Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

पाकिस्तानमा २७२ सिटको लागि आज निर्वाचन

पाकिस्तान। पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ । १० करोड ६० लाख मतदाता रहेको चुनावमा ८४९ सिटको लागि ११ हजार ८५५ उम्मेदवारबीच प्रतिष्पर्धा भइरहेको छ । त्यहाँको निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभाको २७२ सिटको लागि ३४५९ जना भिड्दैछन् भने ४ वटा प्रान्तीय सभाहरुको ५७७ सिटको लागि ८३९६ उम्मेदवारहरु खडा भएका छन् ।

जम्मा ३४२ सदस्य रहने पाकिस्तानको राष्ट्रिय सभामा ६० सिट महिला र १० सिट धार्मिक अल्पसंख्यकको लागि आरक्षित छन् । यो चुनावमा त्यहाँ प्रमुख दलका शीर्ष नेताहरुले समेत अलग अलग प्रान्तका विभिन्न सिटहरुबाट उम्मेद्वारी दिएका छन् ।

पाकिस्तानी मुस्लिम लिग–नवाबका सभापति सहवाज सरिफ ४ स्थानबाट प्रतिष्पर्धामा छन् भने यसपटकको चुनावमा अपेक्षाकृत राम्रो नतिजा हात पर्ने अनुमान गरिएको दल तरिक–ए–इन्साफका प्रमुख तथा पूर्वक्रिकेटर इमरान खानले ५ स्थानमा मनोनयन गरेका छन् । पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जर्दारी भने ३ क्षेत्रबाट चुनाव लड्दैछन्

पाकिस्तानी चुनावको नतिजा कस्तो आउला भन्ने अनुमान अहिले नै लगाउन गाह्रो छ । अहिले यतिमात्र भन्न सकिन्छ कि त्यहाँको राजनीतिक परिदृश्य विभाजित, अन्यौलग्रस्त र अनुमान गर्न नसकिने खालको छ ।

तर, पाकिस्तानमा बहुमतविहीन, कमजोर र गठबन्धनको सरकार बनाउने संसद गठन गर्ने सम्भावना धेरै छ । यसो हुँदा आगामी सरकार कमजोर बन्ने र त्यसले क्षेत्रीय तथा अन्तराष्ट्रिय राजनीतिमा समेत बलियो र प्रभावकारी भूमिका निर्वाह गर्न नसक्ने चिन्ता गरिँदैछ ।

गठबन्धन सरकार बन्दा विशेषगरी पाकिस्तानी सरकारले उसको बैदेशिक नीतिका सम्बन्धमा बनाउने धारणाहरुमा समस्या पर्ने हुनसक्छ । यदि गठबन्धनको सरकार बन्यो भने कतिपय धार्मिक कट्टरपन्थीहरूको समेत सरकारमा सहभागिता हुनसक्ने देखिन्छ ।

यस्तो भएमा फेरि पाकिस्तानमा धार्मिक अतिवाद हावी हुनसक्ने चिन्ता पनि व्यक्त भइरहेको छ । यो आशंका बलियो हुनुको कारण यो हो कि चुनावमा प्रत्यासीका रुपमा देखिएका उमेदवारहरुको सूचीमा धेरै त्यस्ता नामहरु छन्, जो पाकिस्तानमा बैधानिकता प्राप्त गर्न नसकेका धार्मिक संगठनका सक्रिय सदस्यहरु हुन् । उनीहरु कतिपय स्वतन्त्र त कोहि अन्य दलबाट चुनाव लडेकाछन् ।

सन् २०१३ मा पाकिस्तान मुस्लिम लिग–नवाफले राष्ट्रिय सभामा बहुमत पाएको थियो । तर, गतवर्ष त्यहाँको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाफ सरिफलाई भ्रष्टाचारको अभियोगसहित आजन्म प्रधानमन्त्री बन्न नपाउने गरी पदबाट बर्खास्त गर्यो ।

उनीसंगै सो दलका धेरै नेताहरु पनि राजनीतिबाट पर जानु पर्ने भएपछि पूर्वक्रिकेटर इमरान खानको दल पाकिस्तान तारिक–ए–इन्साफको लागि मैदान खाली भयो । पाकिस्तानको प्रमुख प्रतिपक्षी तारिक–ए– इन्साफप्रति त्यहाको जनसंख्याको ६५ प्रतिशत हिस्सा ओगटेको युवापंतिको बिषेश आकर्षण छ । त्यसबाहेक खानले आफ्नो नैतिकवान छवी बनाएका छन् । उनलाई नयाँ अनुहारका इमान्दार नेताका रुपमा स्वीकार्न धेरैलाई गाह्रो छैन । फेरि पाकिस्तानी राजनीतिमा बलियो प्रभाव राख्ने त्यहाँको सेनाले समेत पत्याएको नेता कारुपमा उनलाई चिन्ने गरिन्छ ।

सबै सूचकहरुले उनकै नेतृत्वमा अन्य साना दलहरुसहित अबको सरकार बन्ने गरि चुनावी नतिजा आउने अनुमान गरिएको हो ।

खानको पक्षमा वातावरण किन पनि बन्ने देखिन्छ भने उनको चिन्ताको प्रदेश पन्जाब हो, जहाँबाट सबैभन्दा धेरै सांसद केन्द्रिय संसदमा जान्छन । अनि त्यहीं मुस्लिम लिगको विगत देखिको पकड रहेकोमा यो पटक अति कमजोर बनेको छ ।

सिन्धमा पनि पाकिस्तान पिपुल्स पार्टी यसपटक कमजोर देखिएको छ ।


ताजा समाचार