Loading... आजः बुधबार, असार ९, २०७८

निर्वाचित क्यानले मुद्दा फिर्ता लिने, निलम्बन फुकुवामा सकारात्मक कदम

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) काे निर्वाचित समितिले क्यान माथी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले लगाएको निलम्बन फुकुवा गर्ने प्रक्रियामा महत्वपूर्ण कदम सावित हुने देखिएको अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने भएको छ।

क्यानको यो कदमले झन्डै पछिल्लो डेढ वर्षयता निलम्बनमा रहेको नेपाली क्रिकेटले चाँडै नै मुक्ति पाउने सम्भावना बढेको छ।

नेपाली क्रिकेट गत २०७३ साल वैशाख १२ गते यता आईसीसीको निलम्बनमा रहँदै आएको छ। तत्कालीन उपाध्यक्ष चतुरबहादुर चन्द नेतृत्वको समितिले पूर्वनिर्धारित निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन गर्दा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सो समितिलाई अस्वीकृत गर्दै समानान्तर तदर्थ समिति गठन गरेसँगै आईसीसीले स्वतन्त्र निर्वाचन हुन नसकेको र सरकारी हस्तक्षेप भएको दुई कारण देखाउँदै क्यानमाथि निलम्बनको निर्णय गरेको थियो।

यद्यपि नेपाली राष्ट्रिय टोलीलाई भने आफ्नै व्यवस्थापनमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने निर्णय पनि आईसीसीले गरेको थियो।

त्यसयता घरेलु क्रिकेटको विकासको पाटो ठप्प जस्तै बन्दै आइरहेको छ। साथै राष्ट्रिय टोलीको जिम्मेवारी आईसीसी आफैंले लिए पनि त्यसमा समस्या देखिएको छ।

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि टोलीको छनोट, बन्द प्रशिक्षणको सञ्चालनदेखि धेरै कुरामा समस्या बेहोर्नु परेको छ। पछिल्लो समय सल्लाहकार समितिले तयार पारेको विधानलाई क्यानको निर्वाचित समितिले हुबहु पारित गरेसँगै सहज बनेको क्यानमाथिको निलम्बन फुकुवा गर्ने प्रक्रिया क्यानको पछिल्लो निर्णयसँगै अझ सहज देखिएको छ।

क्रिकेटका सरोकारवाला र आईसीसी आफैंले पनि अदालतमा विचाराधीन मुद्दाबारे चासो व्यक्त गरेपछि निलम्बन फुकुवाको प्रक्रिया रोकिने संकेत देखिएको थियो।

यद्यपि क्यानको निर्वाचित समितिले शनिबार विज्ञप्ति जारी गरी आईसीसी र अन्य सरोकारवाला निकाय तथा व्यक्तिसँग यसअघि भएका छलफलहरूमा आफूहरूले गर्दै आइरहेको प्रतिबद्धताअनुसार अदालतमा विचाराधीन रहेको मुद्दा फिर्ता लिने प्रक्रिया सुरु गरेको जनाएको छ।

यसका कानुनी र व्यावहारिक पाटोका विषयमा छलफल र निर्णय गर्न कात्तिकको १० गते बोर्ड बैठक बोलाइएको समेत क्यान निर्वाचित समितिले जनाएको छ। ‘हामी क्यानमाथिको निलम्बन हटाउने प्रयासमा सुरुआतबाटै जिम्मेवार र सहयोगी भूमिकामा प्रस्तुत हुँदै आइरहेका छौं।

हामीले यो प्रक्रियामा आईसीसीले गठन गरेको सल्लाहकार समूह र मोनिटरिङ समितिमा बसेर मात्रै हैन, आईसीसी र अन्य सरोकारवालाहरूले भने झैं परिमार्जित विधानलाई विशेष साधारणसभाबाट हुबहु पारित गरेर सहयोग पुर्याइरहेका छौं’, क्यान निर्वाचित समितिका उपाध्यक्ष दिवाकर घलेले विज्ञप्तिमार्फत भनेका छन्, ‘क्यानमाथिको निलम्बन फुकुवाको प्रक्रिया चाँडै र सहज टुंगियोस् भन्ने उद्देश्यले हामीले अदालतमा हामीले दायर गरेको र हाल विचाराधीन रहेको मुद्दा फिर्ता लिने प्रक्रिया सुरु गरेका छौं।’

क्यान निर्वाचित समितिले नेपाली क्रिकेटलाई निलम्बनको अवस्थाबाट मुक्त गर्ने प्रक्रिया अन्तिम अवस्थामा पुगेकोले अन्य सरोकारवाला पक्षहरूलाई समेत सहयोगी भूमिका निर्वाह गर्न अनुरोध गरेको छ।

आईसीसीले गत सेप्टेम्बर १० तारिख इमेलमार्फत अदालतमा रहेको विचाराधीन मुद्दा र राखेपद्वारा गठित तदर्थ समितिको सम्बन्धमा चासो व्यक्त गरेको थियो। आईसीसीको चासोमा क्यान निर्वाचित समितिले सेप्टेम्बर २१ तारिख नै आफ्नो मुद्दा फिर्ता लिने जबाफ पठाएको छ। स्रोतका अनुसार राखेपले पनि आफूले गठन गरेको तदर्थ समिति विघटन गर्ने जवाफ पठाइसकेको छ।

आईसीसीका प्रतिनिधिसँग नेपाली क्रिकेटका सम्बद्ध र सरोकारवालाहरूबीच पुरानो विधानलाई संशोधन गरी सोही विधानअनुसार जिल्ला, प्रदेश र केन्द्रसम्मै नयाँ कार्यसमिति चयन गरी क्यानभित्रको विवादको समाधान र निलम्बन फुकुवा गर्ने सहमति बनेको छ। सोहीअनुसार सल्लाहकार समितिले परिमार्जन गरी बनाएको विधानमा दुई पटक संशोधन गरेर क्यानको निर्वाचित समितिले आफ्नो साधारणसभाबाट हुबहु पारित गरिसकेको छ।

सोही विधानअनुसार जिल्ला निर्वाचन सम्पन्न भइसकेका छन् भने प्रदेश र केन्द्रको निर्वाचन गर्नका लागि आईसीसीका तीन तथा क्यान र राखेपका एकएक गरी पाँच सदस्यीय मोनिटरिङ समितिसमेत गठन भइसकेको छ। सो समितिले हाल जिल्ला निर्वाचनको अध्ययन गरिरहेको छ। समितिले आफ्नो प्रतिवेदन बुझाएपछि प्रदेश र केन्द्रको निर्वाचन हुनेछन् र त्यससँगै क्यानमाथिको निलम्बन फुकुवा हुने विश्वास गरिएको छ।


ताजा समाचार