Loading... आजः बुधबार, असार ९, २०७८

तराई मधेस क्षेत्रको विशेष चाड छठ आजदेखि शुरु

बाँके  । तराई मधेस क्षेत्रको विशेष चाड छठ आजदेखि विधिवत् रुपमा सुरु भएको छ । कात्तिक षष्ठी तिथिका दिन मनाइने यस पर्वमा छठी भगवती र सूूर्यको पूजा अर्चना गरिन्छ ।

पर्वका अवसरमा व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक जलाशयमा स्नान गर्ने चलन छ । यो समयमा सामुहिक रुपमा छठको गीत पनि गाइन्छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवासका बेला कुन्ती, द्रौपदी सहित पाण्डवले गरेको कठोर ब्रतको महाभारतको प्रसगसँग छठ पर्व जोडिन्छ ।

पर्व मनाईरहँदा खास गरि महिलाहरुले वर्षभरीको पीडा तथा दुःख भूल्नको लागि छठको गीत गाउने गरेको, साहित्यकार एवं सँस्कृतिविद् डाक्टर रेवतीरमण लालले बताउनुभयो ।

छठमा घर वरपर, नजिकैको जलाशय सरसफाई गरि कलात्मक तरिकाले सजाउने चलन छ । नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ दिने गर्छन् ।

छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ । विशेष गरि मिथिलाअञ्चलमा मनाइने छठ अहिले पहाडी जिल्लाहरुमा पनि मनाउन थालिएको छ ।

छठ विधिवत रूपमा शुरु भएको पहिलो दिनलाई नहाए खाए हुन्छ भने छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । छठको तेस्रो दिन छठको मुख्य दिन हो । यस दिनमा नजिकैको जलाशयमा गएर सामुहिक पूजा गरि गीत गाउँदै पर्व मनाउने चलन छ ।


ताजा समाचार