Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

योगेशकुमार भट्टराई : ताप्लेजुङको साँघुदेखि सिंहदरबारसम्म

काठमाडौं : ताप्लेजुङको साँघु (मैवाखोला गाउँपालिका–३) मा आमा महेन्द्रादेवी र बुबा स्व. भीमलालका कान्छा छोराका रूपमा २०२३ भदौ २१ मा जन्मेका हुन् योगेश भट्टराई। उनले कक्षा ७ सम्मको पढाइ साँघुकै (मैवाखोला गाउँपालिका) नारायणी निमाविबाट सकेर माध्यमिक शिक्षाको  अध्ययन संखुवासभाको मादी माविबाट गरेका हुन्।

यो २०३७ सालतिरको कुरा हो। त्यतिबेला गाउँमा माध्यमिक विद्यालय थिएनन्। २०३६ को विद्यार्थी आन्दोलनको रापताप विस्तारै गाउँसम्म फैलिँदै थियो। गाउँसम्म अनेरास्ववियुको चर्चा हुँदै थियो। पञ्चायती व्यवस्थाविरुद्ध गाउँगाउँबाट उठ्नुपर्ने सन्देश मादीसम्म त्यतिबेला पुगिसकेको थियो। पञ्चायती व्यवस्थाविरुद्ध २०३७ चैत १४ मा पहिलोपटक अनेरास्ववियुले हामहडताल गर्‍यो।

नेपालकै पहिलो ऐतिहासिक हडताल सफल पार्न उनी सक्रिय रूपमा सहभागी भए। संगठित हिसाबले उनको राजनीतिक यात्राको आरम्भ पनि त्यही थियो। उनी सम्झन्छन्, ‘आमहडताल भनेपछि अनिश्चितकालका लागि होला भनेर हामीले २० दिनसम्म माविमा हडताल गर्‍यौं।’ स्वविवेकले आन्दोलनमा होमिएका योगशले विद्यालय जीवनपछि भने ताप्लेजुङका अगुवा शिक्षकहरू डिल्ली घिमिरे, हरि घिमिरे, बोलिनन्द फागोबाट राजनीतिक सम्पर्क र शिक्षा पाए।
उच्च शिक्षा लिन राजधानी

एसएलसीपछि उच्च शिक्षाका लागि २०४० सालमा राजधानीको ताहाचलस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा भर्ना भएका भट्टराई पञ्चायती व्यवस्थाविरोधी आन्दोलनका क्रममा (चेर्नोविल दुध प्रकरण विषाक्त दूधका विरुद्धको आन्दोलन) १८ वर्षको उमेरमा नै पहिलोपटक काठमाडौंको केन्द्रीय कारागारमा थुनिन पुगे। सरल, सक्रिय, स्पष्ट र जुझारु स्वभावका कारण महेन्द्ररत्न क्याम्पसको नेतृत्व लिन उनलाई धेरै समय लागेन। छोटो समयमै क्याम्पसमा लोकप्रिय र जुझारू नेताका रूपमा स्थापित भए।

२०४१ सालमा महेन्द्ररत्न क्याम्पसको स्ववियु निर्वाचनमा उपसभापति र २०४३ सालमा सभापति पदमा अत्यधिक मतले विजयी भए। देशभरिका हजारौं विद्यार्थीको उपस्थिति रहेको त्यो मञ्चमार्फत उनको राजनीतिक यात्राले एउटा उचाइ प्राप्त गरिसकेको थियो।

महाकाली सन्धिको विपक्षमा रहेका उनि २०५४ सालमा एमाले विभाजन हुँदा सहाना सीपी नेतृत्वको मालेमा गएका थिए । त्यसअघि अनेरास्ववियूको अध्यक्ष भएका बखत महाकाली सिमा विवादमा युवा विद्यार्थीको पदयात्राको नेतृत्व गरेर लिम्पियाधुरा सम्म पुगेका थिए ।

राजनीतिमा सक्रिय

पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध दृढतापूर्वक अघि बढ्दै जाँदा उनले थुप्रैपटक जेलनेल र कठोर यातना भोग्नुपर्‍यो। जेल बसाइका बेला झापा संघर्षका चर्चित अगुवाहरू केपी ओली, आरके मैनाली, मोहनचन्द्र अधिकारीलगायत राजनीतिक बन्दीहरूसँग नजिकबाट अन्तरक्रिया गर्ने अवसर पाए।

जसबाट राजनीतिक यात्रालाई अझ निख्खर बनाउन सहयोग पुग्यो। यही क्रममा उनले अनेरास्ववियुको काठमाडौं जिल्ला कमिटीको सदस्य तथा बाग्मती अञ्चल कमिटीको सचिवको जिम्मेवारी सम्हाले। आन्दोलन र राजनीतिक जिम्मेवारीसँगसँगै उनले आफ्नो पढाइलाई पनि निरन्तरता दिइरहे। त्यहीबीचमा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र/मानवशास्त्रमा स्नातकोत्तरसमेत गरे।

पञ्चायती व्यवस्थालाई समाप्त गर्न  चुनावलाई उपयोग गर्ने पार्टी नीतिलाई कार्यान्वय गर्ने सिलसिलामा २०४३ सालमा भएको निर्वाचनमा केही समय काठमाडौंमा र बाँकी समय ताप्लेजुङका सम्मानित व्यक्तित्व अम्बिका साँवाको चुनावी अभियानमा लागे। जनपक्षीय उम्मेदवार साँवाको चुनाव प्रचारका क्रममा रातिराति साथीभाइसँग संगठन गर्दै जनताको घरआँगनमा मकैभटमास खाँदै हिँडेको सम्झना अहिले पनि उनीसँग ताजै छ। साँघुमा चुनाव प्रचार गरिरहेको बेला २०४८ साल वैशाख १० गते सिनाममा एमालेका कार्यकर्ता  इन्द्र थेबे र रुकमान थेबे हत्याको खबर सुन्नुपर्‍यो।

हत्याको खबरले उनलाई दुखित त बनायो तर त्यसलाई अझ शक्तिका रूपमा ग्रहण गर्दै अघि बढ्नुको विकल्प थिएन। उतिखेर साँघुमा माध्यमिक र उच्च शिक्षा शिक्षा नभएका कारण योगेश संखुवासभाको मादी हुँदै काठमाडौं आए। तर, ताप्लेजुङसँगको सामिप्य र ताप्लेजुङका जनताको सम्बन्ध भने सधैं कसिलो रह्यो। देशको आशाको अनुहार त हुँदै हुनुहुन्छ, ताप्लेजुङ र ताप्लेजुङे जनताको असल अभिभावकको भूमिकासमेत उनले निरन्तर निर्वाह गरिरहेका छन्। भट्टराई संघीय निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित सांसद हुन्।

थाहाखबरबाट साभार 


ताजा समाचार