Loading... आजः बुधबार, असार ९, २०७८

पत्रकार नन्दबहादुरको शव नउठाउने भन्दै आफन्तहरु आन्दोलनमा

सुर्खेत । टिप्परको ठक्करबाट मृत्यु भएका सुर्खेतका पत्रकार नन्दबहादुर गेलाङ्गका आफन्तले शव नउठाउने भन्दै आन्दोलित भएका छन् । इलाका प्रहरी कार्यालय छिन्चुमा पुगेका आफन्तले उचित क्षतीपूर्ति र चालकलाई कारवाहीको माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।

आफन्तहरुले बालबालिकाहरुको भरणपोषणका लागि ३० लाख क्षतीपूर्ती माग गरेका छन् । वार्ताका लागि छिन्चुमा बसेको बैठक विना निष्कर्ष टुंगिएको नेपाल मगर संघ कर्णाली प्रदेशका मुख्य सचिव डम्बर गरञ्जाले जानकारी दिनुभयो ।

टिप्पर धनीले वार्ताका लागि प्रतिनिधिका रुपमा मध्यपश्चिमाञ्चल ट्रक तथा ट्याक्टर व्यवसायी संघका अध्यक्ष प्रकाश अधिकारीलाई पठाएको थियो । तर अधिकारीले क्षतीपूर्तिका लागि जोखिम नलिने बताएपछि वार्ता विना निष्कर्ष टुंगिएको थियो ।

टिप्पर धनी मालिका कन्ट्रक्शन काठमाडौंका रमेश बरालले मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउन बेवास्ता गरेपछि आफन्तहरु आक्रोशित बनेका छन् । गरञ्जाका अनुसार आफन्तहरुले छिन्चु बजारमा नारबाजी गर्नुका साथै सडक चक्काजाम गरेका छन् ।

छिन्चुबाट मेहलकुनातर्फ जाँदै गरेका गेलाङ्ग सवार भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई भेरीगंगा–८ लोदेमा बुधबार दिउँसो रुकुमपश्चिमबाट आइरहेको बा ५ ख १६८३ नम्बरको टिप्परले ठक्कर दिएको थियो । गेलाङ्गको शव पोष्टमार्टका लागि मेहलकुना अस्पतालमा राखिएको छ ।


ताजा समाचार