Loading... आजः सोमवार, कार्तिक १०, २०७७

एशिया कप छनौटमा रणनैतिक कमजोरी

शिशिर भट्टराई, काठमाडौं । ६ महिना पहिले बिश्व कप छनौट प्रतियोगितामा आठौँ स्थान हात पार्दै पहिलो पटक एकदिवसीय अन्तरराष्ट्रिय मान्यता पाएको नेपाल पहिलो औपचारिक प्रतियोगितामा जाँदा नेदरल्यान्डसलाई उसकै घरमा हराएको जोस, एकदिवसीय अन्तरराष्ट्रिय मान्यता पाएको उत्साह र भारत र पाकिस्तानसँग खेल्ने सपना बोकेर एशिया कप छनौट खेल्न जाँदा राम्रो प्रदर्शन गर्ने धेरैको आशा रहेको थियो। तर समुह चरणमा ५ मध्ये तीन हार बेहोर्दै प्रतियोगितादेखि बाहिरिए पछि सबै समर्थकबिच नेपाली टोलीको प्रदर्शनप्रति निराशा र आक्रोश दुबै देख्न सकिन्छ।

सधैँको असफलतापछि आउने गुनासो यस पटक पनि सुधार भएन: घरेलु प्रतियोगिताको नाममा झारा टार्ने प्रधानमन्त्री कप र प्राइभेट क्षेत्रले गरेको धनगढी प्रिमियर लिग, नेपालले एकदिवसीय अन्तरराष्ट्रिय मान्यता पाएपछि भएका घरेलु प्रतियोगिता हुन्, मुलपानीको स्टेडियम मुलमै सुख्छ कि भन्ने चिन्ता छ भने धुर्मुस सुन्तली फाउन्डेशनको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट स्टेडियममा पनि सरकारले आवश्यक सहयोग नगरेको अभियन्ताहरुको गुनासो छ उता क्रिकेट संघको निलम्बन फुकुवामा खास प्रगती भएको छैन् भने खेलाडीहरुले धेरै समय देखि पारिश्रमिक नपाएको गुनासो सुनिएको छ, बिभिन्न लिग खेलिरहेका सन्दिप लामिछानेबाहेक अरू कसैले राम्रो प्रशिक्षण पाएका छैनन् भने राष्ट्रिय टोली पनि एकदिवसीय अन्तरराष्ट्रिय मान्यता पछि पनि स्तरिय अन्तरराष्ट्रिय स्तरको प्रशिक्षकबिहिन छ। यी र यस्तै समस्या बिच खेलिरहेका खेलाडीलाई सलाम।

यी सबै कुरा सधैँ भनिरहेका र सुनिएका कुरा हुन् र कहिलेसम्म रहन्छ भन्ने कुरा भगवान भरोसा छ। तर यो प्रतियोगितामा खेलाडी, कप्तान, प्रशिक्षक र टिम ब्यवस्थापनबाट पनि धेरै कमजोरी भए, यो पक्षमा केहि कमजोरी कोट्याउने प्रयास गरेको छु।

१- सुबास खकुरेलको लगातारको असफलताबिच खेलाइरहनु
अनुभबी विकेटकीपर ब्याटसम्यान सुबास खकुरेल यस प्रतियोगिताभरि लयमा देखिएनन्। ५ खेलमा १५•४ को औसतमा ७७ रन बनाएका खकुरेलले यूएईबिरूद्ध अर्धसतकिय पारी खेलेपनि ५० रन हान्न ९७ बल खर्चेका उनले २५५ रनको लक्ष्य पछ्याएको बेला डट बल खेलेर अन्य खेलाडीमाथि दबाब सृजना गरेको देखिन्छ अझ कम ओवरमा जितेर रनरेट सुधार्नु पर्ने सिंगापुर बिरुद्धको खेलमा अझ ३८ बलमा १४ रनको सुस्त पारी खेलेका थिए। तर लगातारको असफलताको बिच सुबास खकुरेललाई खेलाइनु एक रणनैतिक कमजोरी भएको जस्तो देखिन्छ।

२- रक्षात्मक रणनीति
एकदिवसीय अन्तरराष्ट्रिय मान्यता र नेदरल्यान्डसबिरुद्धको जित पछि प्रतियोगिताको फेवरेट मध्ये एक मानिएको नेपाली क्रिकेट टोली प्रतियोगिताभरि रक्षात्मक रणनीतिका साथ खेल्यो। ब्याट्सम्यानले गरेको ब्याटिङ होस् या कप्तानको टिम सेलेक्सन र बलिङ्ग प्रयोग, प्रतियोगिताभर रक्षात्मक नै देखियो। नेपाली टोली केहि मौकाबिच कुनैपनि समय बिपक्षीमाथि हावि हुन खोजेन।

३- स्पिनरलाई पावरप्लेमा प्रयोग गर्न हच्किए कप्तान
सुरूवाती ओवरमा फास्ट बलरले जमेर रन खर्चिरहदा पनि पारस खड्का स्पिनरलाई पावरप्लेमा प्रयोग गर्न सुरुवाती खेलहरूमा हच्किए। आधुनिक क्रिकेटमा आवश्यकता अनुसार स्पिनरलाई पावरप्लेमा प्रयोग गर्न सकिने कुरा सिंगापुरबिरुद्ध ललित राजवंशी र हंगकंगबिरुद्ध सन्दिप लामिछानेको प्रदर्शनले देखाउछ।

४- स्ट्राइक रोटेसनमा समस्या ज्यूँका त्यूँ
नेपाली ब्याटिङको सधैँको स्ट्राइक रोटेसनमा रहेको समस्या यस पटक पनि सुधार भएको देखिएन। स्ट्राइक रोटेसन नहुँदा डट बल खेलेर प्रेसरमा आउने अनि ठूलो सट हान्न खोज्दा आउट हुने क्रम जारी रह्यो।

५- पावरप्लेमा सुस्त ब्याटिङ
सुरूवाती ओवरमा विकेट बचाएर खेले पछि आफै रन बन्छ भन्ने परम्परागत तरिकाले नेपाली टोली चलिरहेको छ। मलेशियाबिरुद्ध युवा ब्याट्सम्यान अनिल साहबाहेक कुनै पनि खेलाडी सुरुवाती पावरप्लेको सदुपयोग गर्न असफल रहे।

६- रोहित र बिनोदलाई गरिएन प्रयोग
आक्रामक ब्याट्सम्यान मानिने बिनोद भण्डारी प्रतियोगिता अवधिभर एक खेल पनि नखेल्ने खेलाडीको रुपमा रहे। पछिल्लो खेलहरुमा रनरेट सुधार्नु पर्ने भएको अवस्थामा आक्रामक खेल्न सक्ने बिनोदलाई नखेलाइनु गलत थियो या सहि त्यो त थाहा भएन तर अन्य ब्याट्सम्यानहरु असफल हुँदा उनको प्रयोग गरिनुपर्ने मेरो बिचार हो। त्यसैगरि डिभिजन २ देखि ओडिआई मान्यतासम्मका सहयात्री रहेका कान्छा खेलाडी रोहित पौडेल २ असफलतापछि ११ बाट निकालिए।

७- ब्याट्सम्यानको लगातार पोजिसन परिवर्तन
नेपाली ब्याटसम्यानहरु मध्ये सुबास खकुरेलबाहेक सबै खेलाडीको ब्याटिङ पोजिसन लगातार परिवर्तन गरिरहनु पनि टोली आफ्नै खेलाडी प्रति अविश्वास गरेको प्रस्तुत भयो। दिपेन्द्र सिंह ऐरी, सागर पुन र आरिफ शेष लगातार ४, ५, ६ र ७ मा बल्दिरहे। पारस खड्का पनि ३, ४ र फेरी ३ नं मा तलमाथि भइरहे भने ज्ञानेन्द्र मल्ल ओपनरबाट ३ हुदै ४ नं सम्म धकेलिए।

नेपाली टोली अर्को प्रतियोगितामा सबै कमजोरी सुधारिएर प्रस्तुत हुन सकोस्, नेपाली समर्थकको साथ सदैव रहन्छ।


ताजा समाचार