Loading... आजः बुधबार, कार्तिक १२, २०७७

छेडागाडमा नुन र साबुनले बढायो सुत्केरी

जाजारकोट । छेडागाड नगरपालिका–११ स्थित झाप्रा स्वास्थ्य चौकीमा संस्थागत सुत्केरी हुने महिलाहरुको संख्या बृद्धी भएको छ । संस्थागत सुत्केरी हुन स्वास्थ्य संस्थामा आउने महिलाहरुलाई प्रोत्सान सामाग्रीका रुपमा मातृ नवजात शिशु तथा बाल स्वास्थ्य परियोजनाले आयोडिनयुक्त नुन र सावुन वितरण गर्ने गरेपछि संस्थागत सुत्केरी हुने महिलाहरुको संख्यामा बृद्धी भएको हो ।

छेडागाड नगरपालिकाको वडा नं. १० र ११ सेवा क्षेत्र रहेको झाप्रा स्वास्थ्य चौकीमा आब २०७३÷०७४ मा संस्थागत सुत्केरी हुने महिलाहरुको संख्या ७ मात्र रहेको स्वास्थ्य चौकीको रेकर्ड छ । रेर्डमा आब २०७३÷०७४ मा झाप्रा स्वास्य चौकीमा संस्थागत सुत्केरी हुनेमा राधिका सुनार, रामशिला थापा, ज्ञानी गिरी, मोती कुमारी योगी, कल्पना विटालु, भावना थापा र बिष्णु सिंह रहेका छन् ।

सन् २०१६ जुलाई देखि जाजरकोटको छेडागाड नगरपालिकाको झाप्रा, पजारु, सुवानाउली र दशेरा, जुनीचाँदे गाउँपालिकाको मजकोट, कोर्ताङ र गर्खाकोट, कुशे गाउँपालिकाको ढिमे, अर्छानी र टालेगाउँमा मातृ नवजात शिशु तथा बाल स्वास्थ्य परियोजनाले काम गर्न थालेपछि झाप्रा स्वास्थ्य चौकीमा संस्थागत सुत्केरी हुने महिलाहरुको संख्यामा बृद्धी भएको स्वास्थ्य चौकीका ईन्चार्ज लोकेन्द्र खत्रीले जानकारी दिए ।

झाप्रा स्वास्थ्य चौकीमा आब २०७४÷०७५ मा संस्थागत सुत्केरी हुने महिलाहरुको संख्या ७ जनावाट ४० जनामा पुगेको ईन्चार्ज खत्रीको भनाई रहेको छ । २०७४÷०७५ मा झाप्रा स्वास्थ्य चौकीमा संस्थागत सुत्केरी हुने महिलाहरुमा नैनसरा शाही, लक्ष्मी टमट्टा, कलावती रावत, पशुपति चदारा, सारदा न्यौपाने, सिता गिरी, बिमा शर्मा, तुल्सी खत्री, कल्पना सुनार, धनरुपा वर लगाएतका ४० जना महिला रहेका छन् भने, आब २०७५÷०७६ को साउन महिनामा मात्र झाप्रा स्वास्थ्य चौकीमा संस्थागत सुत्केरी हुने महिलाहरुमा कमला पुन, गौरी परियार, धनसरा नेपाली र आशा चौधरी गरि जम्मा ४ जना महिला रहेका छन् ।

सन् २०१८ डिसेम्बर सम्म सञ्चालन हुने मातृ नवजात शिशु तथा बाल स्वास्थ्य परियोजनाले प्रत्येक आमा समुहलाई १० हजारका दरले १३ वटा आमा समुहलाई आकास्मिक स्वास्थ्य कोष स्थापना गरेको मातृ नवजात शिशु तथा बाल स्वास्थ्य परियोजना जिल्ला संयोजक चन्द्रसिंह सेजुवालले वताए । स्वास्थ्य उपचारका लागि आर्थिक रुपले विपन्न प्रत्येक महिला तथा बालबालिकालाई दुई हजारका दरले तीन महिना पछि कोषमा फिर्ता गर्ने गरि निरव्याजे ऋण उपलब्ध गराउने गरेको संयोजक सेजुवालको भनाई रहेको छ ।

परियोजनाले आफ्नो कार्य क्षेत्रभित्र ६० वटा आमा समुहहरुलाई स्वास्थ्य शिक्षा सम्बन्धि कक्षा सञ्चालन गर्नुका साथै घरमुली र धामी तथा झाँक्रीहरुलाई पनि स्वास्थ्य शिक्षा सम्बन्धि कक्षा सञ्चालन गर्ने गरेको परियोजना अधिकृत रोहित मुल्मी श्रेष्ठको भनाई रहेको छ । स्वास्थ्य शिक्षा सम्बन्धि कक्षा लिएका घरमुली, धामी तथा झाँक्रीहरुले पनि महिला तथा बालबालिकाहरुलाई उपचारका लागि स्वास्थ्य संस्थामा पठाउने गरेको झाप्रा स्वास्थ्य चौकीमा कार्यरत अनमी रमा शाहले वताईन ।

बच्चा जन्मनु पहिले ४ पटक गर्भजाँच गराउने, संस्थागत सुत्केरी हुन, बच्चाको आमाले ३ पटक उत्तर प्रसुती जाँच गराउने, बच्चाको उमेर अनुसार सबै खोप लगाउन, बच्चाको नियमित बृद्धी अनुगमन गर्न, बच्चाको उमेर अनुसारको नाप तथा तौल लिन स्वास्थ्य संस्थामा पुग्ने महिलाहरुलाई प्रोत्सान सामाग्रीका रुपमा परियोजनाले आयोडिनयुक्त नुन र सावुन वितरण गर्ने गरेको अधिकृत श्रेष्ठले जानकारी दिए । उक्त प्रोत्सान स्वरुप वितरण गरिने आयोडिनयुक्त नुन र सावुन जस्ता सामाग्री वितरणले संस्थागत सुत्केरी हुने महिलाहरुको संख्या बृद्धी भएको त्यहाँका स्थानीयहरुले वताउन थालेका छन् ।


ताजा समाचार