Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

पढाई खर्च जुटाउन गिट्टी कुट्दै जाजरकाेटका बालबालिका

जाजरकाेट । जाजरकाेटका  बालबालिकाहरुले गिट्टी कुटेर पढाई खर्च जुटाउने गरेका छन्।  विद्यालय समय भन्दा बाँकी समयमा गिट्टी कुट्नु बालबालिकाको रहर नभएर बाध्यता बनेको छ । बालबालिकाहरु आफ्नो पढाई खर्च जुटाउन कडा तथा जोखिमपूर्ण परिश्रम गर्न बाध्य भएका छन् ।

भौगलिक रुपमा विकट र गरिब घर परिवारमा जन्म लिनु, कडा मेनत र पौरख गर्नुमा दोष बालबालिकाको छैन । आफ्नो जिवन, भविश्यका लागि बालबालिका आफै जिम्मेवार बन्नुपर्नेमा दोष गरिबीको छ । शिक्षा, स्वास्थ्य, खाद्य सम्प्रभुता जस्ता बिषयलाई नेपालको संविधानले नागरिकको मौलिक हकका रुपमा परिभाषित गरेको भएतापनि विपन्न बालबालिकाहरुले हासिल गर्ने शिक्षाका लागि अझै सरकार जिम्मेवार बन्न सकेको छैन् ।

सम्पन्न घर परिवारका बालबालिकाहरु सुबिधायुक्त मंहगा स्कुलको पढाईमा प्रतिस्पर्दा गरिहेको वेला सामान्य गरिब घर परिवारका बालबालिकाहरुले आफ्नो पढाई खर्च जुटाउन स्कुलको पढाई छोडेर यार्सागुम्बा खोज्न पाटन तिर जानुपर्ने, गिट्टी कुट्नुपर्ने बाध्यता अझै यथाबत रहेको छ ।

पुष्पा बस्नेत बारेकोट गाउँपालिका–४ मैना स्थित जगत आधारभुत विद्यालयमा ६ कक्षामा अध्ययन गरि रहेकि छात्रा हुन् । पुष्पा विद्यालय समय भन्दा बाँकी रहेको सममा सोही विद्यालयमा गिट्टी कुट्ने काम गरिरहेकि छन् । समयलाई बचत गर्न पुष्पाले विद्यालय पोशाकमै गिट्टी कुट्ने काम गरिरहेकि छन् । एक कट्ठा गिट्टी कुटेपछि १ सय २० रुपैया कमाउने पुष्पाले जानकारी दिईन् । पुष्पा जस्तै ६ कक्षामा अध्ययन गरिरहेकि सुनिता बस्नेत र कौशिला बस्नेतले पनि गिट्टी कुट्ने काम गरिरहेकि छन् ।

पढाईका लागि आबश्यक पर्ने किताब, कापि, कलम र विद्यालय ड्रेस किन्नका लागि आफुहरुले गिट्टी कुटी रहेको सुनिताले जानकारी दिईन् । विद्यालयको पढाई नछुटाएरै आफुलाई चाहिने पैसा कमाउन सकिने ठानेर आफुहरु यार्सागुम्बा खोज्न पाटनतिर नगएर विद्यालयमा गिट्टी कुट्ने काम गरिरहेको सुनिताले बताईन् ।

जुम्लाको सिमानासंग जोडिएको मैना जाजरकोट जिल्लाको दुर्गम गाउँ हो । बाल संरक्षण र बाल अधिकारका क्षेत्रमा थुप्रै संघ/संस्था र कार्यक्रमहरुले काम गरि रहेको भएता पनि उक्त गाउँमा हालसम्म बाल संरक्षण र बाल अधिकारका क्षेत्रमा काम गर्ने कुनै पनि संघ/संस्था र कार्यक्रम पुग्न सकिरहेका छैनन् ।

डिजिटल सञ्चारबाट


ताजा समाचार