नेपालकै यस्तो अचम्मको गाउँ, जाहँ कोरोनाको सतर्कताकोलागि कटुवाल खटाइयो
गोरखा । एकै ठाउँमा झुरुप्प बाक्लो बस्ती रहेको बारपाक र लाप्राक गाउँमा कोरोनाको सम्भावित संक्रमणबाट सतर्कता अपनाउन कटुवाल कराएका छन् । बिगत तीनदिनदेखि निरन्तर कटुवाल कराउन लगाइएको बारपाकका वडाअध्यक्ष लालबहादुर गुरुङले जानकारी दिए। एकहजार भन्दा धेरै घरधुरी रहेको बारपाकभरी सूचना, सन्देश पुर्याउन दुइजना कटुवाल खटाइएको उनले बताए ।
धार्चे गाउँपालिका–४ लाप्राकमा करिब ६ सय घरधुरी एकैठाउँमा छन् । यहाँ बिहानदेखि साँझसम्म कराउनका लागि एकजना कटुवाल खटाइएको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ बताउछन् । सरकारले लागु गरेको लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्न कटुवालले विशेष भूमिका निर्वाह गर्ने उनले बताए।
्कटुवालले कोराना भाइरसको बारेमा जानकारी दिनुका साथै यसबाट जोगिने उपायका बारेमा सन्देश दिने गरेका छन् । सात वटै वडामा सूचना सन्देश प्रवाह गर्न धार्चे गाउँपालिकाले कटुवाललाई तलब दिने गरेको छ ।
बारपाकको स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षण गर्न हेल्थडेस्क स्थापना गरिएको वडाअध्यक्षले जानकारी दिए । साथै राजनीतिक दलका नेता, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सामाजिक अगुवाहरु सम्मिलित पाँचपाँच जनाको समूहले घरदैलो कार्यक्रम गर्ने, पोष्टर, पम्प्लेट गर्ने गरेका उनले बताए ।
धार्चे गाउँपालिकाले पनि लाप्राकको गुप्सीभञ्ज्याङ र अर्मलामा हेल्थडेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
अन्नपुर्णपोष्टबाट