Loading... आजः बुधबार, असार ९, २०७८

नेकपा स्थायी कमिटी आज , राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तयारी

काठमाडौँ । झण्डै पाँच महिनापछि शनिबार बस्न लागेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा सचिवालयले प्रस्तुत गर्ने ‘एजेन्डा’माथि छलफल हुने भएको छ । स्थायी कमिटीको बैठक बस्नुअघि सचिवालयको बैठक बसेर एजेन्डाको बारेमा छलफल गर्ने बताइएको छ । यसअघि विभिन्न चरणमा बसेको सचिवालय बैठकले गरेका निर्णयहरुलाई समेत राखेर बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले एक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तयारी भइरहेको छ ।

प्रधानमन्त्री ओलीले ल्याउने राजनीतिक प्रतिवेदन नै एजेण्डाको रुपमा प्रस्तुत हुने बताइएको छ । सो प्रतिवेदनमा सचिवालयले गरेका निर्णय, सरकारले गरेका काम कारवाही, पार्टी एकीकरणका लागि भएका कार्यहरु, सङ्गठन निर्माण लगायतका विषयमा समावेश रहने बताइएको छ । यी एजेन्डा तय गर्न शनिबार विहान सचिवालयको बैठक बस्नेछ । गएको शनिबार बसेको सचिवालयको बैठकले स्थायी कमिटीको बैठक बस्ने निर्णय गरेको थियो । सचिवालयले प्रस्ताव गर्ने एजेन्डा नै बैठकको एजेन्डा हुने बताउँदै स्थायी कमिटी सदस्य देव गुरुङले यस विषयमा सचिवालयका सदस्यहरुले छलफल गर्ने जानकारी दिनुभयो ।

गत असार २१ गतेपछि विभिन्न कारणले स्थायी समितिको बैठक बस्न नसके पनि सो समितिले गर्ने कार्यहरु केन्द्रीय सचिवालयमार्फत गर्दै आइरहेको थियो । यद्यपि सचिवालयले नै सबै निर्णय गर्न थालेको भन्दै पार्टीमा टिका टिप्पणी पनि सुरु भएको थियो । प्रधानमन्त्री ओली तथा अन्य शीर्ष नेताहरुको कार्य व्यस्तताका कारण बैठक स्थगित हुँदै आइरहेको थियो ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकको एजेन्डाबारे स्थायी कमिटीका सदस्यहरुलाई औपचारिक जानकारी गराइएको छैन । स्थायी कमिटीका सदस्य पम्फा भुसालले बैठकमा के के विषयमा छलफल हुने हो त्यसबारे अहिलेसम्म कुनै जानकारी नआएको बताउनुभयो । सायद एजेन्डाको बारेमा सबैलाई जानकारी भएको हुनाले एजेन्डा नपठाएको हुनुपर्छ, उहाँले भन्नुभयो, यद्यपि पार्टी एकीकरणदेखि हालसम्मको परिस्थितिमा अध्यक्ष वा महासचिवबाट राजनीतिक प्रतिवेदन प्रस्तुत हुने र त्यसमै छलफल हुने कार्यक्रम हुनसक्छ ।’

यसअघि सचिवालयको बैठकले पार्टी तथा सरकारको बारेमा विभिन्न निर्णयहरु गरेको छ । ती निर्णयहरुको पुनः छलफल गरी अनुमोदन गरिने उहाँले बताउनुभयो । सचिवालयले निर्णय गरिसकेपछि त्यसलाई स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीबाट अनुमोदन गराउनुपर्ने चलन छ, तर बीचमा यी दुईटै बैठक नबसेका कारण अनुमोदन हुन नसकेको हो, अब यो बैठकबाट सबै अनुमोदन हुन्छ र भएका समस्याहरु सबै समाधान हुने उहाँले दावी गर्नुभयो ।

अर्का स्थायी कमिटी सदस्य मणि थापाले पनि पार्टीबाट बैठकको एजेन्डा बारेमा कुनै जानकारी नगराइएको बताउनुभयो । बैठकमा छलफल हुने एजेण्डाका बारेमा आधिकारिक जानकारी आएको भए छलफल गर्न सजिलो हुने उहाँको भनाइ छ ।

नेता थापाले लामो समयपछि बस्न लागेको बैठकका लागि थुप्रै एजेन्डा छन् भन्दै थप्नुभयो,‘सबैले स्थायी कमिटीको बैठकमा यो कुरा राख्छु, त्यो कुरा राख्छु, यो कुरा उठाउँछु, त्यो कुरा उठाउँछु भनेर बसेका छन्, अब भोलिकै बैठकबाट थाहा हुन्छ छलफलका लागि मात्र के के विषय राखेका छन् ।’

यद्यपि उहाँले पछिल्लो समय पार्टीमा देखिएको आन्तरिक विवादका विषयमा मुख्य एजेन्डा बन्नसक्ने बताउनुभयो । ‘सरकारको काम कारबाही र पार्टी एकताको विषयमा नेताहरुको बीचमा असन्तुष्टिहरु देखिएका छन्, कतिपय नेताहरु औपचारिक रुपमा बाहिर बाहिर बोल्न थालेका छन्, ती विषयहरु एजेन्डा बन्न सक्ने छन्,’ उहाँले भन्नुभयो ।

पार्टीका केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । नेकपाका अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठनको १० महिनामा सरकारले थुप्रै कामहरु गरेको छ । यो १० महिनामा समृद्ध नेपालको जग बसाउने काम गरेको दाबी गरिदैँ आएको छ । यो बैठकमा यी सरकार र पार्टीका काम कारवाहीमा गम्भीर विमर्श हुने नेताहरूको विश्वास छ ।

हालै एसिया प्रशान्त सम्मेलनको बारेमा पनि टिकाटिप्पणी भएको र सचिवालयकै कतिपय सदस्यहरुले त्यसको विरोध गर्नुभएको थियो । गते यही मङ्िसर २२ को सचिवालय बैठक नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले वहिस्कार गर्नुभएको थियो । उहाँहरूले नै पार्टीका बैठक पार्टी बालुवाटारमा होइन, कार्यालयमा बस्नुपर्ने कुरा उठाउनु भएको विषय पनि छलफल हुनसक्ने बताइएको छ ।


ताजा समाचार