Loading... आजः बिहिबार, बैशाख ३०, २०७८

एमालेले एक चैतमा बोलायो केन्द्रिय कमिटी बैठक


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउनु भएको छ । अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक १ चैतमा बोलाउन भएको हो ।

एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङ्गले केन्द्रीय कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको बताउनु भयो । सर्वोच्च अदालतले २३ फागुनमा नेकपा एकीकरणको निर्णय बदर गरेपछि एमाले र माओवादी केन्द्र अलग भएका छन् । दुवै पार्टी अलग भएपछि पहिलो पटक एमाले केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

केन्द्रीय कमिटी बैठकमा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित २४१ केन्द्रीय सदस्य उपस्थित हुनेछन् । पछि थप गरिएका केन्द्रीय सदस्यलाई भने बैठकमा बोलाइएको छैन ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यले केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाए मात्र उपस्थित हुने बताउँदै आएका छन् । तर, अध्यक्ष ओलीले भने प्रधानमन्त्री निवास बालुवाटारमै बैठक बोलाएका हुन् ।

एमाले केन्द्रीय कमिटीका एजेन्डाबारे केही खुलाएको छैन। तैपनि सर्वोच्च अदालतको फैसलापछि माओवादी केन्द्रमा नफर्कने निर्णय गरेका माओवादी नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने सम्भावना रहेको जनाएको छ ।


ताजा समाचार