Loading... आजः बुधबार, साउन २१, २०७७

कोरोनाबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या ४७ पुग्यो


काठमाडौं : कोरोना संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । पर्सा र धनुषामा मृत्यु भएका दुई जनाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएपछि मृतकको संख्या ४७ पुगेको हो ।

पर्सा वीरगञ्जका ६५ वर्षीय र धनुषाका ३८ वर्षीय पुरुषको मृत्यु भएपछि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको सम्बन्धित अस्पतालहरुले जनाएका छन् ।

वीरगञ्जको आदर्शनगर निवासी भारतीय नागरिक ६५ वर्षीय पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए ।

यस्तै धनुषाको शहीद नगरपालिका ८ का ३८ वर्षीय पुरुषको पनि मृत्यु भएपछि गरिएको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । अत्यधिक ज्वरो र रुघाखोकी लागेपछि उनी शनिवार प्रादेशिक अस्पताल पुगेका थिए । अस्पतालले उनलाई आइसोलेशन कक्षमा भर्ना गरेपनि अवस्था बिग्रिँदै गएपछि अस्पतालले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरेको थियो । तर धरान लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको थियो ।

पर्सामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार राति आएको रिपोर्टमा संक्रमण देखिएका धेरैजसो स्वास्थ्यकर्मी रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर उपाध्यायले बताए ।

थप दुई जना सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ । यस अघि मृत्यु भएका ४५ जनामा कुनै न कुनै स्वास्थ्य समस्या देखिएको छ । मृत्यु भएका मध्ये अधिकांशलाई कलेजोसम्बन्धी समस्या, निमोनिया,सेप्सिस, दीर्घ श्वासप्रश्वास, क्यान्सर, मिर्गौलासम्बन्धी रोग, मधुमेहलगायतका समस्या देखिएका छन्। धेरैको भने मृत्यु पछि मात्र स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको छ ।


ताजा समाचार