Loading... आजः बुधबार, असार ९, २०७८

स्कुले विद्यार्थीलाई सैन्य तालिम

पवन शर्मा
जाजरकाेट । नेपाली सेनाले जाजरकाेटमा सेवादल तालिम  सुरु गरेको छ ।

ज्वालादल गण जाजरकोटले त्रिभुवन मावि खलङ्गा र शिव मावि कालेगाँउका ३६/३६ जना गरी जील्लाका ७२ विद्यार्थीहरुलाई तालिम दिन सुरु गरेकाे हो । जसमा ३६/३६ जना छात्रछात्राहरु रहेका छन् ।

भैपरि आउने संकटका समयमा राष्ट्रका निम्ति योगदान गर्न सक्ने कर्मठ, इमान्दार र राष्ट्रभक्तीले ओतप्रोत जनशक्ति उत्पादन गर्न सेवादल तालिम दिन लागेकाे ज्वालादल गणका उप-सेनानी दिनेशकुमार खड्काले बताए । साथै विद्यार्थीमा अनुशासन, नेतृत्व विकास, वफादारिता, राष्ट्रिय एकताको भाव पैदा गर्दै स्वयम्सेवक दस्ता उत्पादन गर्ने यसको लक्ष्य रहेकोे खड्काले बताए ।

राष्ट्रिय सेवा दलको तालिममा जिल्लाका विद्यार्थीहरुको आकर्षण बढेको छ । नेपाली सेना तथा प्रहरीमा अध्ययन पश्चात् जागिरको सम्भावना देखेर विद्यार्थी आकर्षण सेवा दलमा पुगेको एक जना अभिभावकले बताए । एक सय दिनसम्म सञ्चालन हुने यो तालिमले विद्यार्थीको भौतिक र बौद्धिक विकासमा सहयोग पुर्याउनुका साथै उनीहरूलाई असल नागरिक बन्न प्रेरित गर्ने भएकाले पनि यसमा विद्यार्थीको आकर्षण देखिएको हो ।

तालिम अवधिभर नेपाली सेनाले जेरी र आधा लिटर दूध उपलब्ध गराउँदै आएको छ । दैनिक नियमित कक्षाका अतिरिक्त कम्तिमा दुई घण्टा तालिम हुने गरेको छ । जिल्लामा ७९ दिन र नेशनल क्याम्पमा २१ दिन तालिम हुन्छ ।’

७९ दिनसम्म विद्यालयमा चल्ने तालिममा सैद्धान्तिक सैन्यज्ञानका साथमा एरोविक्स, मास पिटी, तेक्वान्दो पिटी, खुकुरी ड्रिल र नक्सा अध्ययन सिकाइन्छ । ७९ दिनको तालिमपछि २१ दिने क्याम्प तालिम हुन्छ ।

नेशनल क्याम्प बाँकेमा हुनेछ साथै २१ दिन चल्ने क्याम्प तालिममा खोज उद्धारदेखि मास पिटी, भीडमा बोल्ने तरिका र नेतृत्व विकास सम्मको तालिम लिन सकिने छ । राष्ट्रिय सेवा दल तालिममा कक्षा ८, ९ र १० का विद्यार्थी सहभागि रहेको त्रिभुवन माविले जनाएको छ ।

२०२२ सालदेखि तालिम सञ्चालन हुन थालेको हो । तालिम दिनकै लागि सेनाले निर्माण गरेको विभाग हो, राष्ट्रिय सेवा दल।


ताजा समाचार