Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

सिंचाई अभावमा खेतियोग्य जमिन बाँझै

रामचन्द्र घर्ती
जाजरकोट । भेरी नगरपालिका १३, को कुदुको फाँट हेर्दा यो समय रोपाइको चटारोले भ्याई नभ्याई हुनु पर्ने हो । सवै किसानहरु खेतवारीमा बिहान देखि बेलुका सम्म कामले व्यस्थ हुनु पर्ने समय हो । अनि असोज र कार्तिक महिनामा धानका बाला झुलेर पहँलै हुनुपर्ने हो । तर विडम्बना सिंचाई सुविधा नभएपछि बर्षौ देखि खेतियोग्य जमिन सुख्या र निन्याउरो छ । प्रसस्त मात्राको खेतियोग्य जमिनले अहिले सम्म सिंचाईको स्वाद चाख्नै पाएको छैन । सिंचाई नपाउदा खेतियोग्य जमीनमा बर्षौ देखि धुलो उडिरहनु परेको छ । कुदुको खेतियोग्य जमिन नजिकैबाट भेरी नदी बगीरहेको छ तर कागलाई बेलपाख्यो हर्स न विस्मात भनेझैँ भएको छ । कुदुका समथर फाँटहरुले भेरी नदिको सुस्केराहरु सुन्नु बाहेक अन्य विकल्प छैन । सिंचाईको सम्भावना नभएको होइन तर संबन्धित निकायको इच्छशक्ति र भरपर्दो योजना नहुनु नै कुदुको लागि दुर्भाग्य भएको छ ।

सिंचाईको सुविधा भयो भने कुदु र भुरचौरको फाँटले मात्रै पनि नगरपालिकाको कुल उत्पादनलाई टेवा पुग्ने र खाद्यान्नमा आत्मनिर्भर बनाउने सम्भावना छ । भनिन्छ पानी जीवन हो, जीवन पानी हो । पानी विना खेतीवाली त सम्भावना छैन भने मानव जीवनको कल्पना पनि गर्न सक्दैनौ । प्रकृतिले अरु जुनसुकै चिजविच दिए पनि पानी भएन भने त्यसको कुनै अर्थ रहदैन । सिंचाई सुविधा नहुदा धान तथा गहुँ उत्पादनमा उपयुक्त क्षेत्र मानिएको भेरी गरपालिकाको कुदु बर्षो देखि बाँझै छ भन्दा फरक नपर्ला । भेरीनगरपालिकाको मुख्य प्रवेशद्धार कुदुमा त्यहाँका बासिन्दाले संधै आकाशे पानिको भरमा खेति गर्दै आएका छन् । खेतियोग्य जमिनको काखैबाट भेरी नदी बगिरहेको छ तर त्यसलाई उपयुक्त प्रविधिको प्रयोग गरेर सिंचाईको व्यावस्थापन नगर्दा अहिले सम्म आफ्नो खेतवारी बाँझै राख्नु परेको स्थानिय मोतीराम गिरीले बताए ।

धान तथा गहुँबालीको लागि जिल्लाको उर्वर भुमि खेर गइरहँदा पनि कसैलाई कुनै साचो नभएको देख्दा अच्चम्म लागेको उनि वताउछन् । कुदुका अधिकांस खेतवारी बाँर्झै छन् । केही जमिन मात्र आकाशे पानीको भरमा बाली लगाउने गरेका छन् त्यहाँका कृषकहरुले । सिंचाईको उपयुक्त व्यवस्थापन हुदा उस्तै फाँट पश्चिम रुकुमको चौरजहारी हरियाली देखिन्छ भने जाजरकोटको कुदु खडेरी परेको बाँझो देखिन्छ । कुदुको केही फाँटमा अहिले कृषकहरु पाखे धान र मकै आकाशे पानीको भरमा लगाउने गरेका छन् तर खडेरी परेपछि उत्पादन नहुने स्थानिय बिताउँछन् । सिंचाईको व्यावस्ता भएको भए भेरी नगरपालिकालाई पुग्ने तरकारी, धान, गहुँ, दाल सवै कुदुमै उत्पादन हुने जमिन भएको स्थानिय निरज आर्चायले बताउँछन् । सिंचाई सुविधा पुगेको भए कुदुमै अन्य जिल्लाहरुमा निर्यात गर्न सकिने खाद्यान्न उत्पादन गर्न सकिन्छ । कुदुको ३ सय ४० हेक्टर भन्दा बढि जमिनमा सिंचाईको सुविधा छैन । कुल २१ हजार ९ सय ७७ हेक्टर जमिन रहेको नगरपालिकामा ४ हजार ८ सय ३८ हेक्टर जमिन खेतियोग्य रहेको कृषि उपशाखाका प्रमुख मुकेश रामजालीले बताए । जस मध्य २७ सय ५५ हेक्टर जमिनमा खेती भइरहेको छ । नगरपालिका भित्र ६ सय ५५ हेक्टर खेतमा सिंचाइको सुविधा पुगेको छ ।

पांञ्चायतकाल देखिको माग र राजनीतिक एजेण्डा बनेको सिंचाई

कुदुका स्थानियले पाँञ्चायतकाल देखि सिंचाइको माग गर्दै आएका हुन् । कुदुको फाँट सम्म सिंचाई पुर्याउनलाई लाखौ रकम लाग्ने भएकोले त्यता तिर कसैको ध्यान गएन । २०४७ सालमा प्रजातन्त्र पुर्नवहाली पछि जिल्लाका बिभिन्न राजनीतिक दल तथा नेताहरुको राजनीतिक एजेण्डा कुदुको सिंचाई बनेपनि चुनाव जितिसकेपछि खासै चासो नदिएको स्थानियको गुनासो छ । पांचायत देखि माग गर्न थालेको कुदुको सिंचाई योजना यो बर्ष मात्र संचालनमा ल्याउन सफल भएको वडा नम्बर १३ कुदुका वडाध्यक्ष गोपाल बहादुर बटालाले बताए । भेरीको पानीलाई लिफ्ट मार्फत कुदुको फाँटमा पुर्याउन कुदु लिफ्ट सिंचाई योजना टेन्डर आह्वान भई ठेक्का सम्झौता गरी काम अगाडी बढिसकेको सिंचाई डिभिजन कार्यालय जाजरकोटका प्रमुख बिस्नु पौडेलको भनाइ छ ।

लिफ्ट सिंचाई योजनालाई छिटो छरितो काम सम्पन्न गरी आगमी बर्ष भित्र कुदुमा पुर्णरुपमा सिंचाईको व्यवस्था गरिने वडा अध्यक्ष गोपाल बहादुर बटाला बताउँछन् । यो योजनामा ढिला सुस्ती आफुलाई सहिय नहुने उनि वताउछन् । कुदु फाँटमा लिफ्ट सिंचाई विस्तार गरि संघिय तथा प्रदेश सरकारको सहयोग जुटाएर काम सम्पन्न गरीने योजना नगरपालिकाको प्राथामिकतामा परेको छ । लिफ्ट सिंचाई योजना सम्पन्न भएपछि आफ्नो खेतवारीमा खाद्यान्न तथा तरकारी वाली हराभरा बनाएर देखाउने बिचार रहेको स्थानिय जयकला गिरी बताउछिन् । सिंचाई मात्र होइन कुदु र भुरचौरमा पिउने पनिको उत्तिकै समस्या छ । स्थानीयले भेरी नदीवाट बोकेर पिउने पानीको जोहो गर्दै आएका छन् । मान्छेलाई पिउने र गाइवस्तुलाई खुवाउने पानी गाग्रीमा भेरीबाट बोकेर ल्याउनु परेको दुखेसो पोख्छीन कुदुकी विश्वमा गिरी वस्नेत ।

कुदु जस्तै पिडित छ भुरचौर

भेरी नगरपालिका वडा नम्बर १० भुरचौरका समथर फाँटहरु पनि कुदु जस्तै सिंचाई विनाका छन् । सिंचाई सुविधा नहुदा सुन्दर खेति योग्य जमिन बाँझै छ । १४० हेक्टर खेति योग्य जमिन बाँझै हुदा जिल्लाको खाद्यान्न उत्पादनमा ठुलो नोक्सान भएको छ । हेर्दा सुन्दर तथा समथर फाँटहरु सिंचाई नभएर धुलो उडिरहेको देख्दा आफुलाई निकै दुःख लाग्ने वडाअध्यक्ष ठगेन्द्र राना बताउछन् । छिन्चु जाजरकोट डोल्पा सडक खण्ड अन्तरगत पर्ने भुरचौर सिंचाई संगै खानेपानिको समस्या विकराल छ । त्यहाँका स्थानियले खाने पानी भेरी नदीवाट समेत वोकेर ल्याउने गरेका छन् । भुरचौरको खानेपानी समस्या समाधानमा आफु गम्भिर भएको वडाअध्यक्ष रानाको भनाई छ । भुरचौरमा सिंचाई योजना संचालन भइरहेको छ तर सम्पन्न हुन अझै समय लाग्ने उनि वताउछन् । योजना सम्पन्न भएपछि १४० हेक्टर खेति योग्य जमिनमा सिंचाईको सुविधा पुग्ने छ ।

भुुरचौर र कुदु मात्रै होइन यस नगरपालिकाका अन्य खेति योग्य जमिनमा पनि सिंचाईको सुविधा नहुदा जमिन बाँझै राख्नु पर्ने बाध्यता छ । वडा नम्बर ५,६,७,८,९ र ११ का केही खेतियोग्य जमिनमा पनि सिंचाई सुविधा छैन । भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तीले सिंचाइर्, खानेपानि, स्वास्थ्य तथा शिक्षामा प्राथामिकता दिदै बजेट बिनियोजन गरेको बताए । कृषिलाई प्रथामिकता दिदै नगरपालिकाका प्रत्येक टोल बस्तिमा सिंचाई तथा खानेपानीको व्यवस्था गरिने नगरप्रमुख घर्तीको भनाई छ ।

नगरपालिकाको खानेपानी र सिंचाईमा प्राथामिकता

यही असार ११ गते सम्पन्न तेस्रो नगर सभाले सामाजिक विकास तर्फ एक करोड ९९ लाख भन्दा बढि रकम विनियोजन गरेको छ । त्यस्तै पुर्वाधार विकास तर्फ २ करोड भन्दा बढि रकम बिनियोजन गरेको छ । सामाजिक विकास अन्तरगत खानेपानी तथा सरसफाई क्षेत्रमा खलंगा खानेपानी सहलगानी योजना, कुदु खानेपानी बृहत योजना, जगतिपुर बृहत खानेपानी योजना तथा भुर बृहत खानेपानी योजनालाई संघीय तथा प्रदेश सरकारसंगको साझेदारीमा आगामी आर्थिक बर्षमा सम्पन्न गर्ने प्रक्रिया अगाडी बढाइने नगरपालिकाको योजना छ ।

यो संगै प्रत्यक टोल वस्तिमा खानेपानीको व्यवस्था गरिने नगरप्रमुख घर्तीले बताए । त्यस्तै पुर्वाधार विकास अन्तरगत नगरपालिकाको कुल उत्पादनलाई टेवा पुग्ने र खाद्यान्नमा आत्मनिर्भर बनाउने सम्भावना रहेको कुदु फाँटमा लिफ्ट सिंचाई विस्तार गरि संघिय तथा प्रदेश सरकारको सहयोग जुटाएर काम सम्पन्न गरीने योजना नगरपालिकाको प्राथामिकतामा परेको छ ।

भेरी नगरपालिका भित्र संचालन भएका सिचाई योजना

१) भेरी नगरपालिका वडा नम्बर १,मा संचालनमा रहेको होलु खोला सिचाई योजना सम्पन्न भएको छ । यही बर्ष सम्पन्न भएको यो योजनाबाट ४५ हेक्टर जमिनमा सिचाई सुविधा पुगेको छ ।

२) वडा नम्बर १, मै संचालित रावतगाउँ सिचाई योजना संचालन भइरहेको छ । यसै बर्ष सम्पन्न हुने यो सिचाई योजनाबाट ३० हेक्टर जमिनमा सिंचाइ हुने छ ।

३) यसै बर्ष सम्पन्न हुने वडा नम्बर ५ को इवर सिचाई योजना अन्तिम चरणमा छ । यो योजनाबाट १२ हेक्टर जमिनमा सिंचाई सुविधा पुग्ने छ ।

४) वडा नम्बर ९ र १० मा भुरचौर सिचाई योजना संचालनमै छ । यो योजना सम्पन्न भएपछि १४० हेक्टर जमिन सिंन्चित हुने छ ।

५) यसै बर्ष वडा नम्बर ११ मा सानिचौर सिचाई योजना सम्पन्न भएको छ । यो याजनाबाट १६ हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको छ ।

६) यो बर्ष देखि वडा नम्बर १३ मा कुदु लिफ्ट सिचाई योजनाको ठेक्का सम्झौता भई सकेको छ । यो योजना सम्पन्न भएपछि २४० हेक्टर जमिनमा सिचाई सुविधा पुग्ने छ ।


ताजा समाचार