Loading... आजः बिहिबार, कार्तिक ११, २०७८

यसरी भइरहेको छ नेकपामा सहमति प्रयास

काठमाडौं । नेकपाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपालले राखेको ‘असहमतिपत्र’ पार्टीभित्र छलफलमा लैजाने भएको छ। नेपालको असहमतिपत्र सोमबारको सचिवालय बैठकको औपचारिक एजेन्डा बनेको थियो। सचिवालय बैठकले नेपालको असहमतिपत्रसहित तल्लो तहका पार्टी कमिटीको गठन प्रक्रिया, स्थायी समिति बैठक, सरकारको समीक्षालगायत विषयलाई पार्टी बैठकको एजेन्डा बनाएको छ।

वरिष्ठ नेता नेपालले ५ असोजको सचिवालय बैठकले गरेको निर्णयमा असहमति जनाउँदै १२ असोजमा लिखित ‘असहमतिपत्र’ दर्ता गराएका थिए। पार्टीका दुवै अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल देशबाहिर रहेका बेला उनले महासचिव विष्णु पौडेललाई एक पृष्ठको असहमतिपत्र बुझाएका थिए।

नेपालले संसद्मा आफ्नै पार्टी नेतृत्वको सरकारको आलोचना पनि गरेका थिए। सोमबारको सचिवालय बैठकमा नेता नेपालको असहमतिपत्र महासचिव पौडेलले पेश गरेका थिए।

५ असोजको सचिवालय बैठकले वरिष्ठ नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ देशबाहिर रहेका बेला प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव (पदाधिकारी) चयनको निर्णय गरेको थियो।

‘सचिवालय बैठकले प्रस्ताव ल्याउने, मापदण्ड बनाउने र सो मापदण्डका आधारमा कमिटीमा व्यक्तिको नाम प्रस्ताव गर्नुपर्नेमा आफूसँग भएको छलफलमा विश्वास तोडेर जालझेलपूर्ण रूपमा प्रदेश पदाधिकारी चयनको निर्णय लिइएको र उक्त निर्णयले आफू स्तब्ध भएको नेता नेपालको असहमतिपत्रमा उल्लेख छ।

पार्टी विधानको धारा ३८ ग मा उल्लेख भएअनुसार एकताका क्रममा सहमतिका आधारमा कमिटी निर्माण गरिने विषय र यसअगाडि बनाइएका मापदण्ड पनि सचिवालय निर्णयमा उल्लंघन गरेको आरोप नेपालको छ। उनले केन्द्रीय कार्यालयमा असहमतिपत्र दर्ता गराउनेदेखि स्थायी समिति सदस्यको भेलाको आयोजना गरी पार्टीभित्र छलफलको माग गरेका थिए। प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी निर्णयमा पुनःछलफलको माग भएको विषय सचिवालय बैठकमा औपचारिक एजेन्डा बनेको बताए।

‘रिपोर्टिङ, प्रदेश कमिटी गठन, जिल्ला कमिटी गठन, जबस एकीकरण, स्थायी समितिको मिति, केन्द्रीय सदस्यको कार्यविभाजन, पार्टीको आर्थिक नियमावली, सरकारको प्रभावकारी कार्यसञ्चालन, पार्टी निर्णयमा माग भएको छलफलको विषयलगायत सचिवालय बैठकका एजेन्डा तय भएका छन्,’ प्रवक्ता श्रेष्ठले भने, ‘यसैअनुसार बैठकमा छलफल हुनेछ।’

श्रेष्ठले सोमबारको सचिवालय बैठकमा नेताहरूले रिपोर्टिङ मात्रै गरेकाले अन्य एजेन्डामा अर्को बैठकमा छलफल हुने बताए।

सचिवालयको अर्को बैठक बुधबार (असोज २४)मा बोलाइएको छ। उनले सचिवालय बैठकमै तय भएका एजेन्डामध्येकै धेरैजसो एजेन्डा स्थायी समिति बैठकका पनि एजेन्डा बन्ने बताए। स्थायी समितिको बैठकको मिति भने तय भएको छैन। २४ असोजको बैठकले नै त्यसको मिति तोक्नेछ।

वरिष्ठ नेता नेपालले आउँदो बैठकले स्थायी समिति बैठकका एजेन्डा तयार पार्ने बताए। ‘स्थायी समिति बैठकको मिति र एजेन्डा दुई अध्यक्ष (ओली र दाहाल)ले प्रस्ताव तयार पारेर ल्याउनुहुन्छ र त्यसमा छलफल हुन्छ’, नेता नेपालले भने।

आउँदो बैठकबाट नेकपाले अपूर्ण रहेको प्रदेश कमिटीलाई पूर्णता दिने, जिल्ला कमिटी गठन गर्ने, जनवर्गीय संगठनको नेतृत्व बाँडफाँड गर्नेलगायत कामको पनि टुंगो लगाउने अर्का एक नेताले बताए।

विदेश भ्रमणको ब्रिफिङ

सोमबारको सचिवालय बैठकमा हालै विदेश भ्रमणमा गएका नेताले आ–आफ्नो भ्रमणका विषयमा रिपोर्टिङका क्रममा बिफ्रिङ गरेका थिए। प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले अमेरिका र कोस्टारिका भ्रमण, अर्का अध्यक्ष पुष्पकमल दाहालले भारत र चीन भ्रमण, वरिष्ठ नेता नेपालले घाना र चीन भ्रमण र प्रवक्ता श्रेष्ठले चीन भ्रमणबारे बैठकमा ब्रिफिङ गरेको प्रवक्ता श्रेष्ठले बताए।

प्रधानमन्त्री ओली ६ देखि १७ असोजसम्म संयुक्त राष्टसंघको महासभाका लागि अमेरिका र कोस्टारिका भ्रमणमा थिए। अध्यक्ष दाहाल ३० भदौदेखि असोज ३ सम्म चीन र २१ देखि २५ भदौसम्म भारत भ्रमणमा थिए। वरिष्ठ नेता नेपाल ६ देखि ९ सम्म अफ्रिकी मुलुक घाना र १४ देखि १७ असोजसम्म चीन तथा प्रवक्ता श्रेष्ठ २९ भदौदेखि ५ असोजसम्म चीन भ्रमणमा थिए।

प्रधानमन्त्री ओलीले नेपालको लोकतन्त्र र शान्ति प्रक्रियाका विषयमा विश्वलाई अवगत गराएको बैठकमा जानकारी गराए। ‘हामी आफैले पैदा गरेको, अपनत्व लिएको र नेतृत्व गरेको शान्ति प्रक्रियाले पूर्णता पाएर नेपाल अहिले विकास र समृद्धिको दिशामा अगाडि बढेको सन्देश विश्वलाई दिन सकिएको छ,’ बैठकमा प्रधानमन्त्रीले व्यक्त गरेको भनाइ उद्धृृत गर्दै सचिवालयका एक नेताले भने, ‘यसपटक राष्ट्रसंघको महासभामा सहभागी भएर हाम्रो अवस्था, उपलब्धि, प्राथमिकता प्रस्ट ढंगले राखिएको छ।’ विभिन्न देशका कार्यकारी प्रमुखसँग भएको उच्चस्तरीय संवादले अन्तर्राष्ट्रिय सम्बन्धमा थप नयाँ आयाम थपेको प्रधानमन्त्रीको भनाइ थियो।

अन्य नेताले पनि आ–आफ्ना भ्रमणको महत्वका विषयमा ब्रिफ्रिङ गरेका थिए।

यस्ता छन् सचिवालयका एजेन्डा

रिपोर्टिङ

प्रदेश कमिटी गठन

जिल्ला कमिटी गठन

जनवर्गीय संगठनको एकीकरण

स्थायी समिति बैठक मिति

केन्द्रीय सदस्यको कार्यविभाजन

पार्टीको आर्थिक नियमावली

सरकारको प्रभावकारी कार्यसञ्चालन

माधव नेपालको असहमति पत्र

अन्नपुर्ण पाेष्टबाट साभार


ताजा समाचार