Loading... आजः बिहिबार, कार्तिक ११, २०७८

कांग्रेस बैठकमा नोट अफ डिसेन्ट राख्ने को–को हुन ? किन राखियो ?

काठमाडौं । नेपाल विद्यार्थी संघमा ३२ वर्षको उमेरहदलगायत विरुद्ध चार शीर्ष नेताले राखेको लिखित असहमति नेपाली कांग्रेसको बैठककै दुर्लभ घटना मानिएको छ । संस्थापनइतरको नेतृत्वले असहमति जनाउनु साधारण मानिए पनि विभिन्न समूहको नेतृत्व गरेका नेताले संयुक्त रूपमा लिखित असहमति राखेका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय कृष्ण सिटौला, प्रकाशमान सिंह र पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले केन्द्रीय समितिको बहुमतको निर्णय अघि लिखित असहमति (नोट अफ डिसेन्ट) राखेका थिए ।  केन्द्रीय समिति बैठकले बहुमतका आधारमा ३२ वर्षे उमेर हद तोक्दै नेपाल विद्यार्थी संघको विधानलाई पास गरेको थियो ।

शीर्ष तहका नेता नै कांग्रेसको इतिहासमा पहिलोपटक लिखित असहमति राख्दै निर्णयका विरुद्ध ‘नोट अफ डिसेन्ट’ लेखेर बाहिरिएका थिए । यही विषयमा विवाद हुँदा मध्यरातसम्म बैठक निर्णयमा पुग्न सकेको थिएन ।

नेपाल विद्यार्थी संघको आगामी १२ औं महाधिवेशनका विषयलाई लिएर कांग्रेसले नयाँ विधान पारित गरेको हो । संस्थापनइतर पक्षका नेताहरू विधि र प्रक्रिया नाघेर एकतर्फी रूपमा एजेन्डा नै नदिई बैठकमा एकैपटक निर्णय ल्याइएको भन्दै रुष्ट भए । सभापति शेरबहादुर देउवासहित धेरैजसो संस्थापन पक्षधर नेताले विधानमा उमेरहद लगाउने निर्णय बहुमतले पारित गरेका थिए ।

बैठकमा निर्देशक समितिका संयोजक एवं सहमहामन्त्री प्रकाशशरण महतले विधान पेस गरेपछि बहुमतले पारित गरिएको थियो । नेता पौडेलका अनुसार ११ जनाको निर्देशक समिति छ । संस्थापन पक्षले भने नेविसंघको ११औं महाधिवेशनबाट स्वीकृत विधानमा १२औं महाधिवेशनबाट ३२ वर्षे उमेर हद लागू गर्ने उल्लेख भएको जनाएको छ ।

नेविसंघको वर्तमान कार्यसमितिको थपिएको तीनमहिने म्याद २ मंसिरमा सकिँदै छ । नेविसंघको अध्यक्षका लागि थुप्रै नेता आकांक्षी छन् । उमेरहद लागू भएपछि धेरै नेताको सभापति बन्ने सपना भताभुंग भएको छ । राजधानी दैनिकमा समाचार छ ।


ताजा समाचार