Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

सरकारकै पक्षमा मतदान गर्न नेकपाको ह्विप, कांग्रेसकाे विरोध

बुटवल । प्रदेश ५ को नेकपा स‌ंसदीय दलले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी बनाउने प्रदेश सरकारको प्रस्तावका पक्षमा मत हाल्न आफ्ना प्रदेशसभा सदस्यहरुलाई ह्विप जारी गरेको छ ।

संसदीय दलको सोमबार बसेको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शंकर पोखरेलले सरकारको निर्णयका पक्षमै मत हाल्न ह्विप जारी गरेको प्रदेशसभा सदस्य दधिराम न्यौपानेले जानकारी दिए ।

प्रदेश ५ मा नेकपाका ६१, कांग्रेसका १९, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका १ गरी ८७ सदस्य छन् । सरकारको प्रस्ताव पारित हुनका लागि ५८ मत चाहिन्छ जुन नेकपाले ह्विप जारी गरेपछि पूरा हुने देखिएको छ । यसअघि दाङको देउखुरी क्षेत्रलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्तावमा लुम्बिनी क्षेत्रका नेकपाका १४ सांसदले नोट अफ डिसेन्ट लेखेका थिए ।

नेकपाका सचेतक भूमीश्वर ढकालले जेजस्ता आन्तरिक विवाद भए पनि अब ह्विप लागेकाले प्रदेशसभा सदस्यहरू राजधानी सार्ने पक्षमा मतदान गर्न तयार भएको बताए । ‘पार्टी निर्देशनबाहिर जान र बोल्न रोक लगाइएको छ,’ उनले भने, ‘राजधानी दाङ लैजान सरकारले गरेको प्रस्तावको पक्षमा समेत अनिवार्य मतदान गर्न निर्देशन दिइएको छ ।’

कांग्रेस र जनता समाजवादी विरोधमा

राजनीतिक सहमतिविना राजधानी दाङ लैजान लागिएको भन्दै कांग्रेस र जनता समाजवादी पार्टीले सदनमा विरोध जनाउने भएका छन् । कांग्रेस संसदीय दलको बैठकले नेकपाले एकलौटी रूपमा राजधानी सार्न ल्याएको प्रस्तावविरुद्ध सदनमा छलफल हुन नदिने निर्णय गरेको कांग्रेस सचेतक निर्मला क्षेत्रीले बताइन् ।

सोमबार बिहान आयोजित सर्वदलीय बैठकमा समेत कांग्रेसका प्रतिनिधि सदन स्थगित गरेर राजनीतिक सहमति जुटाउने प्रस्ताव नेकपाले नमानेको भन्दै बाहिरिएका थिए । प्रदेशसभामा कांग्रेसका १९ सदस्य छन् ।

जनता समाजवादी पार्टीका सचेतक सन्तोषकुमार पाण्डेले पनि सरकारले ल्याएको प्रस्तावमाथि छलफल हुन नदिन सदनमा विरोध गर्ने बताए । पूर्वाधारमा खर्च गरिसकेको र पायकको ठाउँ रुपन्देही छोडेर अन्यत्र राजधानी सार्न नदिन अन्तिम समयसम्म विरोमा उत्रने उनले बताए । जनता समाजवादी पार्टीका प्रदेशमा ६ सदस्य छन् ।

बैठकमा ढिलाइ

यसै गरी प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङलाई बनाउने प्रस्तावमाथि छलफल गर्न सोमबार दिउँसो १२ बजेलाई बोलाइएको बैठक एक घण्टा पछाडि सरेको छ ।

सभामुख पूर्णबहादुर घर्तीले दलहरू बिहानैदेखि छलफलमा रहेका र अहिले खाना खाने समय भएकाले बैठक एक घण्टा सारिएको बताए ।

प्रदेशसभा स्थलमा सुरक्षा व्यवस्था कडा पार्दै व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।


ताजा समाचार