Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

भेरी बबई डाइभर्सन सुरुङ निर्माण अन्तिम चरणमा

जाजरकाेट । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्य निर्धारित समयभन्दा एक वर्ष अगावै पूरा हुने देखिएको छ । टनेल बोरिङ मेसिन (टीबीएम)को माध्यमबाट सो आयोजनामा नेपालमै पहिलोपटक सुरुङ खन्ने कार्य गरिएकोमा हालसम्मको ११ महिनामा सो आयोजनाको साढे आठ किलोमिटर सुरुङ खनिएको छ ।

यस्तै गतिमा निर्माण कार्य जारी रहने हो भने आयोजनाले आगामी फागुनसम्म बाँकी चार किलोमिटर सुरुङ पनि निर्माण गरिसक्ने आयोजनाले जनाएको छ ।

सरकारले सन् २०२० मार्चसम्म सुरुङ निर्माणको काम पूरा गर्ने लक्ष्य लिएको जनाउँदै भेरी–बबई डाइभर्सन आयोजनाका प्रमुख सञ्जीव बरालले हालसम्मको काम हेर्दा त्यसअघि नै काम सकिने देखिएको बताउनुभयो ।

कुनै प्रतिकूल परिस्थिति सिर्जना नभए आगामी फागुनसम्म सुरुङ निर्माण पूरा हुने प्रमुख बरालको भनाइ छ । ‘टीबीएमले रिस्क जोन पार गरिसकेको छ, भौगर्भिक अध्ययनले अब कुनै रिस्क देखाएको छैन, उहाँले भन्नुभयोे, यही गतिले काम अघि बढ्दै जाने हो भने सम्झौता अवधिभन्दा एक वर्ष अगावै सुरुङ निर्माण भइसक्छ । भेरीको पानीलाई १२ किलोमिटर लामो सुरुङमार्फत बबईमा खसालेर विद्युत् उत्पादन गर्ने र बाँके–बर्दियामा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले सरकारले राष्ट्रिय गौरवका रूपमा सो आयोजना अघि बढाएको हो ।

आयोजनाले बाँध र विद्युत् गृह निर्माणको पूर्वतयारी गरिरहेको छ । हाल सिँचाइ विभागले बाँध र विद्युत् गृह निर्माणसम्बन्धी प्रतिवेदन अध्ययन गर्दैछ । दुई ठूला संरचना निर्माण हुने भएकाले विभागले विस्तृतमा अध्ययन गरिरहेको हो । आयोजना प्रमुख बरालले प्रतिवेदन स्वीकृत भएपछि विश्वव्यापी बोलपत्र आह्वान गरिने बताउनुभयो ।

२०१९ को अप्रिलसम्म संरचना निर्माणअन्तर्गत पूर्वतयारीका सबै काम सक्छौंँ, उहाँले भन्नुभयोे, यस अवधिमा ठेक्का छनोट, जग्गा अधिग्रहणलगायतका काम सम्पन्न गरिने छ । टीबीएमले जोखिमपूर्ण चुरे पर्वत पार गरेसंँगै यो नमुना आयोजना सफल हुने निश्चित देखिएको छ । सर्भेका बेला तोलीखोला आसपासमा सुरुङ निर्माणमा प्रतिकूलता आउन सक्ने अनुमान गरिएको थियो । त्यहाँ माटामा पानी बढी अर्थात् जमिन लेदो थियो । दैनिक औसत ४० मिटर सुरुङ खनिरहेको टीबीएमले त्यस क्षेत्रमा भने १०–११ मिटर मात्रै खनेको आयोजनाले जनाएको छ ।
रिस्क जोन पार गरेपछि द्रूत गतिमा बाँकी काम अघि बढाइएको आयोजना प्रमुख बरालले बताउनुभयो ।

छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत पर्ने चिप्लेमा बाँधस्थल बन्दैछ । आयोजना सफल हुने देखेपछि मात्र विद्युत् गृह र बाँध निर्माणसम्बन्धी विस्तृत अध्ययन थालिएको बताइएकोे छ । पहिलो चरणमा सुरुङ निर्माण, दोस्रो चरणमा विद्युत् उत्पादन र तेस्रो चरणमा बाँके–बर्दियामा सिँचाइ योजना विस्तार गरिनेछ ।

चिप्लेबाट १५ मिटर अग्लो बाँध बनाई प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसालिने छ । त्यही पानीबाट बबई किनारमा ४८ मेगावाट विद्युत् उत्पादन गरिनेछ । बबईमा खसालिएको पानीले बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने आयोजनाको लक्ष्य छ ।

गाेर्खापत्रबाट साभार


ताजा समाचार