Loading... आजः बिहिबार, जेष्ठ ११, २०८०
Trending

२०६ रन बनाउदा पनि नेदरल्याण्ड्ससँग नेपाल ३ विकेटले पराजित

काठमाण्डौ : त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत चौथो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले दिएको दुई सय सात रनको विशाल लक्ष्य पुरा गर्दै नेदरल्याण्ड्स ३ वीकेटले विजयी भएको हो । नेदरल्याण्डले १९ ओभर तीन बलमा सात विकेट गुमाएर नेपाललाई पराजित गरेको हो ।

नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिए पनि हारबाट जोगाउन सकेन् । आजको खेलमा सन्दीपले चार ओभरमा ४८ रन दिएर चार विकेट लिएका हुन् । त्यस्तै कुशल मल्ल, करण केसी र अविनाश बोहोराले एक विकेट लिए ।

नेदरल्याण्ड्सका लागि बास दि लिदेले अविजित ८१ रन बनाए । त्यस्तै बेन कुपरले ५५ र पेटर सेलारले ३१ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय ६ रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले ६२, दीपेन्द्रसिंह ऐरीले ६० रन बनाए । प्रतियोगितामा कुशलको यो लगातार तेस्रो अर्धशतक हो । त्यस्तै ज्ञानेन्द्र मल्लले २० र कुशल मल्लले १८ रनको योगदान गरे । त्यस्तै सोमपाल कामीले अविजित २१ रन बनाए ।

नेदरल्याण्ड्सका लागि भिभियान किङ्गमा र पेटर सेलारले दुई÷दुई विकेट लिए ।

आजको खेल हारे पनि नेपालको फाइनल प्रवेश गर्ने सम्भावना कायमै छ । आजको हारसँगै नेपालले फाइनल प्रवेशका लागि मलेसियासँगको खेल कुर्नुपर्ने भएको छ । मलेसियासँगको सानो अन्तरको हारले पनि नेपाल फाइनलमा पुग्न सक्नेछ ।

नेदरल्याण्ड्सको पनि फाइनलमा पुग्ने सम्भावना कायमै छ । तालिकामा नेदरल्याण्ड्सको पनि चार अङ्क भए पनि नेपाल रनरेटको आधारमा पहिलो स्थानमा छ । नेपालले लिग चरणको अन्तिम खेल आउँदो बिहीवार मलेसियासँग खेल्ने छ ।


ताजा समाचार