Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

जीवन र जागिर भन्दा गोबिन्दलाई पंक्षी प्रिय


जाजरकोट । वारेकोट गाउपालिका ५ तोलखानका ४९ वर्षिय गोविन्दवहादुर सिंह पेसाले पसु प्राविधिक हुन् । ३१ वर्ष देखि पसु प्राविधिकको रुपमा सरकारी सेवामा कार्यरत सिंह गत ५ वर्ष देखि जाजरकोटका जंगलहरुमा विस्वका दुर्लभ चराहरुको वासस्थान खोज्दै हिडेका छन् । विस्वमा दुर्लभ र लोपोन्मुख मानिएका चरा र जनावरहरुको खोजीमा रातदिन सक्रिय गोविन्दलाइ आफनो जीवन र जागिर भन्दा वढी पंक्षी सरंक्षणको चिन्ता छ ।

२०६९ फागुनमा काठमाडौंमा सेवाकालीन लिइरहेका वेला एक कार्यक्रममा गिद्ध र अन्य चराहरुको तस्वीर सहित छलफल हुने क्रममा गोविन्दले यी चरा हाम्रो जाजरकोटमा पाइन्छन् भनिरहेका वेला अन्य सहाभागीहरुले जाजरकोटमा दुर्लभ चरा होइन झाडापखाला मात्र पाइन्छ होला भनेर जिस्काएपछि चरा खोजीको काम सुरु गरेका गोविन्द ले ५ वर्षको अवधिमा विस्वमा लोपोन्मुख र दुर्लभ मानिएका आधा दर्जन चराहरु र अन्य केहि जनावरहरु समेत भेटाएका छन् ।
उनले भेटाएका चराहरु र जनावरहरुलाइ पंक्षी विज्ञ र अन्य सरोकारवालाहरुले प्रमाणित समेत गरिसकेका छन् । उनले जाजरकोटका जंगलहरुमा चार थरीका दुर्लभ एवम लोपोन्मुख गिद्धहरु सुनगिद्ध, सेतो गिद्ध,हार्डफोर गिद्ध र हिमाली गिद्ध, विस्वकै दुर्लभ चरा चिरकालिज, नेपालमै पहिलो पटक जलेवा चराको गुड, लाटो कोसेरोको प्रजाति हयाप्सीलो हुचिल, मलाहा हुचिल, विस्वकै दुर्लभ जनावर हाइना, हिउचिुतुवा, वनकुकुर,व्वाँसो, र कस्तुरी भेटाएका छन् ।

जाजरकोटमा भेर्टिएका चार थरिका गिद्ध अन्य दुर्लभ चराहरु र अन्य जनावरहरु पंक्षी तथा पसु विशेषज्ञले नै प्रमाणित गरिसकेको सिंहले वताए । उनले ५ वर्षको अवधिमा साविकका १६ गाउँ विकास समितिका जंगलहरुमा डुलेको र सो क्रममा ३३ वटा हिमाली गिद्धका गुडहरु, ३ वटा हार्डफोर गिद्धका गुडहरु, २ वटा सेतो गिद्धका गुड र एउटा सुनगिद्धको गुड फेला परेको वताए । रात दिन चराहरु भेटिने समय मिलाएर ज्यानको वाजी लगाएर दुर्लभ चराहरुको वासस्थानको खोजीमा जंगलको यात्रामा हिडेका सिंहले अहिले सम्म कसैले सहयोग नगरेको र कोहि सरोकारवाला निकायले समेत सहानुभुति नराखेकोमा नागरिकसंग दुखेसो पोखे ।

विस्वका दुर्लभ चराहरुको वासस्थान खोज्न आफनै व्यक्तिगत लगानीमा पहल गरिरहेका सिंहले कुनै सरकारी तथा गैरसरकारी निकायले जाजरकोटमा पाइने महत्वपुर्ण चराहरुको खोजी एवम संरक्षणका लागि पहल नगरेको गुनासो गरे । अहिले सम्म क्यामेरा तथा अन्य सामाग्रीहरुको लागि व्यक्तिगत ५ लाख वढी खर्च गरिसकेका सिंहले जाजरकोटलाइ दुर्लभ चराहरु र जनावरहरुको वासस्थान हो भनेर नेपाल र नेपाल वाहिर चिनाउनका लागि आफुले रातदिन दुख गरेर जंगलहरु डुल्ने गरेको वताए । रातभरी जंगल खोला, ओडारहरुमा वास वसेर आफुले जाजरकोटमा धेरै कुरा पत्ता लगाएको वताए । उनका अनुसार नेपालमै पहिलो पटक भेटिएको जलेवाको गुड नलगाड नगरपालिकाको रग्दाको चौखामा रहेको छ भने,वारेकोटको ९ काप्तीको जंगलमा लाटो कोसेरोका प्रजातिहरु भेटिएका छन् । यस्तै सिंहका अनुसार भेरी नगरपालिकाको कुदु र कुसेको पैंकमा हाइना भेटिएको छ ।

आफुले वारेकोट र भेरी नगरपालिकामा भेटाएका दुर्लभ एवम लोपोन्मुख गिद्धका वुडहरु, दुर्लभ चराहरु र अन्य पंक्षीहरुको अध्ययन गर्न पक्षी विज्ञ डा. हेमसागर वराल, जिव विज्ञ डा करण शाह पनि जाजरकोट पुगेको र उनीहरुले जाजरकोट विस्वका दुर्लभ चराहरुको सुरक्षित वासस्थान भएको प्रतिक्रिया दिएको वताए । यस्तै पंक्षी संरक्षण विज्ञ कृष्ण भुषालले जाजरकोटमा भेटिएका विस्वमै दुर्लभ रुपमा रहेको सुनगिद्ध र लोपोन्मुख अवस्थामा रहेको सेतो गिद्धको वासस्थान जाजरकोट रहेको भनेर प्रमाणित गरेको पनि सिंहले वताए । रातदिन चराहरुको वासस्थान र नयाँ नयाँ चरा खोज्न रमाइरहेका सिंहले चराहरुकै संरक्षणका लागि नेपाल पंक्षी संरक्षण संघको सदस्यता लिएको वताए ।

अहिले आर्थिक अभावका कारण क्यामेराहरु मागेर जंगलमा चराहरुको अवस्था अध्ययन गर्न जानेका गरेको सिंहले दुखेसो गरे । जाजरकोटका लागि कुनै पनि सस्थाले पंक्षी संरक्षण तथा पसु संरक्षणका लागि ठोस योजना र गतिलो चिन्ता गर्न नसकेको वताए । विदेशी अध्ययनकर्ताहरु र स्वदेशी केहि व्यक्तिहरु आएर जाजकोटमा पाइने चराहरुको वारेमा व्यक्तिगत रुपमा वुज्ने गरेको सिंहको भनाइ छ ।

उता वारेकोट गाउँपालिका गाउँपालिकाका अध्यक्ष महेन्द्रवहादुर शाहले आफुहरुले पनि रेडपान्डा लगाएतका विस्वकै दुर्लभचराहरुको संरक्षणका लागि केहि वजेट र कार्यक्रम वनाउने गरेको वताए । आगामी वर्ष देखि विशेष पहल गर्ने गरि आफुहरुले सोचिरहेको अध्यक्ष शाहले वताए । जिल्लाका भेरी नगरपालिका, कुसे गाउँपालिका, वारेकोट गाउँपालिका र नलगाड नगरपालिकामा विस्वकै दुर्लभ चरा र अन्य दुर्लभ जनावरहरु पाइने गरेको एक अध्ययनले जनाएका छ ।


ताजा समाचार