Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

जाजरकाेटमा दशैकाे प्रभाव : रित्तिदै शहर,भरिँदै गाउँघर

दशैले जुराउँछ जन्मघरमा जमघट


जाजरकोट, ७ कार्तिक । दशैँ पर्व नजिकिँदै गर्दा सदरमुकाम खलंगा सुनसान भएको छ  । कर्मचारी, विद्यार्थी, शिक्षक, व्यापारी, राजनीतिक दलका नेता कार्यकर्ता लगायत दशैँ मनाउन गाउँ हिंडेपछि खलंगा बजार सुनसान भएको हो  । नेपालगन्ज, सुर्खेत, काठमाडौं लगायत सहरमा घर बनाएका खलंगाका अधिकांश रैथाने बासिन्दा पनि दशैँ मनाउन गाउँमा झरेका छन । विभिन्न कामकाजका सिलसिलामा सदरमुकाम बस्दै आएका सबै जना गाउँ फर्केपछि खलंगा सुनसान भएको स्थानीय राजबहादुर विकले बताए  ।

मंगलबार देखि खलंगामा फाटफुट बाहेक रैथाने मात्र देखिन्छन, उनले भने, ‘खलंगाका रैथाने बासिन्दा पनि आधा जति सहरतिर झरिसकेका छन ।’ उनका अनुसार हिजोआज गाउँ फर्कनेको लर्को लागेको छ । सरकारी कार्यालयका कर्मचारी दशैँ बिदामा हिंडिसकेका छन । खलंगाका पसल तथा होटल बन्द छन  । चहलपहल भइराख्ने खलंगाको ठाँटी बजार, गैरखाली, शान्तिचौतारा लगायत बजारमा स्थानीयको आवजावत न्यून भएको छ । गाउँमा भने दशैं नजिकिए सँगै चहलपहल बढेको छ । देशका विभिन्न सहर र देश बाहिर बसेका अधिकांश दशैँ मनाउन गाउँ फर्केकाले चहलपहल बढेको हो ।

रोजगारीका लागि विदेश गएका, अध्ययन गर्न सहरमा पसेका र व्यापार तथा जागिर गर्न गएका दशैँ मनाउन घर फर्केका हुन दशैँ मनाउनका लागि तीन वर्षपछि घर फर्केको बारेकोट गाउँपालिका २ का रामबहादुर नेपालीले बताए  । नेपाली मजदुरीका लागि भारतको नैनीतालमा बस्दै आएका थिए । दशैँ तथा तिहारको पूर्व तयारीका लागि ग्रामीण क्षेत्रमा घर पोत्ने, रङ्गीचङ्गी बनाउने, खसीबोका किन्ने, भगवती मन्दिर तथा मौलो सरसफाई, बाटोघाटो सरसफाइ, पिङ लगाउने, सेलरोटी पकाउने लगायत काम भइरहेका छन । गत बर्ष सम्म सडक नपुगेका स्थानीय अहिले घर छेउमै यातायातको साधन पुग्ने भएकोले स्थानीय हर्षित हुदै गाउँ प्रवेश गरेका छन ।
                                                                                लोप हुदै लिङगे पिङ
केही वर्ष अघि सम्म दशैँ सुरु हुन साथ जाजरकोटका गाउँघरमा युवाहरु पिङ हाल्न व्यस्त हुन्थे । गाउँभरीका युवा युवती भेला भएर जंगलमा गई बाँबियो ल्याएर लामा लामा डोरी बाटेर सबै गाउँका युवा जम्मा हुने र रमाईलो गर्ने ठाउँमा पिङ लाग्ने गरिन्थ्यो । तर आजभोलि गाँउघरमा पिङहरु देखिन छोडेका छन । गाउँघरमा दसैंमा एकपटक भए पनि जमिन छाड्नुपर्छ भन्ने मान्यता रहेको छ  । पहिले पहिले बारेकोट गाउँपालिकाको बिभिन्न ठाउँमा पिङ हालेर रमाइलो गर्ने ठाँउ आजभोली सुनसान भएका छ ।

पहिले पिङ हालेर रमाईलो हुन्थ्यो आज भोली त्यो चलन हाएकोको छ भन्छन बारेकोट गाउँपालिका ५ नायकवाडा बिर बहादुर सिंह, पर्वको समयमा मेला, उत्सव लाग्न छोडेपछि पिङ लोप हुँदै गएको हो । ग्रामीण भेगका अधिकांश युवा विदेश भएकाले गाउँमा पिङ हाल्ने जनशक्तिको समेत अभाव छ भने बाँस पनि पहिले जस्तो सहजै पाइँदैन । दशैँ तिहारलाई लक्षित गरेर लाग्ने ऐतिहासिक मेलालाई अहिले बढ्दो सहरीकरणका कारण लाग्न छाडेका छन । गाउँघरमा पर्व मनाउन फर्किए पनि मानिसहरू घरमै मोबाइल र टीभीमा व्यस्त हुने, साथी भाइ बीच भोज भतेर गरेर बिदा मनाउन थालेका छन  ।

बारेकाट २ का भीमबहादुर नेपाली पनि आजभोलि पिङहरु हराएको र युवाहरु पिङमा मच्चिने चलन हराउँदै गएकोले ‘अचेल सबै मोबाइल र इन्टरनेटमा झुम्न थाले,’ भीमबहादुर ले भने, ‘मौलिकता हराउँदै गएको चाडपर्वमा पिङ पनि लोप हुन थालेको छ ।
दशैको वेला कोरोनाको जोखिम
गाउँघरको खेतबारीमा रमाई रहेका किसान यति वेला कोरोना लाग्छकी भन्ने चिन्तामा छन । भारत तथा सहर बाट आउने नागरिकले कोरोना बोकेर आएका हुन्छन भन्ने भम्रले गाउँका किसान चिन्तामा परेका हुन । गत बर्षहरुमा दशैँको जति चहलपहल थियो यो बर्ष निकै कम भएको नलगाड नगरपालिका ६ का प्रविन विकले बताए । उनले भनेर्, सहर बाट छोराछोरी आएका वुवाआमाको मन खुशी पनि भएको छ र चिन्ता पनि त्यतिकै लागेको छ ।’

सहरमा बसेकाहरुलाई कोरोना लागेको हुन्छ भन्ने भम्र ठाउँमा जिवितै रहेको छ । दशैँ मनाउनका लागि भारत तथा अन्य मुलुकमा गएका नागरिक गाउँ फर्किएका छन । उनीहरु विना चेकजाँचका साथ गाउँमा फर्किएपछि गाउँमा कोरोनाको जोखिम बढेको बारेकोट गाउँपालिकाको लिम्सामा कार्यरक्त अ.हे.व. रामबहादुर रोकायले बताए । उनले भनेर्, लकडाउन खुलेसंगै भारत तथा अन्य मुलकु र संक्रमणको उच्च जोखिममा रहेका जिल्लाका नागरिकहरु जाजरकोटका गाउँगाउँमा आएका छन ।

उनीहरुले चेकजाँच नगरी गाउँमा प्रवेश गरेकोले कोरोनाको उच्च जोखिममा रहेका छन ।’ कोरोनाको जोखिमको समयमा जाजरकोट जिल्लामा लाग्ने मेला महोत्सव सबै बन्द गरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । गाउँमा कोरोनाको जोखिम कायम रहेकोले सामाजिक दुरी कायम गरी, यस बर्षको दशै मनाउन सबैमा आग्रह गरिन्छ । (स्राेत : भेरीमालिका दैनिक)

 


ताजा समाचार