Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

समग्र टोलीकाे प्रदर्शन चिरफार आवश्यक : पारस खड्का

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले सबै खेलाडीले एसिया कप छनोट प्रतियोगितामा आफूले गरेको प्रदर्शनबारे गम्भीर समीक्षा गर्नु आवश्यक रहेको बताएका छन्। छनोट चरण पार गर्दै भारत र पाकिस्तानको सिनियर राष्ट्रिय टोलीसँग एसिया कप खेल्ने योजना बोकेर छनोट प्रतियोगिता खेल्न मलेसिया गएको टोली फाइनलसम्म पुग्न असफल भएपछि कप्तान पारसले प्रतियोगितामा आफ्नो खेलाडीले गरेको प्रदर्शनको समीक्षा आवश्यक रहेको बताएका हुन्।

पारसले कप्तान र सिनियर खेलाडीको हैसियतले प्रतियोगितामा टोलीको कमजोर प्रदर्शनको जिम्मेवारी भने आफूले लिने बताए। ‘यो प्रतियोगितामा हामीले राम्रो खेल्न सकेनौं। हामीले आफ्नो जिम्मेवारीअनुसार खेल्न सकेको भए सायद नतिजा अर्कै हुने थियो। तर, हामीले आफ्नो क्षमताको ४० प्रतिशत मात्रै खेल्न सक्यौं जस्तो लाग्छ। कप्तान र सिनियर खेलाडीका रूपमा यो पराजयको जिम्मेवारी म लिन्छु’, पारसले भने, ‘तर, अब प्रत्येक खेलाडीले आफ्नो प्रदर्शनको गम्भीर समीक्षा पनि गर्नैपर्छ। खेलाडीहरूको व्यक्तिगत प्रदर्शन र समग्र टोलीकै प्रदर्शनको पनि चिरफार आवश्यक भएको छ।’

उनले अहिले खेलाडीको प्रदर्शनको समीक्षा नगर्ने हो भने आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सफलताको आशा गर्न नसकिने धारणा व्यक्त गरे। ‘हामी एउटा प्रतियोगिता जितेर आउँछौं, दुईचार दिन खुसी हुन्छौं, त्यसमै रमाउँछौं। अर्को प्रतियोगिता खेल्न जान्छौं, पराजित भएर आउँछौं। यी कुराहरू यत्तिकै सकिन्छन्’, पारसको कथन थियो, ‘आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हात पार्न पनि सबैले आफ्नो गम्भीर समीक्षा गर्नु आवश्यक छ। त्यससँगै हामीले आफ्नो ट्रेनिङ मेथड्सदेखि धेरै कुरामा परिवर्तन ल्याउनु आवश्यक छ।’

पारसले नेपाली क्रिकेटलाई अझ सशक्त रूपमा अघि बढाउन दिगो योजना बनाइनुपर्ने धारणा पनि व्यक्त गरे। ‘हामी अहिले जुन अवस्था र वातावरणमा छौं, यहाँबाट अगाडि बढ्न दिगो योजनाहरू बनाउनैपर्छ’, उनी भन्छन्, ‘हामीले अब छोटो अवधिका लागि परामर्शदाता प्रशिक्षक होइन, विशेषज्ञ र लामो अवधिका लागि प्रशिक्षक नियुक्त गर्नुपर्छ। अहिले यी सबै जिम्मेवारी हेर्ने बोर्ड छैन तर अहिले यसको जिम्मेवारी लिएकाहरूले पनि यी कुरा गर्न सक्नुपर्छ।’

उनले ब्याटिङको समस्या र खासगरी डट बल धेरै खेल्ने परम्परागत बानीले नै एसिया कप छनोटमा आफूहरूलाई अप्ठ्यारोमा पारेको बताए। ‘एउटा राम्रो अवसर गुमेको छ, यसमा दुःखी छौं। म एक/दुईजना खेलाडीलाई मात्र दोष दिन चाहन्नँ तर ब्याटिङमा हामीले निकै कमजोर प्रदर्शन गर्‍यौं। यसपटक बलिङमा पनि सोचेजस्तो प्रदर्शन हुन सकेन’, पारसले भने, ‘ब्याटिङको समस्या पहिलेदेखिकै हो। डट बल धेरै खेल्ने र आउट हुने समस्या सुध्रिन सकेन। पछिल्लो १० वर्षको आँकडा निकाल्ने हो भने पनि यही समस्या बढी देखिन्छ।’

यसैगरी प्रशिक्षक जगत टमाटाले पनि सोचेजस्तो प्रदर्शन नहुँदा एसिया कपमा छनोट प्रयास सफल नभएको बताए। ‘यसपटक हाम्रो योजना सफल भएन। आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलताका लागि हामीले धेरै कुरा परिवर्तन गर्नु आवश्यक छ’, प्रशिक्षक टमाटाले भने, ‘ब्याटिङ प्रशिक्षक प्रतियोगिताको बेला मात्र नभई बन्द प्रशिक्षण सुरु हुनुअघि नै बोलाउनुपर्छ। बलिङ प्रशिक्ष, टेनरलगायत अन्य प्राविधिक जनशक्ति पनि थपिनु आवश्यक छ’, टमाटाले भने। अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा भएको एसिया कप छनोट प्रतियोगितामा नेपाली टोली निराशाजनक प्रदर्शन गर्दै ओमान, संयुक्त अरब इमिरेट् (यूएई) र हङकङसँग पराजित भएपछि फाइनलमा समेत पुग्न सकेन। छनोट प्रतियोगितामा सफलता हात पार्दै हङकङ आगामी एसिया कपका लागि चयन भयो।


ताजा समाचार