Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

महिलालाई प्रदान गरिएको कानुनी अधिकारकाे दुरुपयोग बलात्कार आरोप देखाएर ५ लाख ठगी

नेपालगन्ज — बाँकेको नेपालगन्जमा फिल्मी शैलीमा  ठगी घटना भएको छ । जिल्लाकाे  बैजनाथ गाउँपालिका ४ की २६ वर्षीया श्रुति हमालले  भदौ ५ गते पूर्वप्रेमी सोनु अन्सारीलाई राँझामा भेट्न बोलाइएरलाखै रकम ठगि गरेकि छन  । अन्सारी पुगेलगत्तै उनले होटलको कोठामा पुर्‍याइन् । ‘लगत्तै दुई प्रहरीले कोठामा छापा मारे । बलात्कार गर्न खोजेको भन्दै अन्सारीलाई कुटपिट गरे,’ इलाका प्रहरी कोहलपुरका प्रमुख रमेशबहादुर सिंहले भने, ‘फिल्मी शैलीको घटना सुनियोजित थियो । योजनासाथ उक्त घटना घटाइएको हो ।’

मायालुले आफ्नो प्रेमीलाई फोन गरेर भेट्न बोलाउँछिन् । प्रेमी तुरुन्तै पुग्छन् । होटलको कोठा पहिल्यै बुक गरिएको रहेछ । दुवै कोठाभित्र पस्छन् । भलाकुसारी सुरु हुनासाथ दुई प्रहरी पनि कोठामा छिर्छन् ।

त्यसपछि ती महिलाले आफूलाई बलात्कार गर्न खोजेको आरोप प्रेमीमाथि लगाउँछिन् । त्यस्तो आरोपपछि प्रहरीले प्रेमीलाई कुटपिट गर्छ । बलात्कार मुद्दा लगाइदिने धम्की दिएर प्रेमीसित १० लाख माग्छन् । युवकले पनि केही दिनको समय माग्छन् । ऋण खोजेर भए पनि ५ लाख रुपैयाँ बुझाएर बलात्कार मुद्दा झेल्नबाट जोगिन्छन् ।

महिलालाई प्रदान गरिएको कानुनी अधिकार दुरुपयोग गरेको आरोपमा अहिले श्रुति प्रहरी हिरासतमा छिन् । उनलाई सहयोग गर्ने संघीय प्रहरी एकाइ कार्यालयका जवान ओमप्रसाद आचार्य र दंगा नियन्त्रण प्रहरी गणका जवान जगदीश बोहरा पनि पक्राउ परेका छन् । कोहलपुर प्रहरीले तीनै जनाविरुद्ध शरीर बन्धक तथा अपहरण मुद्दा दर्ता गरेको छ । घटना अनुसन्धान गर्ने भन्दै प्रहरीले गुपचुप राखेको थियो ।

तर, अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालतमा ल्याएपछि सार्वजनिक भयो । प्रहरीले घटना संवेदनशील मान्दै अनुसन्धान थालेको जनायो । प्रेमीलाई प्रलोभनमा पारेर भेट्न बोलाउने र प्रहरी लगाएर पक्राउ गरी बलात्कार मुद्दा लगाउने धम्की दिँदै पैसा असुलेको घटना जिल्लामा पहिलो हो । यसले कानुनको दुरुपयोग गरी जोकोहीलाई फसाउन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ ।

‘छिटो पैसा कमाउन उक्त घटना रचिएको रहेछ । प्रहरीको पनि दुरुपयोग गरियो,’ डीएसपी सिंहले भने, ‘त्यसैले यो घटना संवेदनशील छ । हामी अनुसन्धान गर्दै छौं ।’ महिलामाथि हुने यौन दुव्र्यवहार, जबर्जस्ती करणी प्रयास र बलात्कारलाई कानुनले गम्भीर अपराधका रूपमा लिएको छ ।

बलात्कार गर्नेलाई जन्मकैदसम्मको सजाय छ । तर, कतिपय अवस्थामा त्यही कानुनको दुरुपयोग गरिएको पाइएको छ । ठूला सहरमा ‘हनी ट्रयाप’ प्रवृत्ति बढेका बेला नेपालगन्जमा पनि त्यस्तै घटना भएको छ ।


ताजा समाचार