Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

अमेरिका लैजाने भन्दै दलालले ठगे कर्णालीका यी दुई सांसद


सुर्खेत । कर्णाली प्रदेशसभाका दुई सांसदसँगै अमेरिका लैजाने भन्दै दलालले झन्डै दर्जन व्यक्तिसँग लाखौं ठगी गरेको खुलेको छ । अमेरिकाबाट एउटा कार्यक्रममा सहभागिताका लागि निम्ता आएको भन्दै सांसदद्वय अमरबहादुर थापा र सीता नेपालीलाई झुक्याएका दलालले उनीहरूकै नाम बेचेर अन्य व्यक्तिसँग लाखौं उठाएका हुन ।

ओएस नेपालको आयोजनामा क्यालिफोर्नियामा हुने ‘महिला हिंसा र छाउपडी’ विषयक कार्यक्रममा सहभागिताका लागि फोनमा निम्ता आएपछि सांसदद्वयले अमेरिकी दूतावासमा भिसा आवेदन गरेका थिए । आवेदन अस्वीकृत भएपछि सांसदसँगै अरू व्यक्तिसमेत ठगिएको खुलेको हो । कान्तिपुर दैनिकले समाचार लेखेको छ ।

प्राप्त समाचार अनुसार रोल्पाका भरत डाँगीले सांसदद्वयलाई क्यालिफोर्नियामा हुने कार्यक्रममा सहभागी हुन प्रस्ताव गरेका थिए । लगत्तै अमेरिकाबाटै केशबहादुर कार्कीले फोन गरेर निम्ता दिएको सांसद थापाले बताए । ‘महिलासम्बन्धी विषयमा महिला सांसदलाई पो बोलाउनुपर्छ भनेपछि कार्कीले सीता नेपालीसँग पनि कुरा गरेका रहेछन,’ उनले भने ।

सांसद थापासँग पहिल्यै अमेरिकाको भिसा भएकाले उनले श्रीमतीका नाममा भिसा आवेदन दिएका थिए भने सांसद नेपालीले रातो पासपोर्ट लिएर भिसा आवेदन दिएकी थिइन । उनीहरूसँगै दलालले अन्य व्यक्तिको समेत आवेदन बुझाएका थिए तर दूतावासले कसैलाई पनि भिसा दिएन ।

सांसदलाई निम्ता दिने केशबहादुर कार्कीको नाम अमेरिकाबाट सञ्चालित ओएस नेपाल डट कम नामक अनलाइन पोर्टलको अध्यक्षका रूपमा देखिन्छ ।

सांसद थापाले अमेरिकामा रहेकी छोरीसँग पनि भेट हुन्छ भनेर आफू जान तयार बनेको बताए । आफूलाई प्रस्ताव आएपछि उनले भ्रमण सूचीमा श्रीमतीको नाम पनि चढाएका थिए । कार्कीले आफूहरूसँगै केही गैरसरकारी संस्थाका प्रतिनिधि पनि अमेरिका जाने भनी झुक्याएको उनले बताए ।


ताजा समाचार