Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

नेपाल एसियाडमा पदकविहिन हुनबाट बच्यो, कुन खेलमा कुन पदक पक्का ?

काठमाडौँ । इन्डोनेसियामा जारी एसियाली खेलकुद प्रतियोगितामा पदकविहीन बनेर फर्किनुपर्ने नेपालको चिन्ता टरेको छ ।

मेन्स प्याराग्लाइडिङतर्फ क्रस कन्ट्रीमा नेपालले कम्तिमा कास्य पदक पक्का गरेको हो । चौथो चरणको खेल सकिँदा नेपाली प्याराग्लाइडर ८५९१ अंकसहित दोस्रो स्थानमा रहेपछि कम्तिमा कास्य पदक पक्का भएको हो । यस इभेन्टर्फको फाइनल बुधबार हुने भएको छ।

पुरुष क्रस कन्ट्रीमा चौथो राउण्डको खेल सकिँदा नेपाली टोली दोस्रो स्थानमा पुगेको हो । नेपालको पुरुष टिमका खेलाडीहरु विमल गौतम, सुशील गुरुङ, विमल अधिकारी, युकेश गुरुङ र विशाल थापाले यसमा प्रतिस्पर्धा गरेका थिए ।

पहिलो र दोस्रो राउण्डमा नेपाल तेस्रो स्थानमा थियो । तेस्रो राउण्डमा नेपाल चौथो स्थानमा झर्यो । चौथो राउण्डमा नेपालले कमब्याक गर्दै दोस्रो स्थानमा पुगेको हो ।

नेपालले प्रतिस्पर्धा गरिरहेको मेन्स क्रस कन्ट्रीमा जापान पहिलो स्थानमा छ । बुधबार हुने क्रस कन्ट्रीको अन्तिम राउण्डको खेलबाट पदक जित्ने देशको छिनोफानो हुनेछ ।

नेपाली टोलीका म्यानेजर शैलेन राउतले भने नेपालले स्वर्ण पदक जित्न सक्ने दाबी गरेका छन् । नेपालले यसअघि पदक जित्ने भनिएका कराँते, तेक्वान्दो र बक्सिङमा नराम्रो हार भोगिसकेको छ।

नेपालले भाग लिएको प्याराग्लाइडिङतर्फ ६ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा भइरहेको छ। अहिलेसम्म यसतर्फ चारवटा स्वर्णको छिनोफानो भइसकेको छ।


ताजा समाचार