विषाक्त रक्सी सेवन गर्दा मलेसियामा चार नेपालीसहित सात जनाको मृत्यु
काठमाडौं । मलेसियामा विषाक्त रक्सी सेवन गर्दा चार नेपालीसहित सात जनाको मृत्यु भएको छ। मृत्यु हुने चार नेपालीमध्ये दुई जनाको नाम पुष्टि भएको छ।
मलेसियाको राजधानी क्वालालम्पुर नजिकै सेलेङ्गोर सहरमा बस्दै आएका सञ्जय उराव र विशाल बुढाथोकी रहेको मलेसियास्थित नेपाली दूतावासले जानकारी दिएको छ। अन्य दुई जना नेपाली आधिकारिक विवरण लिने प्रयास जारी रहेको कार्यवाहक राजदूत कुमारराज खरेलले जानकारी दिएका छन्।
मृत्यु हुनेमा एक जना भारतीय, एक बंगलादेशी र एक मलेसियाली नागरिक रहेका छन्।
विषाक्त रक्सी सेवनका कारण १६ जना बिरामी परेका छन्। तीमध्ये १३ जना नेपाली कामदार रहेका दूतावासले बताएको छ। उनीहरुको मलेसियाका तीन वटा सरकारी अस्पतालमा उपचार भइरहको छ। बिरामीको अवस्था सामान्य रहेको अस्पतालले दूतावासलाई जानकारी गराएको खरेलको भनाइ छ।
मृतकको पोस्टमार्टम रिपोर्ट आइनसकेको र घटनाबारे थप जानकारी लिइरहेको दूतावासले उल्लेख गरेको छ।
नेपाली कामदारको मृत्युका विषयमा मलेसियास्थित नेपाली दूतवासले जानकारी लिइरहेको बताएको छ।
एभिन्युज टि.भि बाट