Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

कोजीलाई हटाउँदै बालगोपाललाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी

काठमाण्डाै । बालगोपाल महर्जनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमको कार्यवाहक प्रशिक्षकमा नियुक्त गरेको छ।

सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको एन्फाको आपतकालीन बैठकले मुख्य प्रशिक्षक ग्यातुकी कोजीलाई प्रशिक्षकको जिम्मेवारीबाट मुक्त गर्दै कार्यवाहक प्रशिक्षकमा बालगोपाल महर्जनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि महर्जन राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकका रूपमा काम गर्दै आएका थिए।

अवैधरूपमा नेपाल बस्दै आएका कोजीलाई अध्यागमन विभागले एक वर्षसम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाएपछि एन्फाले आसन्न साफ फुटबललाई लक्षित गर्दै महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो।

कोजी नेपाल प्रवेश गर्न नपाउने भएपछि आसन्न साफ फुटबलको नेतृत्व कसले लिने भन्ने विषयमा अन्यौलता सिर्जना भएको थियो।

महर्जनले अब बंगलादेशमा हुने साफ फुटबलमा कार्यवाहक मुख्य प्रशिक्षकको रूपमा नेपाली टिमको नेतृत्व गर्नेछन्। कोजीको प्रशिक्षणमा रहेको नेपाली युवा टोलीले एशियाडमा खराब नतिजा निकालेको थियो।

यसअघि एन्फाले राष्ट्रिय फुटबल टिम समाल्ने गरी २०७२ साल फागुनमा मुख्य प्रशिक्षकमा कोजीलाई दुई वर्षका लागि नियुक्त गरेको थियो।

साफ प्रतियोगिता जिताउने जिम्मेवारीसहित एन्फाले गत फागुनमा कोजीसँग सम्झौता नविकरण गरेको थियो। कोजीको नेतृत्वमा नेपालले सोलिडारिटी कपको उपाधि उचालेको थियो।

एन्फाले कोजीको नेपालमा भिसाको समस्या भएको बताएको छ । ‘प्रशिक्षण र अन्य कुराका लागि पनि कोजीले नेपाल आएर टोली सम्हाल्ने वातावरण भएन । हामीले इन्डोनेसियाको खेललाई पनि राम्ररी नै विश्लेषण गरेपछि नयाँ निर्णय गरेका हौं’ एन्फा प्रवक्ता किरण राईले भने ।

इन्डोनेसियामा २३ वर्षमुनिको टोली सम्हालेका उनी अब नेपाल फर्कने छैनन् । उनलाईसाफ च्याम्पियनसिपका लागि सिधै बंगलादेश पठाउने भनिएपनि त्यसबारे कुनै निर्णय भएको छैन ।

साफ च्याम्पियनसिप सेप्टेम्बर ४ देखि बंगलादेशमा आयोजना हुँदै छ । जसमा नेपाल भुटान, बंगलादेश र पाकिस्तानसँगै समूह ‘ए’ मा रहेको छ ।


ताजा समाचार