Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

ह्रस्व, दीर्घ पढाउने तीज गीतको भिडियो भाइरल

काठमाडौं । यति बेला चोक, पसल, घर, कार्यालय, गाडी हरेक ठाउँमा तीज गीत घन्किरहेका छन्। तीजका लागि दर्जनौं संख्यामा नयाँनयाँ गीत बनेका छन्। पुराना गीत पनि उत्तिकै बजिरहेका छन्। तीजका अधिकांश गीतमा माया, प्रेम, धर्म, संस्कार र परम्परालाई रमाइलो ढंगले प्रस्तुत गरिन्छ। ती गीत स्कुले बालबालिकाका लागि उपयुक्त हुँदैनन्। तर पनि स्कुले बालबालिका तिनै गीत गुनगुनाउँदै नाचिरहेका हुन्छन्। उनीहरूका लागि यसको अर्को विकल्प नहुँदा यो बाध्यता बनेको छ।

यही बाध्यता तोड्ने प्रयास गरेको छ शंखमूलको अवेरनेस इन्टरनेसनल एकेडेमीले। विद्यालयका प्रबन्ध निर्देशकसमेत रहेका नेपाली शिक्षक विमल घिमिरेले यस्तो गीतको रचना गरेका हुन्। विद्यालयभित्रकै संगीत, नृत्य शिक्षक र विद्यार्थीको मेहनतमा गीतको भिडियोसमेत बनेको छ।

शिक्षक घिमिरे व्याकरण पढाउँदा विद्यार्थीले ध्यान नदिने समस्या समाधान गर्न यस्तो गीत तयार पारेको बताउँछन्। गीतमा विद्यालयकै कक्षा ९ र १० का विद्यार्थीले स्वर दिएका छन्। गीतको ‘लिड’ गायन भने कक्षा १० की छात्रा शारदा पराजुलीले गरेकी हुन्। संगीत शिक्षक राजकुमार घिमिरेले संगीत भरेका छन् भने नृत्य शिक्षक अनिश लामाले नृत्य निर्देशन गरेका छन्। विद्यालयभित्रै तयार पारिएको भिडियोको छायांकन विकल्प जीसीले गरेका हुन्।

नेपाली व्याकरण सिकाउने यो गीतलाई तीजको रमाइलोसँग जोडिएको छ। विद्यालयका छात्रछात्राले विद्यालय पोसाकमै नृत्य गरेका छन्। तीजको समयमा तीजकै लयमा आएकाले हुनसक्छ, गीत अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। गीतमा ह्रस्व, दीर्घको नियम सिकाइएको छ। विद्यालयले नै आयोजना गरेको तीज विशेष कार्यक्रममा विद्यार्थीले यो गीत प्रस्तुत गरेका हुन्। सोही भिडियो म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

 


ताजा समाचार