Loading... आजः सोमवार, फाल्गुन १७, २०७७
Trending

एसिया कप अबको लक्ष्य

काठमाडौं । ऐतिहासिक एकदिवसीय शृंखला खेलेर फर्किएको नेपाली टोलीका प्रशिक्षक र कप्तानले अबको लक्ष्य एसिया कप भएको बताएका छन्। भारत र पाकिस्तानको सिनियर टोलीसँग पहिलो पटक खेल्न पाउने अवसरको रूपमा रहेको एसिया कपको छनोटका लागि चाँडै नै तयारी थाल्ने पनि उनीहरूले बताए। कप्तान पारस खड्काले एसिया कप भारत र पाकिस्तानसँग खेल्ने नेपाली क्रिकेटप्रेमीको वर्षौंदेखिको सपना पूरा गर्ने महत्वपूर्ण अवसर भएको बताए।

‘एसिया कपसम्म पुग्न त्यति सजिलो छैन तर, यो भारत र पाकिस्तानसँग क्रिकेट खेल्न पाउने अहिलेसम्मको राम्रो अवसर हो’, कप्तान पारसले भने। एसिया कप आगामी सेप्टेम्बरको १५ देखि २८ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई)मा हुँदैछ। त्यसअघि यही अगस्ट २९ देखि सेप्टेम्बर ६ तारिखसम्म मलेसियामा हुने छनोट प्रतियोगिता जितेमा मात्र नेपालले एसिया कप खेल्ने अवसर पाउनेछ।

छनोट प्रतियोगिताको विजेता एक टोली मात्र एसिया कपका लागि छनोट हुनेछ। एसिया कपको छनोट प्रतियोगितामा नेपालसँगै हङकङ, यूएई, ओमान, सिंगापुर र मलेसिया भिड्दै छन्। छनोट प्रतियोगिताको विजेता टोली एसिया कपको समूहगत चरणमा भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा पर्नेछ। समूह ‘बी’ मा भने श्रीलंका, बंगलादेश र अफगानिस्तान परेका छन्।

नेपाली टोलीले यही छनोट प्रतियोगिता जित्दै एसिया कपको समूहगत चरणमा भारत र पाकिस्तानसँग खेल्ने योजना बनाएको हो। एसियाली स्तरमा हुने प्रतियोगितामध्ये एसिया कपमा मात्र भारत र पाकिस्तानले आफ्नो सिनियर टोली पठाउने गर्छन्। कप्तान पारसले छनोट प्रतियोगिता मुस्किल हुने भए पनि आफूहरूले त्यसकै लागि प्रतिस्पर्धा गर्ने तयारी गरेको बताएका छन्।

‘हाम्रो स्तरमा सबै टोलीले कडा चुनौती दिनेछन्। हङकङ, यूएई र ओमान सबै राम्रा टोली छन्। त्यसैले हामीसँग पनि ठूलै चुनौती छ’, पारसले भने, ‘आशा छ, हामी छनोट चरण पार गर्दै त्यो अवसर (भारत र पाकिस्तानसँग खेल्ने) प्राप्त गर्न सफल हुनेछौं।’

यसैगरी प्रशिक्षक जगत टमाटाले पनि नेपालका लागि एसिया कप महत्वपूर्ण प्रतियोगिता भएको बताए। उनले त्यसका लागि चाँडै नै तयारी सुरु गर्ने जानकारीसमेत दिए। ‘एसिया कप हाम्रा लागि अर्को महत्वपूर्ण प्रतियोगिता हो। त्यसैले हामी एसिया कप छनोटका लागि चाँडै नै बन्द प्रशिक्षण सुरु गर्दैछौं’, प्रशिक्षक टमाटाले भने, ‘हामीले श्रीलंकामा वैदेशिक प्रशिक्षण जाने भनेर आईसीसीलाई भनेका छौं। यद्यपि आईसीसीबाट जवाफ आइसकेको छैन।’

‘अहिले टोलीमा सिनियर र युवा खेलाडीको राम्रो संयोजन देखिएको छ। यो संयोजनले टोलीले राम्रो नतिजा पनि हात पारिरहेको छ’, प्रशिक्षक टमाटाले भने, ‘त्यसैले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने यो राम्रो अवसर हो।’ नेपाली टोली नेदरल्यान्ड्सविरुद्ध दुई एक दिवसीय खेलको शृंखला खेलेर सोमबार काठमाडौं फर्किएको हो। नेपाली टोलीले शृंखला १–१ को बराबरी गरेको थियो। पहिलो खेलमा ५५ रनले पराजित भएको नेपाली टोलीले दोस्रो खेलमा एक रनको रोमाञ्चक जित हात पारेको थियो।

कप्तान पारसले ऐतिहासिक पहिलो शृंखलामा बराबरीको नतिजा सुखद रहेको प्रतिक्रिया दिए। ‘यो हाम्रा लागि ल्यान्डमार्क उपलब्धि रह्यो’, पारसले भने, ‘सायद यसको महत्व आगामी दिनमा अझै स्पष्टसँग देखिएला।’ ‘म चाहन्छु नेपाली टोलीले भविष्यमा अझै धेरै राम्रो प्रदर्शन गरोस् तर, त्यसका लागि नेपालले आईसीसी र अन्य टोलीसँग सहमति गरेर धेरैभन्दा धेरै खेल खेल्न सक्नु पर्छ’, पारसले भने अन्नपुर्ण पाेष्टमा खबर छ ।


ताजा समाचार