Loading... आजः सोमवार, जेष्ठ १५, २०८०
Trending

खलंगामा तीन सय बेडको क्वारेन्टाइन बनाइँदै, स्थानीयको बिरोध

जाजरकोट : कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जाजरकोट सदरमुकाम खलंगामा तीन सय बेड क्षमताको क्वारेन्टाइन बनाउइने भएको छ । अरु संक्रमित भएका जिल्ला, छिमेकी देश भारत र अन्य देशबाट आएकालाई राख्नको लागि क्वारेन्टाइन बनाउन लागिएको हो ।

जिल्लाका सातवटै पालिकाले सयुक्तरुपमा जिल्ला सदरमुकाम खलंगामा तीन सय बेडका क्वारेन्टाइन निर्माण गर्न थालेका हुन् । सदरमुकामस्थित त्रिभुवन मावि र भेरी ज्ञानोदय क्याम्पसमा तिन सय क्षमताको क्वारेन्टाइन बनाइने छ ।

जिल्ला समन्वय समितिको पहलमा सदरमुकाममा बसेको स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकाय, स्वास्थ्य लगायतका सरोकारवाला निकायको बैठकले तत्काल उक्त स्थानमा क्वारेन्टाइन बनाउने निर्णय गरेको जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले जानकारी दिनु भयो ।

सरोकारवालाहरुको बैठकले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न संक्रमित अरु जिल्ला र भारतबाट जिल्ला आएका तथा ल्याउनुपर्ने नागरिकको स्वाब परीक्षण गरेर मात्र घर पठाउने निर्णय गरिएको छ ।

जिल्ला सदरमुकाम खलंगामा स्थापना गरिने तीन सय बेडको क्वारेन्टाइन संचालन तथा व्यवस्थापन गर्न अस्पताल विकास समितिका अध्यक्ष धर्र्मिशला बस्नेतको संयोजकत्वमा प्रत्येक पालिकाले आ–आफ्ना पालिकाका प्रभावित नागरिकको जिम्मेवारी लिनेगरी एक–एक जना स्वास्थ्यकर्मी र सम्पर्क व्यक्ति परिचालन गर्ने निर्णय गरिएको संयोजक रावलको भनाई छ ।

सदरमुकाममा स्थापना गरिने क्वारेन्टाइनमा बस्नेको संख्या क्षमता भन्दा बढि भएमा सम्बन्धित पालिकाले आफै व्यवस्थापन गरिने भएको छ ।

निर्णय सँगै नेपाली सेना र शसस्त्र प्रहरीका जवान क्वारेन्टाइन निर्माणमा जुटेका छन् । तर स्थानीयले सदरमुकाममा जिल्लाभरका मानिस राख्ने कुराको विरोध गरेका छन् । कोरोनाको जोखिम बढ्ने भन्दै स्थानीयले सम्बन्धित पालिकामा नै क्वारेन्टाइनको व्यवस्था गर्न आग्रह गरेका छन् ।


ताजा समाचार