Loading... आजः बुधबार, असार ९, २०७८

नेपाल छिटो विकास गर्ने देश हुनसक्ने : प्रधानमन्त्री अाेली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल छिटो विकास गर्ने देश हुनसक्ने बताएका छन्।

राष्ट्रिय योजना आयोगले आयोजना गरेको ‘नेपालको दीर्घकालीन सोच र १५औं योजनाको तयारी बैठक’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

नेपालको विकासका लागि अरु देशका अनुभव, सीप र प्रविधि सजिलै उपलब्ध हुने हुनाले तिनलाई सदुपयोग गरेर देश तीव्र विकासको गतिमा अघि बढ्नसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ। ‘हामी विश्वमा सबैभन्दा छिटो विकास गर्ने देश हुनसक्छौं’, प्रधानमन्त्री ओलीले भने, ‘किनभने हामीलाई विकासका कुनै नयाँ कुराहरु आविस्कार गरिरहनु पर्दैन। अरुले आविस्कार गरेका प्रविधिहरुलाई प्रयोग गरे मात्रै पुग्छ।’

प्रधानमन्त्री ओलीले १५औं पञ्चवर्षीय योजना (२०७६/०७७–२०८०/०८१) देश विकासका लागि ‘टर्निङ प्वाइन्ट’ हुने बताए। ‘अघिल्ला योजनाका समिक्षाको निष्कर्षबाट यस योजनालाई आधुनिक, प्रविधि मैत्री र तीव्र गतिमा अघि बढ्नसक्ने व्यवहारिक योजना बनाउनु पर्दछ’, उनले भने।

स्वदेशमा रहेका फलाम खानीको उत्खनन, विद्युतीय उर्जाको उत्पादन र प्रयोग बढाउनु पर्ने तथा पेट्रोल, डिजेलजस्ता इन्धनको आयात घटाउनेमा १५औं योजना केन्द्रित हुनुपर्नेमा उनले जोड दिए। ‘विद्युत, सौर्य र अन्य वैकल्पिक उर्जाको प्रयोगबाट पेट्रोल र डिजेलको खपत घटाउने हो भने देशको अर्थतन्त्रमा ठूलो भरथेग हुन्छ,’ ओलीले भने, ‘जेट्रोफाबाट पनि इन्धनको आपूर्ति गर्न सकिन्छ। त्यसैले खेतका कान्लामा यो प्रजातिको बोट रोप्ने अभियान सञ्चालन गर्नुपर्दछ।’

प्रधानमन्त्री ओलीले राष्ट्रको सार्वभौमसत्ता, लोकतान्त्रिक प्रणाली, सामाजिक न्याय, राष्ट्रिय एकता तथा शान्ति र सुरक्षामा कोही कसैसँग सम्झौता नहुने बताए।


ताजा समाचार