका संयोज सरिता वलीले बताइन । आगामि आर्थिक बर्षमा विभिन्न गुरुयोजनाहरु (खानेपानी, सडक, सिंचाई, विद्युत, सरसफाई) निर्माण गरी कार्यान्वय गर्ने लक्ष्य लिइएको उनको भनाई छ ।

(बजेटको पुर्णपाठ)

 १) सामाजिक विकासः मानवय मर्यादा प्रवर्द्धनको आधार

शिक्षा क्षेत्रः

सदा चलायमान हुनुपर्ने शिक्षा क्षेत्र बन्दाबन्दीसँगै करिब करिब बन्द जस्तै बनेको छ। यस्तो विषम परिस्थितितिमा वैकल्पिक शिक्षाका उपायहरु अवलम्बन गरिनेछ। विद्यालयमा निर्माण हुने भौतिक पूर्वाधारहरु आरसीसी मोडेलमा निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको छु। क्रमागत दायित्वको रुपमा रहेका विद्यालयका भवनहरुको लागि रु.१ करोड विनियोजन गरेको छु।

  • एकातिर आधारभूत तथा माध्यामिक तहसम्मको शिक्षा व्यवस्थापन गर्ने जम्मेवारी संविधानले स्थानीय तहलाई सुम्पेको छ भने अर्कोतिर विद्यालयहरुमा शिक्षक दरबन्दी अभाव भई गुणस्तरीय र प्रतिस्पर्धी नागरिक निर्माण गर्न अप्ठ्यारो पर्न गएको छ। यस्तै खालको समस्या हल गर्न ९ वटा माध्यमिक विद्यालयहरुमा मासिक रु २५ हजार तथा २२ वटा आधारभूत विद्यालयहरुमा मासिक रु १७ हजारका दरले हुने गरी नगर शिक्षक अनुदान कार्यक्रमलाई परिमार्जन सहित निरन्तरता दिएको छु। न्युनतम विद्यार्थी सख्या भई शुन्य वा एक दरबन्दी/राहत शिक्षकमा संचालित प्राथमिक विद्यालयहरुमा मासिक रु १५ हजारको दरले हुने गरी नगर शिक्षक अनुदान प्रदान गरीने छ।मावि,आवि र प्राविहरुमा हुनेगरी जम्मा रु.९८ लाख विनियोजन गरेको छु।
  • शिक्षा विकास तथा समन्वय ईकाइबाट शिक्षण सिकाई अनुदानमा नियुक्ति भएका प्रावि शिक्षकको पारिश्रमिकको लागि रु.३४ लाख विनियोजन गरेको छु।
  • समुदायमा आधारीत बालविकास केन्द्रहरुमा मासिक रु ५ हजार पारिश्रमिक दिने गरी एक जना कार्यलय सहयोगी नियुक्ती गरी बालविकास केन्द्रलाई वालवालिका मैत्रि बनाईनेछ।जस्को लागि रु २२ लाख ७५ हजार विनियोजन गरेको छु।
  • कठिन भौगोलिक अवस्थिति, छरिएर रहेका बस्तिहरु विद्यालयको पहुँच भन्दा टाढा रहेका बालवालिकाहरुलाई विद्यालयको पहुँचमा ल्याई बालवालिकाको सर्वाङ्गिण विकासमा टेवा पुरयाउन थप बस्तिहरुमा बालविकास केन्द्रहरुको स्थापना गर्न रु १९ लाख २० हजार विनियोजन गरेको छु।
  • विश्वव्यापी सूचना प्रविधिको जालोले विश्व जोडीएको वर्तमाण अवस्था समेत हाम्रो नगरपालिकामा पठन संस्कृतिको अभाव एकातिर छदैछ भने हाम्रो नगरपालिकामा एउटा पनि सार्वजनिक पुस्तकालयह नहुनु आफैमा दुखद कुरा हो। तसर्थ यस्तो परिस्थितिको मध्यनजर गर्दै वडा नं ३ को दशेरामा जनज्ञानकुञ्ज पुस्तकालय सञ्चालन र व्यवस्थापनको लागि रु १ लाख ९५ हजार विनियोजन गरेको छु।

सभा अध्यक्ष महोदय,

  • शुद्ध खानेपानी सबै नागरिकलाइ सुनिश्चित गर्न संघीय सरकारको विशेष अनुदान अन्तर्गत पातलपानी चाल्नेमालिका खानेपानी आयोजना निर्माण गर्न रु १ करोड ४५ लाख परिचालन गरिनेछ।
  • हेल्भेटा नेपालसँगको साझेदारीमा एकघर एकधारा खानेपानीको लागि आवश्यक बजेट विनियोजन गरेको छु।

२) कोभिड१९

विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड१९ ले संघ, प्रदेश मात्र हैन हाम्रो नगरपालिका समेत आक्रान्त बनिरहेको अवस्था छ। यस्तो त्रासदीपूर्ण अवस्था कहिले र कसरी अन्त्य हुने हो सोको यकिन हुन कठीन छ। यस्तो अदृष्य तर साझा दुश्मन विरुद्धको लडाईँ लड्नको लागि स्वास्थ्य सामग्री र आईसोलेशनमा उपचार गर्ने परिपाटीको व्यवस्थापन गर्न, औषधि खरिद तथा नगर अस्पताल संचालन तथा  व्यवस्थापनको  लागि रु ५० लाख विनियोजन गरेको छु।

३) स्वास्थ्य क्षेत्रः

यस नगरपालिकाको सबै वडाहरुमा आधारभुत स्वास्थ्य तथा सरसफाई केन्द्रहरु स्थापना भई संचालनमा रहेकाछन। स्वास्थ्य संस्थाहरुको स्थापना संगै सेवागाह्रिहरुको स्वास्थय संस्थामा पहुँच एकातिर बढेको छ भने आर्कोतिर औषधि तथा अन्य उपकरणको अभावलाई पुर्ति गर्नु पर्ने परिस्थित छ। कोभिड १९ को प्रवावलाई निष्प्रभावी बनाउनकोलागि समेत औषधि तथा स्वास्थ्य सामाग्री व्यवस्थापन गर्न रु ५० लाख विनियोजन गरेको छु।

४) आर्थिक विकासः

  • नगरपालिकालाई कृषि उत्पादनमा क्रमशः आत्मनिर्भर बनाई गरिबी तथा भोकमरी उन्मूलन गर्न आय र रोजगारी बढाउन, कृषिको आधुनिकीकरण, विविधीकरण र व्यवसायीकरणमार्फत् कृषि उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न किसानसग मेयर कार्यक्रम अन्तर्गत किसान सुरक्षा कार्यक्रम सञ्चालन गरिनेछ, जसको लागि संघ, प्रदेश र नगरपालिकाको साझेदारीमा कार्यक्रम संचालन गरिनेछ। किसानलाई परामर्श र सहयोग गर्न एक वडा एक प्राविधिक जनशक्तिलाई स्वयम् सेवकको रुपमा परिचालन कार्यक्रमलाई निरन्तरता दिएको छु।
  • परम्परागत र रैथाने बालीको संरक्षण गर्दै किसानको खाद्य संप्रभुताको हक सुनिश्चित गर्नु नगरपालिकाको दायित्व हो त्यसैले उक्त कार्यक्रम संचालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु।
  • व्यवसायिक बाख्रापालन, दुग्ध विकास कार्यक्रम संचालन गरी कृषि क्षेत्रको व्यवसायिक वातावरण निर्माण गरी नगरबासीको जीवन स्तरमा सुधार गर्नकोलागि आवश्यक बजेट विनियोजन गरेको छु।
  • साना तथा घरेलु उद्यमीलाई प्रोत्साहन गर्दै नगरपालिकाको औद्योगिक वातावरण तयार गर्नको लागि आवश्यक बजेट विनियोजन गरेको छु।
  • गाउँगाउँमा रहेको श्रम, सीप र प्रविधिको उपयोग गर्दै नागरिकलाई स्वरोजगार बनाउन सहकारीकर्मीहरुको क्षमता विकास कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु।
  • पर्यटन क्षेत्रको प्रवर्द्धनको लागि नगर गौरवको रुपमा रहेको सुयाडा मालिका मन्दिर निर्माण कार्य सम्पन्न गर्नको लागि आवश्यक बजेट विनियोजन गरेको छु। छेडागाड नगरपालिकामा रहेका व्यापार व्यवसायहरुलाई नियमन र व्यवस्थित गर्न दर्ता प्रक्रियामा ल्याइने छ। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु।

सभा अध्यक्ष महोदय,

५) विकासको उद्भव भौतिक पूर्वाधार, प्रतिष्पर्धा तथा सभ्यताको आधार

  • निर्माणाधिन वडा कार्यालय भवन निर्माण सम्पन्न गर्न रु. ५० लाख विनियोजन गरेको छु।
  • यसै आ.. मा सबै वडा केन्द्रहरुमा सडक बाटोको पहुँच सुनिश्चित गर्न वडा नं ७ को टीकाचौर र वडा नं १ को जाल्मा खामालेख लगायतका सडक निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको छु।
  • पूर्वाधार विकासका कार्यक्रमहरु संघ तथा प्रदेश सरकारको साझेदारीमा सञ्चालन गरी विकासका आवश्यकता पूर्ति गर्न समपूरक कोषको रुपमा रु.२ करोड १५ लाख विनियोजन गरेको छु।
  • प्रदेश सरकारसँगको साझेदारीमा मनघाट पिपलतरा अन्दरकोट सडक निर्माणको लागि रु.६० लाख विनियोजन गरेको छु। त्यस्तै मनघाट सिर्सेनि जोब्र आल सडक निर्माणको लागि रु.६० लाख विनियोजन गरेको छु।
  • चालु आवमा सम्झौता भई बन्दाबन्दीको कारणले सम्पन्न हुन नसकेका आयोजनाहरुलाई चालु आवमा विनियोजन गरेको बजेटलाई निरन्तरता दिएकोछु।
  • सडक, विद्यालय लगाएतका सार्वजनिक पूर्वाधारहरुको मर्मत संभारको लागि रु १ करोड ५० लाख विनियोजन गरेको छु।

६) वातावरणीय विकास र दिगो विकासः विपद व्यवस्थापनको पूर्वाधार

  • बन, वातावरण संरक्षणको लागि संघीय र प्रदेश सरकारसँगको सहकार्यमा वृक्षारोषण र हरियाली प्रवर्द्धन कार्यक्रम संचालन गरिनेछ।
  • साथै विभिन्न पर्व तथा दिवसको अवसरहरुमा पनि बृक्षारोपणलाई प्राथमिकतामा राख्न आवश्यक नीति अवलम्बन गरेको छु।
  • विपदमा परेकाहरुको लागि आपतकालीन राहत कोषको स्थापना गरी सोही बमोजिम राहत उपलब्ध गराउन रु २५ लाख विनियोजन गरेको छु।
  • सामुदायिक बनको वार्षिक कार्ययोजना स्वीकृतिको लागि आवश्यक प्रबन्ध गरी सामुदायिक वनको वार्षिक आयको १० प्रतिशत स्थानीय तहलाई राजश्व बुझाउने व्यवस्था मिलाइनेछ।

७) सबल सरकारः सचेत नागरिक

  • छिटोछरितो सेवा प्रवाहको लागि भ्रष्टाचारमुक्त एवम् सुशासनयुक्त प्रशासन हुनु आवश्यक छ। तब मात्र नागरिकमैत्री प्रशासन हुन सक्छ। जसको लागि दण्ड र पुरस्कारको व्यवस्था गरिनेछ। हामीले प्रयोग गर्दै आएको अभिलेख प्रणालीलाई वैज्ञानिक बनाउनको लागि विद्युतीय सरकारको अवधारणा लागू गरिनेछ। कुनै पनि योजना तर्जुमाको पहिलो आधार भनेको तथ्याङ्क हो। नगरको पहिचान गराउने विभिन्न खालका राष्ट्रिय अभियानहरु (जस्तैः पूर्ण सरसफाई नगरपालिका, पूर्ण साक्षर नगरपालिका, पूर्ण खोपयुक्त नगरपालिका, बालमैत्री स्थानीय शासन नगरपालिका, वातावरणमैत्री नगरपालिका, जातीय भेदभाव र छुवाछुतमुक्त नगरपालिका, घरभित्रको धुँवामुक्त नगरपालिका आदि) सञ्चालन गरी नगरपालिकाको पहिचान स्थापित गर्न आवश्यक नीति अवलम्वन गरेको छु।

सभा अध्यक्ष महोदय,

८) युवा तथा खेलक

  • स्वच्छ जीवनको लागि खेलकूद भन्ने मान्यतालाई मध्यनजर गरी नियमित रुपमा स्थानीय स्तरमा खेलकूदका विभिन्न कार्यक्रमहरु समावेश गरी नगरस्तरीय खेलकूद आयोजना गर्न आवश्यक बजेट विनियोजन गरेको छु।
  • युवा प्रतिभा पहिचान कार्यक्रम र युवा परिचालनको लागि राष्ट्रिय युवा परिषद् नेपालसँगको सहकार्यमा युवा लक्षित कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु।

९) महिला तथा बालबालिकातर्फः

  • मानव सभ्यताको सम्मानः छुवाछूत र सामाजिक कुरीति बिरुद्धको अभियान” भन्ने नाराका साथ सामाजिक सचेतनाका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु।
  • महिला, दलित, शारीरिक अशक्त, जेष्ठ नागरिक र वालमैत्री कार्यक्रमहरु सञ्चालनको लागि रु.१० लाख विनियोजन गरेको छु।
  • आमा र बुवा नभएका ५ वर्षदेखी १५ वर्ष सम्मका बालबालिकाहरु तथा ६० देखी ७० वर्ष सम्मका एकल पुरुषहरुलाई दोहोरो नहुनेगरी मासिक रु ५ सय हुने गरी सामाजिक सुरक्षा भत्ताको दायरामा ल्याउन आवश्यक बजेट विनियोजन गरेकोछु।
  • महिलासँग उपमेयर” कार्यक्रम मार्फत् महिला स्वरोजगार तथा उत्थानका कार्यक्रमहरु सञ्चालन गर्न रु. २० लाख विनियोजन गरेको छु।  

सभाअध्यक्ष महोदय,

१०) संस्थागत विकास, सेवा प्रवाह र सुशासन

  • कर्मचारीहरुको पारिश्रमिक, जनप्रतिनिधिहरुको यातायात सहितको सुविधा लगाएत कर्मचारीहरुको वृति विकासको लागि बिभिन्न कार्यक्रमहरु बनाई कार्यान्वयन गर्नको लागि आवश्यक बजेट विनियोजन गरेको छु। साथै क्षमता विकासका लागि विभिन्न किसिमका क्षमता अभिबृद्धि हुने खालका कार्यक्रमहरु संचालन  लगाएतको संस्थागत विकास र सेवाप्रवाहको प्रबन्ध मिलाउनको लागि चालु खर्चमा १० करोड ७० लाख विनियोजन गरेको छु।
  • त्यसैगरी यस छेडागाड नगरपालिकाका १३ वटै वडाहरुमा क्षेत्रफल, जनसंख्या, नगरपालिकाको केन्द्र देखिको भौगोलिक दूरी, राजस्व क्षमता र सङ्कलन, पूर्वाधार विकासको अवस्था, भारित लागत, गरिबी तथा मानव विकास सूचकाङ्कको आधारमा वडाबाटै योजना छनौट गरी तपसिल बमोजिम कार्यान्वयन गर्नको लागि रु.२ करोड ३६ लाख  रकम विनियोजन गरेको छु।

तपसिल

वडा नं. विनियोजित बजेट अंकमा रु. अक्षरमा कैफियत
2192424.59

 

एक्काईस लाख बयानब्बे हजार चार सय चौबीस रुपैया उनन्साठ्ठी पैसा  
1821778.33

 

अठार लाख एक्काईस हजार सात सय अठहत्तर रुपैया तेत्तिस पैसा  
  2014976.85

 

विस लाख चौध हजार नौ सय सन्तानब्बे रुपैया पचाअसी पैसा  
1531768.75

 

पन्ध्र लाख एकतीस हजार सात सय अठसठ्ठी रुपैया पचहत्तर पैसा  
1527281.81

 

पन्ध्र लाख सत्ताईस हजार दुई सय एकाअसी रुपैया एकाअसी पैसा  
1797498.56

 

सत्र लाख सन्तानब्बे  हजार चार सय अन्ठानब्बे रुपैया छपन्न पैसा  
1161454.53

 

एघार लाख एकसठ्ठी हजार चारसय चउन्न  रुपैया त्रिपन्न पैसा  
1912572.81

 

उन्नाइस लाख बाह्र हजार पाँच सय बहत्तर रुपैया एकाअसी पैसा  
1५२8492.06

 

पन्ध्र लाख अठ्ठाईस हजार चार सय बयानब्बे रुपैया छ पैसा  
१० 2370052.17

 

तेइस लाख सत्तरी हजार बाउन्न रुपैया सत्र पैसा  
११ 1619394.13

 

सोह्र लाख उन्नाइस हजार तीन सय चौरानब्बे रुपैया तेह्र पैसा  
१२ 2332493.46

 

 तेइस लाख बत्तीस हजार चार सय तिरानब्बे रुपैया छयालिस पैसा  
१३ 1790020.95

 

सत्र लाख नब्बे हजार बीस रुपैया पन्चानब्बे पैसा  
जम्मा २३६००२०९ दुई करोड छत्तिस लाख दुई सय नौ रुपैया  

 सभा अध्यक्ष महोदय,

वित्तीय समानिकरण, राजश्वबाडफाँड, विशेष अनुदान, समपुरक अनुदान र आन्तरिक श्रोतको विनियोजन मध्ये चलु तर्फ रु ४७ करोड १३ लाख  रहेको छ भने पुजीगत तर्फ रु २० करोड ८ लाख रहेकोछ। साथै शसर्त अनुदानको खर्च शर्त अनुसार नै हुनेछ।

सभा अध्यक्ष मोहोदय,

अब म आ.व. ०७८/०७९ को लागि माथि प्रस्तावित खर्च व्यहोरीने स्रोतहरु प्रस्तुत गर्ने अनुमति चाहान्छु।

  • वित्तीय समानीकरण अनुदान संघीय सरकार रु.११ करोड ८४ लाख
  • संघीय सरकार राजश्व बाँडफाँड रु.१० करोड ७० लाख
  • वित्तीय समानीकरण अनुदान प्रदेश सरकार रु.१ करोड २५ लाख
  • प्रदेश सरकार राजश्व बाँडफाँड रु. ७७ लाख
  • सशर्त अनुदान संघीय सरकार रु.३३ करोड ७८ लाख
  • सशर्त अनुदान प्रदेश सरकार रु. ३ करोड ३० लाख
  • समपूरक प्रदेश सरकार रु.१ करोड २० लाख
  • विशेष अनुदान प्रदेश सरकार रु.६० लाख
  • विशेष अनुदान संघीय सरकार रु.२ करोड ७० लाख
  • समपूरक संघीय सरकार रु. ५७ लाख
  • आन्तरिक स्रोत नगरपालिकाको रु.५० लाख

 जम्मा रु.६७ करोड २१ लाख रहेको छ।

सभाअध्यक्षज्यू,

कुनै पनि योजनाको दस्तावेज तयार गर्नु आफैमा महत्वपूर्ण र कठिन कार्य हो। विगतमा गरिने योजना तर्जुमाभन्दा फरक ढंगले गरेको यस पटकको योजना तर्जुमाका विभिन्न चरणबाट प्राप्त प्राथमिकतामा परेका योजनाहरु हामीले छनौट गरेका छौं। विभिन्न विषयगत निकायहरु र दातृ निकायहरुबाट कार्यान्वयन गरिने योजनाहरुलाई पनि वार्षिक योजना पुस्तिकामा समावेश गरिने कुरा अवगत गराउन चाहन्छु। तर्जुमा भएको यो छेडागाड नगरपालिकाको वार्षिक योजनाको कार्यान्वयन अझ चुनौतीपूर्ण हुने महसूस गरेको छु। सम्बद्ध सबै पक्षको सार्थक सहयोगबाट तयार भएको यो बजेट तथा कार्यक्रमको सफल कार्यान्वयनमा समेत यहाँहरुको महत्वपूर्ण भूमिका रहने विश्वास लिएको छु। यस अवसरमा छेडागाड नगरपालिकाको समग्र विकासको सन्दर्भमा प्रभावकारी भूमिका खेल्ने राजनीतिक दल, विषयगत निकायहरु, विभिन्न दातृ निकायहरु लगायत सम्पूर्णप्रति नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा समेत यथोचित सहयोग र सद्भावको अपेक्षा गरेको छु।

अन्तमा,

हाम्रो आमन्त्रणालाई हार्दिकतापूर्वक स्वीकार गरी पाल्नुहुने यस सभामा उपस्थित अतिथि महानुभावहरु लगायत योजना तर्जुमाको प्रारम्भिक चरणदेखि बजेट सार्वजनिक गर्दासम्मका हरेक क्रियाकलापमा प्रत्यक्ष वा परोक्ष संलग्न रही सहयोग पुर्याउनुहुने नगरपालिकाका सम्पूर्ण वडाका वडा अध्यक्षज्यूहरु, कार्यपालिकाका सदस्य, वडा सदस्य, पत्रकार मित्रहरु, नागरिक समाज लगायत सम्पूर्ण महानुभावहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु। त्यसै गरी नगर सभा तयारीको प्रारम्भिक चरणदेखि अहोरात्र खट्ने राष्ट्रसेवक कर्मचारीहरुलाई धन्यवाद दिन चाहन्छु। नगरपालिकाले लिएको लक्ष्य प्राप्त गर्न स्वीकृत कार्यक्रम तथा बजेट समयमै सञ्चालन तथा सम्पन्न गरी प्रतिफल प्राप्तिका लागि यहाँहरु सहित सम्पूर्ण नगरपालिकाबासीहरुको समान तथा सक्रिय सहभागिता र सहयोग रहनेछ भन्ने पूर्ण विश्वास लिएको छु।

धन्यवाद !


ताजा समाचार