Loading... आजः शुक्रबार, कार्तिक ५, २०७८

स्वास्थ्यकर्मीको सरुवामा व्यापक त्रुटि, एक दरवन्दीमा पाँच सरुवा


काठमाडौँ । गत साउनमा स्वास्थ्य सेवा विभागले गरेको एकहजार ७०० स्वास्थ्यकर्मीको सरुवामा व्यापक त्रुटि भएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गठित छानविन समितिले विभागले गरेको सरुवामा त्रुटि भएको निष्कर्ष निकालेको छ । विभागले साउन १७ गते गरेको सरुवामा विवाद भएपछि स्वास्थ्य मन्त्रालयले महेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।

छानविन समिति संयोजक महेन्द्रप्रसाद श्रेष्ठले सरुवामा अनगिन्ति त्रुटि फेला परेको जानकारी दिनुभयो । एउटै व्यक्तिलाई तीन ठाउँसम्म सरुवा गरिएको, दरबन्दी नभएको स्थानमा पनि सरुवा गरिएको, एकजना दरबन्दी रहेको ठाउँमा पाँचजनासम्मलाई सरुवा गरिएको, अवधि नपुगी सरुवा गरिएको जस्ता त्रुटि भेटिएको जानकारी दिँदै छानविन समिति संयोजक श्रेष्ठले प्रतिवेदन स्वास्थ्य सचिव डा. पुष्पा चौधरी समक्ष बुझाइसकिएको बताउनुभयो । विभागको सरुवाले कतिपय जिल्लामा स्वास्थ्य सेवा नै अबरुद्ध हुन पुगेको थियो । आजको गोरखापत्र समाचार छ ।

स्वास्थ्यमा कसरी सरुवा गर्दा प्रभावकारी हुन्छ भन्ने सुझावसहित समितिले प्रतिवेदन बुझाएको जानकारी दिँदै संयोजक श्रेष्ठले भविष्यमा विवादरहित सरुवा गर्नका लागि समिति गठन भएको बताउनुभयो । उहाँले काठमाडौँमा ८४ जना स्वास्थ्यकर्मीको सरुवा बाहिरी जिल्लाबाट भएको तर काठमाडौँबाट अन्य जिल्लामा ५ जनाको मात्र सरुवा भएको बताउनुभयो ।

छानविन समितिमा आयुर्वेद विभागका उपसचिव बाबुराम लामिछाने र स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत रेवतीरमण शर्मा सदस्य रहनुभएको थियो ।


ताजा समाचार