Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

राजनैतिक आस्था अलग तर समाज वदल्ने वाटो एउटै


जनक केसी
जाजरकोट । भेरी नगरपालिका ४ काजीवाडाका अनिशकुमार कार्की र सोहि नगरपालिकाको सोहि वडा स्थित वाहुनवाडाका जगतध्वज शाही दुइ फरक राजनैतिक आस्था वोकेको पार्टीमा निकै क्रियाशील युवा हुन् । २४ वर्षिय कार्की नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ र काँग्रेसको राजनितीमा तनमन दिएर लागेका छन् भने २३ वर्षिय शाही तत्कालीन एमालेको भातृसंगठन अनेरास्ववियुको राजनीतिमा सक्रिय छन् । उनी अनेरास्ववियुको क्षेत्रिय अध्यक्ष पनि हुन् । कार्की चुनावी अभियान देखि काँग्रेसका कुनै पनि कार्यक्रम सफल पार्न कम्मर कसेर लाग्छन भने शाही वाम गठवन्धन अर्थात नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कुनै पनि कार्यक्रममा सवै थोक विर्सेर लाग्छन् । दुवैलाइ दुवै पार्टीका माथिल्लो तहका नेताले विस्वास मात्र गर्दैनन् पार्टीका विभिन्न कार्यक्रमहरुमा व्यवस्थापन र युवा परिचालनको जिम्मेवारी समेत दिन्छन् । कुनै ठाउँमा मन्च पाएर वोल्न थाले कार्की शाहीको पार्टी नेकपा विरुद्ध मज्जैले वोल्छन भने शाहीले पनि राजनैतिक मन्च पाए मज्जाले काँग्रेसका विरुद्ध वोल्छन् ।

अचम्मको कुरा के छ भने यी दुवै युवा सामाजिक काममा भने गत तीन वर्ष देखि मह जोडी जस्तै वनेर एउटै वाटोमा दृढताका साथ हिडिरहेका छन् । २०६७ सालमा संगै त्रिभुवन माध्यमिक विद्यालय खलंगावाट एसएलसी दिएका कार्की र शाही १० वर्ष अघि देखिका मिल्ने साथी हुन् । २०७२ जेठको महिनाको एक दिन सदरमुकाम खलंगाको वर्दियाली होटेलमा चिया पिउदै गरेको वेलामा कार्की र शाही दुवैले अव समाजमा युवालाइ रचनात्मक काममा लगाउने कुनै उपाय गर्नु परयो भन्ने ठानेर जाजरकोट युवा क्रिकेट क्लव खोल्ने निर्णय गरे । विना काम समाजमा वरालिएर हिड्ने र दुव्र्यसनको वाटो लाग्न सक्ने युवाहरुलाइ खेलकुद मार्फत सृजनात्मक कार्यहरुमा लगाउन दुवै जनाले स्कुल क्यापस पढ्ने र पढाइ छोडेका सवै युवाहरुलाइ क्रिकेट क्लवमा आवद्ध गराएर साँझ विहान स्थानीय थाप्लेचौरमा अभ्यास गराउने र उनीहरुका लागि आन्तरिक प्रतिष्पर्धा गराउन थाले ।

यसै क्रममा खेलकुदका गतिविधि संगै समाजको हित र सेवा हुने काम गर्ने सोच राखेर उनीहरुले सुरुमा २०७२ जेठ २६ गते जिल्ला अस्पतालमा नवजात शिषु र सुत्केरी आमाको सहयोगका लागि न्यानो कपडा वाँडे । गोजीमा भएको रुपैया र युर्वा उर्जालाइ वेकाममा खर्च गर्नु भन्दा सुत्केरी अवस्थामा आपतमा परेका शिषु र आमालाइ न्यानो वनाउनभन्दै उनीहरुले न्यानो कपडा अस्पतालमै पुगेर वाँडे ।

आफनै खर्चमा उक्त सहयोग दिएपछि सवैको स्यावासी पाएका कार्की र शाहीले फेरि सोहि वर्षको असार ५ गते खलंगाको वृद्धाश्रममा गएर जेष्ठ नागरिकहरुलाइ पछयौरी वाँडेर आफनो सामाजिक मन दुनियालाइ देखाउने काम गरे । विस्तारै सामाजिक हित सेवाको क्षेत्रमा उत्साहित वन्दै हिडेका उनीहरुले स्कुले विद्यार्थीहरुलाइ खेलकुद तथा अन्य सामाग्रीहरु मात्र वाडेनन् विभिन्न दुव्र्यसन र कुलतहरुका विरुद्ध लाग्न पनि सुझाउन थाले ।

पार्टीको आम सभा, भेला जुलुस लगाएतका कार्यक्रममा दुइ ध्रुव भएर उभिने यी दुइ युवाहरु समाज परिवर्तन र समाजिक हितका सवालमा भने दुइ मनलाइ दरो रुपले एउटै वनाएर लागि परेका छन् । सामाजिक अपराध विरुद्धका रयाली, सभा मात्र होइन चेतनामुलक गतिविधिहरुमा यी दुवै युवाले एक साथ उभिदा हिड्दा पार्टीसंगको सम्वन्ध नै भुल्ने गरेका छन् । भविष्यमा नेता नै वन्ने दृढ इच्छा र लक्ष वोकेका दुवै युवा किन समाज परिवर्तनमा एकै वाटो हिडे त भन्ने नागरिकको प्रश्नमा दुवैले एकै वाक्यमा भने हामी विग्रेको राजनैतिक सस्कार र सामाजिक चेतनाको स्तर वदल्न चहान्छौं ।

दुइ पार्टीमा निकै सक्रिय भएका युवाहरु सामाजिक काम गर्दा पार्टीका कुरा कत्तिको आउछन भन्ने अर्काे प्रश्नमा कार्कीले भने समाजको हित र सेवा हुने कार्यमा राजनैतिक आस्थाले मन विभाजित गर्नु राम्रो होइन । कार्कीको भनाइमा पुरा समर्थन जनाउदै शाहीले भने यो समाज वदल्ने जिम्मा युवाको हो र राम्रो काम गर्ने वेला पार्टीमा विभाजित हुनु कुनै पनि हालतमा सुहाउदैन ।

१० वर्ष देखिका साथी हौं तीन वर्ष देखि हामी सामाजिक काममा एक मन भएर लागेका छौं हाम्रो सहकार्य र मित्रतामा हामी फोहर राजनीति र विभाजना घुस्न दिन्नौं कार्कीले भने । म पार्टीको लागि ज्यान दिएर लाग्छु पार्टीलाइ चुनावमा जिताउने काम र अन्य सवै गतिविधिमा निकै सक्रिय भएर लाग्छु तर पनि हाम्रो सामाजिक काममा हामी पार्टीका कार्यकर्ता भएर होइन सचेत युवा भएर प्रस्तुत हुन चहान्छौं । ओभर सियरको पढाइ पुरा गरेका कार्की स्थानीय निजि वोडिंङमा पार्टटाइम जागिर गर्छन भने १२ कक्षाको पढाइ पुरा गरेका शाही स्थानीय यातायात समितिमा कर्मचारीको रुपमा पार्टटाइम जागिर गर्छन् ।

उनीहरुले समाजिक सेवाका लागि आवस्यक पर्ने खर्च आफनो पकेट खर्चवाट वेहोर्ने गरेको वताउछन् । सुरुमा आफुहरुको अभियानलाइ अरुले विस्वास नगरेपनि पछिल्ले चरणमा भने युवा विद्यार्थी र समाजका अग्रजहरुले समेत साथ र सहयोग दिन थालेको उनीहरुको भनाइ । भर्खरै भेरी नगरपालिकालाइ सफा राख्न युवा र विद्यार्थीहरुको परिचालन मार्फत खलंगा सफाइ अभियान सन्चालन गरेका दुवै जनाले दुनियाले देखेको जाजरकोट र आफुले चाहेको जाजरकोट फरक देखाउन चाहेको वताए । सुन्दर र समृद्ध समाज निर्माणसंगै जाजरकोटमा केहि राम्रो काम गर्नका लागि आफुहरुले नमुनाको काम गर्ने र आउने पुस्तालाइ समाज प्रतिको जिम्मेवारीवोध गराउने उनीहरु वताउछन् ।

आफना अभिभावकहरुवाट समेत राम्रो साथ र समर्थन पाएका कार्की र शाही आफुहरु कसैको दवाव र प्रभावमा नपरी समाजिक हितको पक्ष र विकृतिको विरुद्धमा लाग्ने वताउछन् ।


ताजा समाचार