Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

सडक विभागको लापरवाहीका कारण छिन्चु–जाजरकोट सडक खण्डका दर्जन पुल अलपत्र ।

जाजरकोट,१२ साउन ।  छिन्चु–जाजरकोट सडकखण्डका दर्जन पुल सडक विभागको लापरवाहीका कारण अलपत्र  परेका छन । यातायात सञ्चालन भएको १० वर्ष र कालोपत्रे भएको पनि ५ वर्ष बितिसकेको छ । तर सडक विभागको लापरवाहीका कारण उक्त सडकखण्डअन्तर्गत पासागाड खोलामा पुल निर्माण कार्य ५ वर्षदेखि अलपत्र छ ।

पासागाड खोलामा पुल नबन्दा बर्खामा यातायात अवरुद्ध हुँदा जाजरकोट, डोल्पा र जुम्लाका यात्रुलाई सास्ती हुने गरेको छ । वर्षा हुनेबित्तिकै बाढीका कारण यात्रुलाई आवजावतमा सास्ती हुने गरेको हो ।

सडक विभागको चरम लापरवाहीले खलंगादेखि ६ किमिको दूरीमा रहेको भेरी नगरपालिका–४ स्थित पासागाड खोलामा पुल निर्माण हुन नसकेको हो । उक्त खोलामा पुल निर्माणको सुरसारसमेत भएको छैन । विभागको गलत डिजाइनका कारण पुल निर्माण अलपत्र परेको हो ।

सडक विभाग र आईएमई आरसी कन्सल्टेन्सी ललितपुरको चरम लापरवाहीका कारण पुल निर्माण अलपत्र परेको बताइएको छ । २ वर्षअघि निर्माण सम्पन्न गर्नुपर्ने पुलको कार्य सुरुसमेत नभएको स्थानीय वीरबहादुर बस्नेतले जानकारी दिए । पुल निर्माणमा ढिलाइ हुँदा आवतजावत तथा दैनिक उपभोग्य वस्तु आपूर्तिमा पटकपटक अवरोध आएको बस्नेतले बताए । ‘सडक कालोपत्रे भएकै ५ वर्ष बित्यो तर पुल निर्माण सुरु भएन’, उनले भने ।

पुल नबन्दा बाढी आएको बेला रातभर सवारीसाधन खोला किनारमा राखेर बस्नुपर्ने बाध्यता भएको चालक भीम बुढाले बताए । जबर्जस्ती खोलामा हाल्दा पटकपटक गाडी फस्ने र बिग्रने गरेकोसमेत उनले सुनाए ।

परामर्शदाताले हचुवामा गरेको डिजाइनका कारण पुल निर्माण कार्य हुन नसकेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख आशीष थापा मगरले बताए । पुनः डिजाइन गरेर आवश्यक प्रक्रिया अघि बढाइएको उनले बताए । पुल निर्माणका लागि ५ वर्षअघि विभागको सूचनाबमोजिम ३ करोड लागतमा लुम्बिनी–आशीष जेभी निर्माण सेवा काठमाडौंको टेन्डर स्वीकृत भएको थियो । तर निर्माणस्थल र डिजाइनको तालमेल नमिल्दा पुल निर्माण अवरुद्ध भएको उनले बताए । ‘पुल निर्माणस्थलको भौगोलिक अवस्था र डिजाइनले मेल नखाँदा निर्माण कम्पनीले निर्माण कार्य सुरु गर्न नसकेको हो’, डिभिजन प्रमुख थापाले भने ।

परामर्श कम्पनीले ७ लाखको लागतमा पुलको डिजाइन कार्य गरेको थियो । ‘पुलको डिजाइन एक छ, निर्माणस्थलको लोकेसन अर्कै छ । कसरी निर्माण सुरु गर्ने’,  उनले भने । परामर्शदाताले ४६ मिटर लम्बाइको पुल डिजाइन गरेको छ, तर पासागाड खोलामा सर्भे गर्दा निर्माणस्थलको २५ मिटरभन्दा लम्बाइ बढ्दैन । कम लागतमा निर्माण हुने पुलको लागि पनि किन थप बजेट खेर फाल्ने’, उनले भने । ३ वर्षअघि निर्माण कम्पनीलाई साइड देखाउने क्रममा गलत डिजाइनको खुलासा भएको उनले बताए ।

सडक डिभिजनले पुल निर्माणका लागि ३ करोड भुक्तानी नगर्ने भएपछि निर्माण कम्पनीले कार्य सुरु नगरेको उनले बताए । सडक विभागले ठेक्का सम्झौताअनुरूप भुक्तानी दिने भए तत्काल कार्य सुरु गर्ने निर्माण कम्पनीले जनाएको छ । परामर्शदाताले पुलको सर्भे स्थलगत नगरेरै काल्पनिक डिजाइन बनाएको देखिन्छ । सडक विभागले पुलको हचुवा डिजाइन गर्ने परामर्श कम्पनीलाई कारवाही प्रक्रिया अघि बढाएको उनले बताए ।


ताजा समाचार