Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

बाढी पहिरोले जाजरकोटमा १४ जनाको ज्यान गयो, डेलिकेशन लिएर स्थानीत तहका नेता पुगे काठमाण्डौं

जाजरकाेट,१३ भदाै ।  जाजरकोट जिल्लाका बिभिन्न ठाउँमा यसबर्ष गएको बाढी र पहिरोमा परेर १४ जनाको ज्यान गएको छ भने, करोडौंको धनसम्पती र भौतिक संरचनाहरु नष्ट भएका छन् । बिभिन्न समयमा जिल्ला भरि गएको बाढी पहिरोमा परि १४ जनाको ज्यान गएको हो भने, करोडौंको धनसम्पती र भौतिक संरचनाहरु नष्ट भएका हुन ।

गत साउन ४ गते राती गएको पहिरोमा परी जुनीचाँदे गाउँपालिका–६ बस्ने भक्तबहादुर वुढाको घर पहिरोले पुरिएर ५५ बर्षिय भक्तबहादुरकी श्रीमती ललि वुढा र ९ बर्षिय छोरी सृजना बुढाको घटनास्तलमै मृत्यु भएको थियो भने, भक्तबहादुर सहित घरका अन्य तीन सदस्य घाईते भएका थिए । उपचारपछि उनीहरुको स्वास्थ्य अबस्थामा सुधार आएको थियो ।

उक्त पहिरोले बुढाको झण्डै ७ लाख ७५ हजार बराबरको धनसम्पती नष्ट भएको जिल्ला विपद ब्यबस्थापन समिति सचिवालयको रेकर्डमा उल्लेखछ । प्रकोप पिडित उद्धार र राहत सम्बन्धी मापदण्ड, छैटौं संशोधन–२०७४ बमोजिम जिल्ला विपद ब्यबस्थापन समिति, जाजरकोटले मृतकका आफन्तलाई प्रतिमृतक १ लाख र तत्काल गुजराका लागि पिडित परिवारलाई १० हजार राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए । उक्त बुढा परिवारलाई कर्णाली प्रदेश सरकारले प्रतिमृतक २५ हजार र जुनीचाँदे गाउँपालिकाले प्रति मृतक २५ हजार राहत उपलब्ध गराएको थियो ।

त्यसैगरि गत साउन २० गते बिहान गएको पहिरोले भेरी नगरपालिका–३ बस्ने तिर्थराज बोहरा र गोपाल सुनारको घर पुरिएपछि २५ बर्षिय शितली लुहार, १० बर्षिय रन्जना लुहार, ७ बर्षिय मनिषा लुहार, ३ बर्षिय भगवती लुहार, ५ बर्षिय नज्मा बोहरा, १३ बर्षिय नरेन्द्र परियार, ११ बर्षिय नविन परियार, ५ बर्षिय दशरथ परियार र ११ बर्षिय गोविन्द परियार गरि जम्मा ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने, लालबहादुर लुहारलाई तत्काल उद्धार गरि जाजरकोट अस्पतालमा उपचार पश्चात लुहारको स्वास्थ्य अबस्थामा सुधार आएको थियो ।

उक्त पहिरोवाट ९ घर परिवार प्रभावित भएका थिए भने, झण्डै २५ लाख बराबरको धनसम्पती नष्ट भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ । उक्त पहिरोमा परि ज्यान गुमाएका ९ जनाका आफन्तलाई जिल्ला विपद ब्यबस्थापन समितिका तर्फवाट जनही १ लाख, पहिरोले पुरिएका घर धनीलाई जनही २५ हजार जोखिम अबस्थामा रहेका घरपरिवारलाई अबस्था हेरी ८ हजार देखि १५ हजारसम्म राहत वितरण गरिएको प्रजिअ बस्नेतले जानकारी दिए ।

त्यसैगरि उक्त पहिरोवाट ज्यान गुमाएका ९ जनाका आफन्तलाई कर्णाली प्रदेश सरकारले जनही २५ हजार, समाजसेवी तथा निर्माण ब्यबसायी रत्नबहादुर खड्काले जनही ३० हजार, नेपाल रेडक्रस सोसाईटी जाजरकोट शाखाले गैरखाद्य सामाग्री, उद्योग बाणिज्य संघ जाजरकोटले एकमुष्ट २२ हजार ५ सय राहत उपलब्ध गराएको थियो । त्यसैगरि घटना घट्नु पूर्वनै आमा बाबु गुमाई सकेका र उक्त घटनामा एक दाई र एक भाई गुमाएका ८ बर्षिय बालक सुरेन्द्र परियारको लालन, पालन, शिक्षा, दिक्षाको सम्पूर्ण ब्यबस्था गर्ने गरि जिल्ला प्रशासन कार्यालयको सिपारिसमा एस ओ एस बालग्राम सुर्खेतमा भर्ना गरिएको प्रजिअ बस्नेतले जानकारी दिए ।

त्यसैगरी गत साउन २८ गते रातीको अबिरल बर्षाले आएको बाढीले बगाएर नलगाड नगरपालिका–७ का उमेश शाहीको मृत्यु भएको थियो । नलगाड नगरपालिकाका विभिन्न वडाहरुमा २८ गते देखि ३० गतेसम्म आएको बाढी, पहिरो र भु–क्षयले २६ वटा घर पूर्णरुपमा बगाएको थियो भने, २५ घरमा आँशिक क्षती पुर्याएको थियो । ४३ घरपरिवार विस्थापित भएका छन् भने, ८२ घरपरिवार उच्च जोखिममा रहेका छन् । उक्त बाढी, पहिरो र भु–क्षयले ३ वटा मिल, ४५ वटा पानीघट्ट, ३ वटा ट्रस्टवृज पुल, २ वटा काठका पुल, ५ वटा गुम्ती पसल वगाएको छ भने, १ वटा झालुङ्गे पुलको पिल्लर कटान गरि क्षेती पुर्याउनुको साथै झण्डै १ सय ६ रोपनी जग्गामा लगाएको ४४ घरपरिवारको धान, मकै, अलैची बाली पुर्णरुपमा नष्ट गर्नुको साथै जग्गानै बगाएको छ ।

नलगाड नगरपालिकाका अनुसार झण्डै १६ करोड बराबरको धनसम्पती तथा भौतिक संरचनाहरु नष्ट भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ । नलगाड नगरपालिकामा पनि जिल्ला बिपद ब्यबस्थापन समितिका तर्फवाट मृतकका आफन्जनलाई १ लाख राहत उपलब्ध गराईएको प्रजिअ बस्नेतले जानकारी दिएका छन् । बाढी पहिरोमा परि खाद्यान्न, लत्ताकपडा लगाएत पूर्णरुपमा घर नष्ट भई विस्थापित घरपरिवारलाई जनही ५० हजार, आंशिक रुपम घर क्षेती भई बिस्थापित भएकाहरुलाई जनही २० हजार दरले राहत वितरण भईरहेको प्रजिअ बस्नेतले जानकारी दिए ।

त्यसैगरि उक्त बाढी पहिरो पिडितहरुलाई नेपाल रेडक्रस सोसाईटी जाजरकोट शाखाले गैरखाद्य सामाग्री बितरण गर्नुको साथै विस्थापित घर परिवारहरुलाई त्रिपाल वितरण गरेको छ । त्यसैगरी नलगाड नगरपालिकाका तर्फवाट क्षेतिका प्रकृति हेरी राहत वितरण गर्नुको साथै बाढी, पहिरो तथा भु–क्षेयबाट भएको क्षेतीको स्थलगत अध्ययन, अबलोकन गरि राहत तथा भौतिक पुर्वाधार निर्माणको माग सहित संघीय सरकारसंग डेलिकेशन लिएर काठमाण्डौं पुगेको छ ।

त्यसैगरि यही भदौ २ गते जुनीचाँदे गाउँपालिका–४ का ५ बर्षिय महेश चदाराको बाढीले बगाएर मृत्यु भएको छ भने, ४ गते भेरी नगरपालिका–१ की १३ बर्षिय पुष्पा चदाराको बाढीले बगाएर मृत्यु भएको छ । उक्त मृतकका आफन्तलाई जिल्ला विपद ब्यबस्थापन समितिका तर्फवाट जनही १ लाखका दरले राहत वितरण गरिएको प्रजिअ बस्नेतले जानकारी दिएका छन् ।


ताजा समाचार