Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

संरचना बनाउँदै कर्णाली सरकार : एक सातामा आधा दर्जन कार्यालय स्थापना

सुर्खेत,२७ भदाै ।  कर्णाली सरकारले बजेट र नीति तथा कार्यक्रम कार्यान्वयनका लागि छुट्टै संरचना स्थापना गर्न थालेको छ । सरकारका कार्यक्रम तथा सेवा प्रवाह प्रभावकारी बनाउन प्रदेश सरकारले विभिन्न मन्त्रालय अन्तर्गतका कार्यालयहरु स्थापनामा जोड दिएको हो । एक साताको अवधिमा कर्णाली सरकारका विभिन्न मन्त्रालयहरुका आधा दर्जन बढी कार्यालयहरु स्थापना गरेको छ । भदौ ९ गते बसेको कर्णाली सरकारको मन्त्री परिषद् बैठकले सबै जिल्लामा एकीकृत सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

प्रदेशको बिकास निर्माण र सेवा प्रवाहलाई छिटो, छरितो र पारदर्शी बनाउन प्रदेश सरकारले आफ्नो मातहतका संरचना बनाएको सरकारका प्रवक्ता समेत रहेका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताइन् । सात वटा मन्त्रालय रहेको कर्णाली प्रदेशका विभिन्न मन्त्रालयहरुका आधा दर्जन बढी संयन्त्र स्थापना गरेको उनले जानकारी दिइन् । ‘सरकारका गतिविधी बढाउन सरकारको संयन्त्र जरुरी छ’ उनले भनिन्, ‘हामी सबै मन्त्रालयका संयन्त्र स्थापनामा जुटेका छौँ ।’

कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले मात्र सुर्खेत, हुम्लामा गरी विभिन्न ६ वटा कार्यालयहरु स्थापना गरेको छ । उक्त मन्त्रालयले सुर्खेतमा डिभिजन वन कार्यालय र भू तथा जलाधार व्यवस्थापन कार्यालय स्थापना गरेको छ भने हुम्लामा जिल्ला अस्पताललाई प्रदेश सरकार मातहत ल्याएको जनाएको छ । त्यसै गरी उक्त मन्त्रालयले हुम्लामा डिभिजन वन, जलस्रोत तथा सिंचाई बिकास सव डिभिजन कार्यालय र जिल्ला आयुर्वेद शाखा स्थापना गरेको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले दैलेखमा कृषि ज्ञान केन्द्र स्थापना गरेको मन्त्री विमला केसीले बताइन् । कृषि मन्त्रालयले सुर्खेतमा पशुपंक्षी तथा मत्स्य निर्देशनालय स्थापना गर्न लागेको जानकारी दिइन् । ‘कर्मचारी व्यवस्थापन संघीय सरकारबाट हुने भएकाले प्रदेश सरकारले आवश्यकता अनुसार संरचना खडा गर्न सकिएको छैन’ उनले भनिन्, ‘सम्बन्धित कार्यालयको लागि चाहिने कर्मचारी हुने वित्तीकै धेरै संरचनाहरु तयार गर्न सरकारको जोड छ ।’ स्थापना गरिएका कार्यालयहरुमा कर्मचारी अभाव भएको उनको भनाई छ ।

कर्णाली सरकारले चालु आर्थिक वर्षका लागि २८ अर्ब २८ करोड २८ लाख २८ हजार रूपैयाँ बजेट विनियोजन गरेको छ । शतप्रतिशत बजेट कार्यान्वयन गर्न सरकारले अाफ्ना संरचना खडा गर्न लागिएको जनाएको छ । प्रदेश सरकारले आफ्नै मातहतमा रहने गरी १० वटै जिल्लामा संरचना तयार पार्न लागेको हो ।

नयाँ पत्रिका बाट

ताजा समाचार