Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

बिम्स्टेक सचिवस्तरीय बैठक काठमाडौंमा सुरु, विभिन्न एजेन्डामा छलफल हुदै

काठमाडौं। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक) को वरिष्ठ अधिकारी (सचिवस्तरीय) को १९औं बैठक आज काठमाडौंमा सुरु भएको छ ।

बिम्स्टेक शिखर सम्मेलनअघि सचिव र मन्त्रीस्तरीय छुट्टाछुट्टै बैठक बस्ने प्रावधानअनुसार यो बैठक बसेको हो । बैठकमा आठभन्दा बढी एजेन्डामा छलफल भैरहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा सहभागी हुन भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्यान्डका विदेशसचिवहरु सोमबार नै काठमाडौं आएका थिए । बिम्स्टेकमा नेपालसहित सात सदस्य छन्। सचिवस्तरीय बैठकले पास गरेका एजेन्डामाथि बुधबार बस्ने बिम्स्टेक मन्त्रीस्तरीय बैठकमा छलफल गरिने र ती एजेन्डा बिहीबार र शुक्रबार बस्ने बिम्स्टेक सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखको बैठकमा लगिनेछ। सहमति जुटेका समझदारी तथा सम्झौतापत्रमा अन्तिममा हस्ताक्षर गरिनेछ।

बिम्स्टेक देशका वरिष्ठ अधिकारीको बैठक आज बिहान ९ बजे होटल सोल्टीमा सुरु भएको छ । बैठकमा अध्यक्षता परराष्ट्र सचिव शंकर दास वैरागीले गरिरहेका छन् । बिम्स्टेकका महासचिव शहिदुल इस्लामले बैठकमा विशेष सम्बोधन गरेका छन् भने त्यसपछि बैठकमा एजेन्डामाथि केन्द्रित भएर छलफल भइरहेको छ । बैठकमा व्यापार तथा लगानी, यातायात तथा सञ्चार, प्रविधि, अन्तरदेशीय अपराध तथा प्रतिआतंकवाद, कृषि, गरिबी निवारण, जनस्वास्थ्यलगायतका मुद्दालाई प्रमुख एजेन्डा बनाइएको छ।

बैठकमा बिम्स्टेक महासचिवले प्रतिवेदन प्रस्तुत गर्ने जनाइएको छ। त्यसपछि बिम्स्टेकले हासिल गरेको प्रगतिको समीक्षा गरिनेछ। बैठकमा भन्सारसम्बन्धी कार्यदलले तयार पारेको प्रतिवेदनमाथि पनि छलफल हुने बताइएको छ। यस्तै बिम्स्टेक यातायात कनेक्टिभिटी कार्यदलले तयार पारेको प्रतिवेदनमाथि पनि बैठकमा छलफल हुनेछ। बिम्स्टेक मोटर भेइकल एग्रिमेन्ट र बिम्स्टेक कोस्टल सिपिङ एग्रिमेन्टमा पनि छलफल हुने जनाइएको छ।

बिम्स्टेक विज्ञ समूहले तयार पारेको ‘टेक्नोलोजी ट्रान्सफर फेसिलिटी ९टिटिएफ० प्रतिवेदन, प्रतिआतंकवाद तथा अन्तरदेशीय अपराधसम्बन्धी प्रतिवेदन, कृषिक्षेत्रमा सहयोगसम्बन्धी प्रतिवेदन, गरिबी निवारणसम्बन्धी प्रतिवेदन, परम्परागत चिकित्सापद्धतिसम्बन्धी प्रतिवेदन पनि छलफलका लागि बैठकमा पेस गरिने परराष्ट्रले जनाएको छ।

राष्ट्प्रमुखको नेपाल आउने यस्तो छ तालिका :

बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन म्यानमारका राष्ट्रपति विन मिन्ट नेपाल आउँदैछन्। नेपाल आएकै दिन नेपाल र म्यानमारबीच द्विपक्षीय बैठक हुनेछ । बैठकमा दुवै देशका प्रधानमन्त्री सहभागी हुनेछन्। शिखर सम्मेलनमा सहभागी हुन बुधबार श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना, भुटानको काम चलाउ सरकारका प्रमुख छिरिङ वाङचुक र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत काठमाडौं आइपुग्नेछन्। यस्तै भदौ १४ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आइपुग्ने कार्यक्रम छ।

बिम्स्टेक सदस्य राष्ट्रका विदेशमन्त्रीहरु मंगलबार काठमाडौं आउँदैछन्। बिमस्टेक शिखर सम्मेलनअघि हुने विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सदस्य राष्ट्र भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यानमार र थाइल्यान्डका विदेशमन्त्री तथा विदेश राज्यमन्त्री मंगलबार काठमाडौं आउन लागेका हुन्।

बुधबार काठमाडौंमा बिमस्टेकका विदेशमन्त्रीहरुको १६औं बैठक बस्दैछ । बैठकले हस्ताक्षरका लागि तयार पारिएका समझदारी तथा सम्झौतापत्र र काठमाडौं घोषणापत्रलाई अन्तिम रुप दिनेछ।


ताजा समाचार