Loading... आजः बुधबार, साउन २१, २०७७

पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु

रुकुम : रुकुम पश्चिमको बाँफिकोटमा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका ९, स्यालामा मंगलबार बिहान घरमाथिबाट पहिरो आउँदा दुई युवाको मृत्यु भएको हो ।

सोमबार रातभर परेको अविरल वर्षापछि आएको पहिरोले स्थानीय जसवीर कामीको घर बगाएको छ । पहिरोले घर बगाउँदा जसबीरका २२ वर्षीय छोरा नवीन विक र छिमेकीका १६ वर्षीय छोरा बलबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए ।

पहिरोमा परि अन्य ४ जनाको उद्धार गरिएको उनले जानकारी दिए । जसवीरकी पत्नी ६० वर्षीया झुपी कामी, बुहारी २२ वर्षीया व्युझना कामी, नातिनी ५ वर्षीया कोपिला कामी र ३ वर्षीया रितु कामीको उद्धार गरिएको छ ।

घरको माथिल्लो तलामा सुतेकालाई प्रहरी र स्थानीयले जीवितै उद्धार गरेका थिए भने तल्लो तलामा सुतेका नवीन र बलबहादुर घरसँगै बगेका थिए ।


ताजा समाचार