Loading... आजः बुधबार, कार्तिक ५, २०७७

सल्यान घटनाप्रति मन्त्री ज्वालाको शोक वक्तव्य

वीरेन्द्रनगर, १३ भदौ ।सल्यानमा मंगलबार राती घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु भएको घटनाप्रति कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बुधबार शोक वक्तव्य जारी गरेका छन् । सल्यानको बागचौर नगरपालिका–४ सेतोगुराँसका रामसिंह कामीको घर भत्किँदा रामसिंहसहित उनकी श्रीमती ३५ वर्षीया रामकला कामी, उनीहरुका ४ वर्षका छोरा रूपलाल, ६ वर्षीया छोरी प्रमिला र ७ वर्षीया गंगाको पनि मृत्यु भएको थियो ।
मन्त्री ज्वालाद्धारा जारी शोक वक्तव्य

                                                                  शोक वक्तव्य !
मिति – २०७५/०५/१३
सल्यान जिल्लाको बागचौर नगरपालिका वडा नंं. ४ सेतीगुँरासमा गएराति साढे ९ बजे घर भत्किदा एकै घरका ५ जना रामसिंह बि.क., उहाँकी श्रीमती रामकली विक, छोरीहरु गंगा विक र प्रमीला विक तथा छोरा रुपलाल विकको दुःखद् निधन भएको र घर एवं घरको सामान क्षति भएको खबरले अत्यन्त मर्माहत भएको छु ।
यसरी नै अबिरल बर्षासँगै आएको पहिरोको कारण सल्यानको छत्रेश्वरी २ दमाचौर दहखोलामा मंगलबार स्थानीय यामबहादुर ओली, लक्ष्मण केसी र प्रेम केसीको घरमा पूर्णरुपमा क्षती पु¥याएको र घर भत्किदा यामबहादुर ओलीको परिवारका ८ जना, लक्ष्मण केसीको परिवारका ५ जना र प्रेम केसीको परिवारका ३ जना गरी १५ जना बिस्थापित भएको, घरमा रहेका सामान क्षति भएको कुराले दुःखी बनाएको छ । साथै स्थानीय महेन्द्र वली, तोकमान वली, चाँदनसिंह वली, गणेश कुमार वली, राकेश पुन र गणेश खड्को घरपनि उच्च जोखिममा रहेको खबरले गंभिर बनाएको छ ।
यी घटनाहरुप्रति कर्णाली प्रदेश सरकारको गंभिर ध्यानाकर्षण भएको छ । सरकारको तर्फबाट मृतकका परिवार, विस्थापित र गंभिर जोखिममा रहेका नागरिकको लागि आवश्यक राहत सहयोगको व्यबस्था गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । कर्णाली प्रदेश सरकारको तर्फबाट र जन प्रतिनिधिको नाताले मेरो तर्फबाट सबै मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली तथा घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । दुःखद् घटनाबाट पीडितहरुको लागि उद्धार तथा आवश्यक सहयोग गर्नका लागि सम्बन्धित सरकारी निकाय, स्थानीय सरकार, विभिन्न संघसंस्था र व्यक्तिहरुसँग हार्दिक अनुरोध गर्दछु ।
प्रकाश ज्वाला
मन्त्री, आर्थिक मामिला तथा योजना
कर्णाली प्रदेश सरकार तथा प्रदेश सभा सदस्य, सल्यान २


ताजा समाचार