Loading... आजः शुक्रबार, कार्तिक ७, २०७७

संसारमै शहनशील डाेल्पाली ।

डोल्पा कर्णाली प्रदेशमा पर्ने एक बिकट अनि पिछडिएको जिल्ला हो ।डोल्पालाई कर्णालीको कर्णाली भन्दा पनि खासै फरक नपर्ला ।भौगोलिक हिसाबमा नेपालकै ठुलो जिल्ला हो डोल्पा हो तर नझुक्किनु होला बिकास समृद्धिका हिसाबमा चाहीँ नेपालमै पछि परेको जिल्ला भन्दा कोही डोल्पाली महापुरुषको मन दुख्ने कुरै छैन् ।हिजो पञ्चायतकालमा डोल्पामा पचास साठी, दुईसय रुपैयाले थुप्रै बिकास हुन्थ्यो ।

त्यो बजेटले भिर छिचोलेर घोरेटो बाटो खनिएका थिए,सुख्खा जमिन भिजाउनकालागि ढुङगा(जाप्ला) काटेर नहर कुला खनिएका थिए ।ती बिकासले सर्वसाधारण सन्तुष्ट थिए ।तलको माटो माथि माथिको माटो तल गरेरै जीवन गुजारा गरेकै थिए ।अझैपनि पञ्यातकालिन बिकासले समृद्ध नेपालका नागरिकको मुख रुजेको छ,पेट भरिएको छ ।एक ठाँउबाट अर्को ठाँउको यात्रामा पाईला रोकिएको छैन् ।पञ्चायत कालमामा भलै शासक सोचका मान्छे थिए तर बिकास निर्माण आफ्नै लागि हो सोच्थे ।आएको बजेटको सहि सदुपयोग हुन्थ्यो ।

केही पैसा नाफाखाने कुरा आफ्नो ठाँउमा थियो तुलनात्मक रुपमा अहिलेका शब्य अनि बिकास प्रेमी महानुभावहरुकालागि सयौँ गुणा कम हो ।हिजो पञ्चायतकाल देखि डोल्पाको नेतृत्व बिभिन्न शासक बर्गको हातमा पुग्यो ।राजनितिक बाजा बजाउन उनीहरु निक्कै सिपालु थिए अहिलेका नेतृत्व अझ बडि माहिर छन् ।डोल्पालीलाई आफ्नै घरमा भएको मादलले चाच्न मन लाग्दैन् अझै पनि अर्काको घरमा भएको गितार खोज्नु डोल्पालीको नयाँपन हो ।जुन कुराको ज्वलन्त उदाहारण डोल्पाली जनताको भारी जनमत पाएर निर्वाचित पर्यटन राज्य मन्त्री धन बहादुर बुढाले राजिनामा गरेर उप निर्वाचन गर्दै आयातित अस्विकृत नेता बामदेब गौतमलाई चुनाव लडाउने भन्ने कुरा पनि होे ।

यदि साँचो हो भने डोल्पाली स्वाभिभान माथि कालो दाग लगाउने प्रयास नहोस जनमतको अनाधार गर्ने अधिकार कसैलाई छैन् ।हिजो देखिनै नेतृत्वले डोल्पालीलाई आफ्नै तालले नचाई दिए ।डोल्पालीहरु जनताहरु पनि जाँख पाखुरै सिमल्दै खुबै रमाए ।नाच्नकालागि वल्ला पल्ला घरका छिमेकी तानेर ठुलै समुहमा नाच्ने बानी पारे ।त्यतिमात्रै होईन् डोल्पालीलाई पल्ला घरका काकाले गाएको गीतको सुरुताल अझै सकिएको छैन् ।रहर अझै मरेको छैन् ।अझै हामि नाच्दै छौँ ।यो पञ्चायितकालिन संस्कार हो ।त्यतिमात्र होईन् शासक बर्गबाट तक्मा पाउन पनि छाडेका छैनौँ ।कहिले भेडाको त कहिले चारखुट्टे जनावरको ।यो हाम्रै मिहेनतको फल थियो ।

अन्धभक्तिको पराकाष्ठ थियो ।जो कायम भईराख्यो ।अझै कायम हुन्छ कि भन्ने ठुलो चिन्ता छ ।मैले पटक–पटक भने गरेको छु डोल्पामा बिकास भएन्,शुसासन छैन्,पारदर्शीता छैन्,हाम्रा नेतृत्वले के गरे,जोशिला युवाहरु कता गए ।यो कुरामा म मात्रै होईन् डोल्पाली जनता राम्रैसँग जानकार छन् ।केबल स्वार्थको माड लागेर मुख बन्द भएको मात्रै हो ।जबसम्म शासक बर्गले लगाईएको क्षणिक स्वार्थरुपी गुलामिको माड खुल्दैन् तबसम्म डोल्पामा बिकासको परिकल्पना गर्न मुश्किलै पर्ला ।नेतृत्व बर्गलाई पक्कै नराम्रो लाग्ला,खाली बारम्बार बिकास भएन भन्दा ।तर म एक सचेत युवाको हैसियतले बारम्बार भनेर पनि थाक्ने छैन लेखेर थाक्ने छैन् डोल्पा समृद्धीको सवालमा ।

बिकास भन्ने कुरा जादुगरको छु मन्तरे छडि पक्कै होईन्,छु मन्तर भन्ने बित्तिकै बाटो घाटा खुल्ने,पहर भुट्ने,हस्पिटर,स्कुल ठडिदैनन् ।तर बिकास भएको छ भन्नु त्यो पनि होईन् पञ्चायतकालदेखि लोकतन्त्र हुँदै गणतन्त्र आउन्जेलसम्म थाप्लोमा नाम्लो नछुट्नु,गुणस्तरिय शिक्षा लिन तराई झर्नु,सिटामोल नपाएर ज्यानै गुमाउनुपर्ने,शासकको शासनको सामान्तको भारी सँधै बोकिरहनु पर्ने ।देशमा बिभिन्न ब्यबस्था फेरीय नियति फेरीएनन् ।डोल्पाले पनि थुप्रै नेतृत्व फेर्यो तर डोल्पालीको दुर्गमता फेरीएन् ।दैनिकी फेरिएन् ।

दुखका दिन गएनन् ।अहिले पनि खानेपानीको अभावमा काकाकुल छन् कतिपय बस्तीहरु ।सामान्य उपचार नपाएरै मनुपर्ने स्थिती अझै बिद्यामान छ ।दुखलाग्छ नेतृत्वहरुको उदासिनता प्रति ।जनताप्रति उत्तरादायित्व पुरा नगरेको देख्दा ।हिजो पनि राज्यसँग बोलेनन् डोल्पालीको आवाज ।रैवारै भएरपनि पु¥यायनन् डोल्पालीको दुख पिडा ।त्यो जिम्मेवारी कसको हो नेतृत्वहरु यो प्रश्न तपाईहरुलाई ।के बिकास भनेको गिद्धले भेटाएको सिकार जस्तै हो मनपरि तरिकाले लुछाचुँडी गरेर बिकास खानु हो ?के बिकास भनेको उपभोक्ता समिति बन्न हानाथाप गर्नु हो? यहि कुरा सिकाईयो डोल्पालीलाई ।बिकास ल्याउने उपभोक्ता समिति बनाउने कमिशन खाने ।

यो हिजो देखिकै सँस्कार हो । यहि कुरा सिकाईयो डोल्पामा । यस्ता कुराको छाप अमिट रुपमा डोल्पाली माझ रहिरह्यो ।के लोकतन्त्रमा बिकास भनेको हप्तौ एअरपोर्टमा जहाज कुर्नु हो ?के बिकास भनेको एउटै ब्यक्ति चारवटा उपभोक्ता समितिमा बसेर बजेटको दुरुपयोग गर्नु हो ? यहिनै सिकेकाछन् डोल्पालीले यहिँ संस्कार सिकाएकाछन् नेतृत्व अनि जनप्रतिनिधिले ।बिकास भनेको कुनै ठाँउ क्षेत्रको सकरात्मक परिवर्तन हुनु हो ।जनताको दैनिकीमा सहजता आउनु पनि बिकासनै हो ।त्यो हुन सकिरहेको छैन् ।मैले नेतृत्वलाई के भनेको छु भने डोल्पालाई सपनाको स्विजरल्याड नबनाउ,समृद्धि सपनाको आश्वासन नदेउ डोल्पालाई डोल्पाकै हैसियतमा राख गाँउ–गाँउमा कर्मचारी पठाई देउ,सिटामोलको राम्रो ब्यबस्था गरिदेउ,एक अर्काबिच हेलो भन्न कुना कन्दारामा मोवाईल टावर राखिदेउ,एकठाँउबाट अर्को ठाँउमा जान बाटोको ब्यबस्था गरिदेउ,आफ्नो र परिवारको मुखमा माड लगाउन सँधैभरी थाप्लोमा नाम्लो र पिठियुमा भारी बोक्ने अवस्था हटाईदेउ रोजगारीका अवसर सिर्जना गरिदेउ हाम्रा लागि यहि बिकासनै बिपनाको स्विजरल्यान्ड हुनेछ ।

यो भन्दा अगाडी के भन्न चाहान्छु भने डोल्पामा बजेटपार्ने होटबाजी नगरि देउ ।किनभने बजेट खन्यायर मात्रै बिकास हुनेभए हिजो देखि अहिलेसम्म खर्वौ बजेट डोल्पा बिकासकालागि बिनियोजित भईसकेको छ ।तर पाँच प्रतिशत बिकासहुन सकेको छैन् ।यो कुरा मैलै आरोपमात्रै लगाएको होईन् ।यथार्त हो । हिजोको डोल्पा र अहिलको डोल्पा नियालेका अग्रजहरुलाई सोध्नुस डोल्पामा कति बिकास भयो भन्ने हकमा ।जनता अब मान्नेवाला छैनन् ।मन्त्री,सांसद नेता,जनप्रतिनिधिनै हुनुस ।तपाईहरुलाई जनताले नै जिताएका हुन् ।बिकासको आसाले जिताएका हुन् ।जनताका आशा अपेक्षा पुरागर्ने या नगर्ने तपाईहरुकै हातमा छ ।उनीहरुको बिकास र समृद्धीको सपना पुरागर्ने कि नगर्ने तपाईहरुकै हातमा छ ।यस बर्ष पनि डोल्पामा थुप्रै बिकास आएको छ ।

कर्णाली प्रदेशमा सबैभन्दा धेरै बजेट डोल्पामा पारियो भन्दै संसदमा बिरोध समेत भएको थियो । सबैभन्दा धेरै बजेट आउनु हामि डोल्पालीको लागि चरम खुशिको कुरा हो ।तर हाम्रो खुशि त्यतिबेला हुनेछ आएजत्तिको बिकास बजेटको रकम सहि सदुपयोग हुनेछ ।बिकास निर्माणकार्यले गति लिनेछ ।बजेट ल्याएपछि बिकास पनि गर्नुस ।जनताका समस्या बुझ्नुस ।कार्यकर्ता मुखि बिकास नर्गनुस नेता ज्युहरु,स्थायीय सरकार प्रमुख ज्युहरु ।यसैमा खुशी अनि सन्तृष्टि हुनेछन डोल्पाली जनताहरु । यि र यस्तै कार्यले तपाईको लोकप्रियताको बिजारोपण हुनेछ ।तपाईको चर्चा परिचर्चा देश बिदेसमा हुनेछ् ।संघियताका स्थानीय सरकारलाई पनि केही भन्न चाहान्छु ।अहिले डोल्पामा स्थानीय सरका प्रमुखहरुले बिभेदपुर्ण तरिकाले बिकास गरेका भन्ने जनगुनासाहरु आउन थालेकाछन् ।

बिकास बाँडफाडमा पनि राजनिति हुन्छ भन्ने कुरा आईरहको छ ।पहुँचको गन्ती हुन्छ गरे स्थानीय सरकारको बिकासमा भन्ने कुरा पनि नसुनिएका होईनन् ।बिपक्षि जनाताका गुनासा सुनिँदैन् भन्ने गुनासा पनि थुप्रै आएका छन् ।जनप्रतिनिधि नेता होईन् शासक भएका छन् ।यो राम्रो पक्ष पक्कै होईन् ।यिनै दिन देखाउन तपाईहरुलाई जनताले जिताएका होईनन् ।यसैलाई भनिँदैन सिँहदरवार गाँउ गाँउमा आएको । सबै जनतालाई समान रुपले हेर्नुस समानुपातिक बिकास गर्नुस ।जनताको सेवा प्रवाह चुस्त दुरुस्त पार्दिनिसु त्यसैमा स्थानीय सरकारको भलाई छ ।

जिल्लाका केही स्थानीय तहमा भोट हाल्ने कार्यकार्ताकालागि मात्रै बजेट छुट्याएको देख्दा सुन्दा अचम्म लाग्छ ।आफ्ना पक्षका मात्रैको कुरा सुन्ने गरेका गुनासा पनि चौतर्फि आईरहेकाछन् ।यो राम्रो पक्ष होइन् ।यदि यसो हो भने जनता आफैले तपाईहरुको पतनको बाटो पक्कै खन्ने छन् ।स्थानीय सरकार यस्तै दिन देखाउन गठन भएको त पक्कै होईन् होला ।होईन भने आवाश्यक्तामुखी बिकास होस ।समानुपातिक बिकास होस ।यहि डोल्पाली जनताको माग हो ।जनताहरु नेतृत्वहरुबाट बिकासको आशा गर्दै धेरै थाकिसके ।धेरैको आशा निराशामा परिणत भईसक्यो कतिपय अवसरबादीहरु बिरोधको बाजा बजाउँदै डोल्पालीको बिचारमाथि पनि प्रश्न चिन्ह खडागर्न थालिसके भ्रष्टाचार मौलाउँदै गएको छ ।जिल्लामा बिकाश शु–शासन दिउसै लाल्टीन बालेर खोज्नुपर्ने स्थिति छ ।

तर हामि जनता गुमनाम छौँ ।हामै्र अगाडी बिकास निर्माण कार्यहरु अलपत्र परेकाछन् ।जनताको कुलो खन्ने पैसाले टाठाबाठा भनाउँदाहरुको भुँडी फुलिसक्यो ।खेतबारीहरु सुक्काछन् ।बारम्बार बिकासको आश्वासन पाउँछौँ ।ती कहिल्यी पुरा भएनन् ।हामि टुलुटुल हेर्न बाध्य छौँ ।कहिल काँही लाग्छ हामि डोल्पाली संसारकै सहनशील सबैभन्दा धेरै शहनशील जस्तो लाग्छ ।हामी युवाहरु,जनताहरु, बुद्धीजीवी,समाजसेवीहरु समाजका भ्रष्ट,शोसक अनि झुटका खेती गरेर जनतालाई दास सोच्नेहरुलाई किन नाङ्गेझार पार्न सक्दैनौँ ।यिनिहरुलाई किन अदालतमा उभ्याउन सक्दैनौँ ।

सजायको भागीदार किन बनाउन सक्दैनौँ ।यहि कारणले हामि सम्मानित छौँ,बेलाबखतमा बिभिन्न बिधामा तक्मा पाई राखेका छौँ। कहिले काँही डोल्पाली जनताको सशनशिलता देखेर गर्भ लाग्छ ।यतिसम्म झुकेका छौँ कि झुक्दा झूक्दा मुन्टै भाँचिन लागे पनि थाहाँ पाउदैनौँ ।हाम्रै भाग लगाईएको भात खोसेर लग्दा पनि चुपचाप हुन्छौँ ।हाम्रो यस्तै शहनशिलता कायम भईराख्ने हो भने एक अवश्य डोल्पालीको नाम बिश्व रेकर्डमा लेखिनेट बिश्वकै शहनशिल नागरिक डोल्पाली जनता भनेर ।अब यस्तो नहोस डोल्पामा ।तीब्र बिकास भएको खवर सुन्न पाईयोस अखवारहरुमा डोल्पाकै बिकास र समृद्धीको बिषयमा पठ्न पाईयोस ।भ्रष्टाचार र कुशासनका बिरुद्ध आवाज निस्केको सुन्न पाईयोस ।

युवाबर्गहरुले आफ्नै सिप क्षमतामा र बल बुतामा बिश्वास गरेको बुझ्न पाईयोस ।आफु आफ्ना सन्तती बिरुद्ध बिकासका कुरा एकादेशमा थन्क्याउने कुरा सुन्न नपाईयोस ।आफ्नै गाँउठाउको बिकास बिरुद्ध औँला उठाउँदै परिवर्तनका बाहक युवाहरुलेनै नेतृत्वको गलत पक्षका ढाकछोप गरेर अन्धो भक्ति गरेको देख्न सुन्न नपाईयोस ।नेताहरुले पनि सपनाको स्विजरल्याडको सपना होईन् बिपनाको आधुनिक डोल्पा निर्माण गरेको देख्न पाईयोस ।शु–शासनयुक्त बिकासनै डोल्पाली जनताको चाहाना हो ।अहिलेलाई यत्ति नै लेख्छु ।
  लेखक रामचन्द्र न्यौपाने डोल्पा ।


ताजा समाचार