Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

जातिय विभेद र छुवाछुत अन्त्यका लागि अग्रसर शिवालय गाउँपालिका


जाजरकोट । शिवालय गाउँपालिकाका सरोकारवालाहरुले जातिय विभेद तथा छुवाछुत सम्बन्धीका मुद्धामा पीडितलाई न्यायप्राप्तिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

कानुनले जातिय विभेद तथा छुवाछुत गर्नुलाई अपराध मानिसकेको अवस्थामा यस्ता घटनाका पीडितहरुले न्याय पाउनका लागि संघर्ष गर्नुपरेको यथार्थ चित्रण गर्दै सरोकारवालाहरुले आगामी दिनमा न्यायप्राप्तिका लागि आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । साझा आवाज कार्यक्रम अन्तर्गत नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोटले शिवालायमा आयोजना गरेको स्थानीय स्तरमा घट्ने जातिय विभेद र छुवाछुत सम्बन्धी घटनाहरुको न्यायिक प्रक्रियाका लागि सहकार्यमूलक कार्यशालाका सहभागीहरुले आगामी दिनमा थप सहयोग गर्ने बताए । गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले जातिय विभेद र छुवाछुतका घटनामा न्याय दिनका लागि गाउँपालिकाले सहायोग गर्ने बताए । उनले कुनै पनि हिंसामा परेका व्यक्तिलाई न्यायका लागि सहयोग गर्ने गाउँपालिकाको योजना रहेको बताउँदै अब शिवालयमा कोही पनि नागरिक न्याय पाउनबाट बञ्चित हुनुनपर्ने जिकिर गरे ।

जातिय विभेद र छुवाछुत न्यूनीकरणका लागि गाउँपालिकाले विशोष कार्ययोजना बनाउने योजना रहेको अध्यक्ष शाहीले जनाए । ‘जातिय विभेद र छुवाछुत अन्त्य गर्न गाउँपालिकाले एउटा कार्ययोजना बनाउछ’,उनले भने,‘तर कुनै एक व्यक्ति, जाति, पार्टिको पहलले संभव छैन हामी सबैले हातमा हात काँधमा काँध गरेर अगाडी बढ्न आवश्यक छ ।’ अध्यक्ष शाहीले गाउँपालिका सबै प्रकारका विभेद र हिंसा अन्त्यका लागि संवेदनशील भएको बताउँदै आफ्ना नीति तथा कार्यक्रमबाट अन्त्यका लागि सहयोग गर्ने बताए । उपाध्यक्ष एवं न्यायिक समिति संयोजक कुमारी थापाले अब स्थानीय तहमै न्यायिक समिति भएकाले कसैले पनि न्याय नपाएर खुम्चिएर बस्नुपर्ने अवस्था अन्त्य भएको बताइन् । उनले न्यायिक समितिको अधिकारभित्रका मुद्धामा वास्तविक पीडितलाई आफैले न्याय दिने र अदालतमा जानुपर्ने मुद्धामा समेत सहयोग गर्ने प्रतिबद्धता जनाइन् । कुनै पनि अन्यायमा भए सहेर नवस्न र न्यायिक समितिमा उजुरी गर्न संयोजक थापाले आग्रह गरेकी छन् ।

कार्यक्रममा अधिवक्ता भिमबहादुर सिंहले जातिय विभेद सम्बन्धी कानुन कार्यान्वयनको वर्तमान अवस्था र समस्या समाधानका लागि भावी योजना सम्बन्धी कार्ययोजना प्रस्तुत गर्दै जातिय विभेदसम्बन्धी घटनाका पीडितले अझै पनि स्वतःस्फूर्त रुपमा न्याय पाउन नसकेको बताए । उनले यस्ता घटनाका उजुरी दर्ता गर्नका लागि आन्दोलन गर्नुपर्ने र पीडित पक्षलाई प्रलोभनमा पारी मुद्धा मिलापत्रमा लिने गलत अभ्यास रहेको दृष्टान प्रस्तुत गरे । जातिय विभेद तथा छुवाछुतका घटनामा पीडित वा घटना भएको देख्ने कुनैपनि व्यक्तिले प्रहरी, स्थानीय निकाय वा राष्ट्रिय दलित आयोगमा उजुरी गर्न सक्ने व्यवस्था सम्बन्धी जानकारी गराउँदै यसलाई व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिए । प्रहरी चौकी इन्चर्जा भक्तबहादुर सुनारले जातिय विभेद र छुवाछुतसम्बन्धीका घटनामा प्रहरी संवेदनशील रहेको बताए । सबै प्रकारका पीडितहरुको सहयोगका लागि प्रहरी सधैँ तयार रहेको बताउँदै प्रहरी नायव निरीक्षक सुनारले जातिय विभेद र छुवाछुतका घटनामा तत्पर भएर लाग्ने प्रतिबद्धता जनाए । गाउँपालिका स्थित वडा अध्यक्षहरुले जातिय विभेद र छुवाछुतका घटनाका पीडितलाई न्यायप्राप्तिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोटका अध्यक्ष मानबहादुर सुनारले जातिय विभेद र छुवाछुतका घटनामा पीडितहरु खुलेर आउन नसेको बताउँदै न्याय पाइन्छ भन्ने वातावरण निर्माण गर्न गाउँपालिकालाई आग्रह गरे । उनले जातिय विभेद तथा छुवाछुत गरिनु अपराधजन्य कार्य भएकोले त्यस्तो गर्नेलाई कानुनसंवत कारवाहीका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । मानव अधिकार पैरवी सञ्जालका अध्यक्ष गोपाल परियारले जातिय विभेद र छुवाछुतका घटनाका पीडितहरु न्यायमा पहुँच नभएका कारण पिल्सिएर वस्नु परेको अवस्था अवगत गराउँदै अब न्याय दिलाउनका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । परियारले जातिय विभेद तथा छुवाछुत अन्त्यका लागि सबैको साझा पहल चाल्नुपर्ने र गाउँपालिकाले त्यसको अगुवाई गर्नुपर्नेमा जोड दिए ।

साझा आवाज परियोजना जाजरकोट जिल्ला संयोजक धनमल बि.क.ले साझा आवाज परियोजनाले गाउँपालिकासंगको सहकार्यमा जातिय विभेद न्यूनीकरणका लागि काम गरिरहेको बताए ।


ताजा समाचार