Loading... आजः बुधबार, असार ९, २०७८

दोस्रो चरण पुग्न नेपालले बंगलादेशलाई हराउनुपर्ने

काठमाण्डाै । आगामी सन् २०२० मा जापानमा हुने ‘टोकियो ओलम्पिक २०२०’ महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोटमा मंगलबार नेपालले बंगलादेशको सामना गर्दैछ।

पहिलो सहभागितामै समूह चरणमा यसअघिका दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले आज बंगलादेशलाई पराजित गरे छनोटको दोस्रो चरणमा प्रवेश पाउनेछ।

यसअघि समूहका दुबै खेलमा नेपालले भारत र म्यानमारसँग बराबरी खेल्दै उत्कृष्ट सुरूवात गरेको थियो।

यस्तै बंगलादेशले पहिलो खेलमा म्यानमारसँग ५-० र भारतसँग ७-१ को भारी अन्तरले हार बेहोरेको छ।

यो नतिजासँगै समूहको दुई खेलबाट म्यानमार ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। समान अंक जोडेको भारत गोलअन्तरमा पछाडि परेको छ। २ अंक भएको नेपाल तेस्रो स्थानमा छ। अंकविहिन बंगलादेश पुछारमा छ ।

सुरूवाती दुबै खेलमा नेपालले अग्रता लिए पनि त्यसलाई बचाउन नसक्दा जित दर्ता गर्न सकेको छैन। तर भारत र म्यानमारजस्ता बलिया टोलीलाई बराबरीमा रोक्नुनै नेपालको सम्भावना बलियो हुनु हो। अन्तिम खेलमा नेपालले बंगलादेशलाई पराजित गरेमात्र पनि दोस्रो चरणमा पुग्नेछ।

प्रत्येक समूहको शीर्ष २ टोली र तेस्रो हुने उत्कृष्ट दुई टोली दोस्रो चरणमा छनोट हुने प्रावधान अनुसार नेपालले बंगालदेशलाई पराजित गरेमा शीर्ष दुई अथवा तेस्रो स्थानको उत्कृष्ट दुईमा पर्ने पक्का छ।

बंगलादेशलाई फराकिलो अन्तरमा हराए नेपाललाई समूह उपविजेतार विजेता बन्न म्यानमार र भारतको खेलमा जित-हारको नतिजा आउनुपर्ने हुन्छ।

यदि नेपालले बंगलादेशलाई जितेमा भारत-म्यानमार गोलरहित बराबरी खेले नेपाल कम गोलले पनि समूह विजेता हुनेछ।

नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक हरि खड्काले टोलीको मनोबल उच्च रहेको भन्दै आफ्नो योजना अनुसार खेल भइरहेको बताए।

भारत र म्यानमारजस्ता बलिया टोलीलाई बराबरीमा रोक्न सफल भएको स्मरण गर्दै खड्काले आजको खेलमा बंगलादेशविरुद्ध टोलीको लक्ष्य ३ अंक रहने स्पष्ट पारे।

हामीसँग बराबरी खेलेका भारत र म्यानमारले बंगलादेशबिरूद्ध फराकिलो जित निकालेको भन्दै आफूहरू पनि जित दर्ता गरे अर्को चरणमा पुग्ने बताए।

टोकियो ओलम्पिक छनोटका लागि विभिन्न १८ देशलाई ४ समूहमा विभाजन गरिएको छ। भिएतनाम र उज्जेकिस्तान वरियताका आधारमा दोस्रो चरणका लागि छनोट भइसकेका छन्।

हरेक समूहका शीर्ष दुई टोली र अन्य दुई उत्कृष्ट तेस्रो हुने टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणका खेलहरु अप्रिलमा हुनेछ।

दोस्रो चरण छनोटबाट तीन टोली तेस्रो चरणमा प्रवेश गर्नेछन्। तेस्रो चरणमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणका तीन विजेतासँगै अष्ट्रेलिया, चीन, थाइल्याण्ड, दक्षिण कोरिया र उत्तर कोरियाले तेस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन्।

दुई समूहका उत्कृष्ट दुई टोलीले चौथो चरणमा स्थान बनाउनेछन्। चौथो चरण प्रवेश गर्न सफल चार टोलीलाई दुई समूहमा विभाजन गरी होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गराइनेछ। जसबाट विजयी हुने दुई टिम ओलम्पिकका लागि छानिनेछन्।


ताजा समाचार