Loading... आजः बुधबार, असार ९, २०७८

नेकपा स्थायी समिति बैठक : राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ।

सोमबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा सुरु भएको पार्टी स्थायी समिति बैठकमा अध्यक्षद्धय ओली र दाहालले संयुक्त रुपमा शनिबार पेश गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित भएर छलफल सुरु गरिएको हो। छलफलमा भाग लिँदै नेताहरुले दुई पार्टीबीच एकीकरण भएको सात महिना बित्दा पनि पार्टी संगठनहरुको एकीकरणको काम सम्पन्न गर्न नसकेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका थिए। त्यसैगरी उनीहरुले प्रदेश कमिटीको एकीकरण मापदण्डविना नै निर्माण गरिएको भन्दै सच्याउन पनि पार्टी नेतृत्वसँग माग गरेका थिए।

बैठकमा राजनीतिक प्रतिवेदनमाथि सचिवालय सदस्य बामदेव गौतमले आफ्नो लिखित फरक मत पेश गरेका थिए भने नेताहरु अग्नी सापकोटा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, मुकुन्द न्यौपाने, हरिबोल गजुरेल, गणेश शाह, बेदुराम भुसाल, शक्ति बस्नेतसहित १० जना नेताहरुले छलफलमा भाग लिएका थिए।

नेताहरुले पार्टी एकीकरणपछिको हालसम्मको निर्णय प्रक्रियाप्रति पनि असन्तुष्टि जनाएका थिए। पार्टी सचिवालय बैठकबाट निर्णय लिने प्रक्रियामा असहमति जनाउँदै नेताहरुले पार्टी स्थायी समिति बैठकबाट हरेक निर्णय लिन नेतृत्वको गम्भिर ध्यानाकर्षण गराएको स्थायी समिति सदस्य योगेश भट्टराईले जानकारी दिए।

बैठकमा नेताहरुले हरेक निर्णय पार्टीको स्थायी समितिबाट लिन पनि नेतृत्वलाई सचेत गराएका छन्। यता, सरकारको काम कार्वाहीप्रति भने आजको बैठकमा बोल्ने नेताहरु नरम देखिएका थिए। उनीहरुले संघीयतालाई स्थापित गराउन, अन्तराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउन, अर्थतन्त्रलाई सुदृढ बनाउन केन्द्रित भएको भन्दै सरकारप्रति नरम देखिएका हुन।

संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन समेत निर्माण गर्ने काम समेत सरकारले गरिरहेकोमा नेताहरुले सन्तुष्टि जनाएको पनि स्थायी समिति सदस्य भट्टराईले बताए। नेताहरुले पार्टी र सरकारबीच समन्वय नदेखिएको भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका थिए।

शनिबारबाट सुरु भएको बैठकमा अध्यक्षद्धय ओली र दाहालले सरकारको कामकार्वाहीप्रति केन्द्रित भएर पार्टीको राजनीतिक प्रतिवेदन तयार पारेका थिए। सोही प्रतिवेदनमाथि सोमबारको बैठकबाट छलफल सुरु गरिएको हो।

बैठकको सुरुमा बोल्दै अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले पार्टी र सरकारबारे खुलेर छलफलमा भाग लिन नेताहरुलाई आग्रह गरेका थिए। स्थायी समिति बैठक भोली पनि बस्नेछ। त्यसमा बाँकि सदस्यहरुले छलफलमा भाग लिनु हुने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।


ताजा समाचार