Loading... आजः बिहिबार, असार १८, २०७७

नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन

काठमाण्डाै । लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ ।

शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो । संशोधनको पक्षमा २५८ मत परेको सभामुख अग्नि सापकोटाले जानकारी दिएका छन् ।

सरकारले जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो भने ७ गते सार्वजनिक गरेको थियो । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ९ गते नै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।

मत विभाजन गर्दा प्रस्तावको पक्षमा अर्थात् हुन्छ भन्नेमा २५८ जना सांसदहरुले हस्ताक्षर गरेका थिए भने विपक्षमा अर्थात् हुन्न भन्नेमा हस्ताक्षर गर्ने कोही पनि सांसद थिएनन् । सभामुख अग्नी सापकोटाले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयक मत विभाजनका लागि प्रस्तुत गरेका थिए ।

सो क्रममा सांसदहरुले हस्ताक्षरसहितको मतविभाजन गरेका हुन् । सो क्रममा संशोधनको विपक्षमा मत नपरेपछि विधेयक सर्वसम्मत पारित भएको हो । प्रतिनिधसभाबाट पारित भएपछि विधेयक अब राष्ट्रियसभामा जानेछ ।

राष्ट्रियसभामा पनि प्रस्ताव प्रस्तुत गर्ने, सामान्य छलफल गर्ने, त्यसमाथि संशोधन दर्ता गराउने, प्रतिवेदनसहित विधेयक पारित गरिनेछ । संघीय संसदको दुबै सदनबाट पारित भएपछि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेस हुनेछ । राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ ।


ताजा समाचार