प्रकाश किरणका गजल : उस्ले मध्यरातमा जिन्दगी सकिदियो
१.गजल
रहरै रहरमा जिन्दगी सकिदियो ।
उस्ले तिम्रै भरमा जिन्दगी सकिदियो ।
तिमीले दिएको पीडा सहन नसकेरै,
उस्ले मध्यान्तरमा जिन्दगी सकिदियो ।
प्रेमको आजादीका लागि आशिकले,
गुलाबको अधरमा जिन्दगी सकिदियो ।
मुसाफिर बनेर हिडेको किरणले पनि,
काडाको सफरमा जिन्दगी सकिदियो ।
२.गजल
मायामा पनि अलिकति सिमा राखी दिनुस् ।
उ पाहुना हो पाहुनाकै सुचीमा राखी दिनुस् ।
जिन्दगी जिन्दगी जस्तो बनाउनु हुन्छ भने,
दुश्मनलाई आफ्नो छातीमा राखी दिनुस् ।
छोरोको मृत्युमा बिक्षिप्त आमाले भनिन् ,
भगवान् उस्लाई यो ढुकढुकीमा राखी दिनुस् ।
दिल्मा अटाउनै नसकेको यो किरणलाई,
हजुरहरुका आँखाका नानीमा राखी दिनुस् ।।
३. गजल
अलिकति गुनासो अलिकति डर आइरन्छ ।
उ भित्रको मान्छे मरेको खबर आइरहन्छ ।
दोहोरिने डरले मलाई काफियामै राख्यौ ,
को हो त्यो जो रदिफमा अक्सर आइरहन्छ ।
तिम्रो माया पनि त मुसाफिर जस्तै रहेछ ,
दिनहुँ गन्तव्य फेरेर सकभर आइरहन्छ ।
हामी छुट्टिएको बर्षौ भैसके जस्तो लाग्छ ,
र पनि अझै यादहरुको लस्कर आइरहन्छ ।।
https://www.youtube.com/watch?v=aw2lacfFk-o
४.गजल
सिकायत गरेको हु मैले थानासङ्ग ।
आजित भएपछि तिम्रा बाहानासङ्ग ।
उनी एक पागल प्रेमिका हुन ,
भेटाइदिनुस् उन्कै दिवानासङ्ग ।
आफ्नै छिमेकीहरु शत्रु बनेपछी ,
बहुत प्यार बढेकोछ सिमानासङ्ग ।
अङ्ग भङ्ग भएको एउटा मजदुरले आज,.
आफ्नै मूल्य मागिरहेछ कारखानासङ्ग ।
बा–आमा जलेको खरानी सङ्गाले देखि,
कुनै मोह छैन मलाई यी खजानासङ्ग ।
५.गजल
थाप्लोमा नाम्लो पिठ्युँमा सधै भारी राखेकोछ ।
भरियाले यसरी नै जीवन सिङ्गारी राखेकोछ ।
चिचिला रहरहरुको सप्ना साकार पार्नकै लागि,
बाबुले साहुकोमा बन्दगी घरबारी राखेकोछ ।
दुई मनको जङ्घार बढेको दिन देखि नै प्रिया,
समयले तिमीलाई वारि मलाई पारी राखेकोछ ।
बर्षौ पहिले तिम्रो मायामा पागल प्रेमीेले अझै,
क्यान्भासमा तिम्रै तस्वीर उतारी राखेकोछ ।
सुन्नुस् दिल्को धड्कन हेर्नुस् किरणका आँखाहरुमा,
कसैका लागि उस्ले दिल्को दैलो उघारी राखेकोछ ।
प्रकाश किरण
भेरी नगरपालिका ९, जाजरकोट
हाल : शिद्धिचरण न.पा ११, ओखलढुंगा