Loading... आजः बुधबार, कार्तिक १२, २०७७

यस बर्ष जाजरकोटलाई बाल विवाह न्युनिकरण बर्ष मनाईने

जाजरकोट । विहे गर्ने उमेर नपुग्दै ७४ प्रतिशत बालविवाह हुने जाजरकोटलाई यो बर्ष बाल विहे न्युनिकरण बर्षको रुपमा मनाईने भएको छ । सामाजिक दवाव बढाउन बाल विवाह गर्ने र गराउनेलाई सामाजिक बहिष्कार समेत गरिने निर्णय गरिएको छ ।

पाँचतारा युवा संरक्षक मञ्च नामक एक गैरसरकारी संस्थाले आफ्नो २१ औ बार्षिकोत्सवको अवसरमा २०७५ साललाई बाल विवाह न्युनिकरण गर्ने बर्षको रुपमा मनाउने निर्णय गरेको हो । स्थानिय तहमा रहेका महिला विकास शाखा, विद्यालय र अन्य सरोकारवाला सवैलाई साथमा लिएर यो बर्ष सम्पुर्ण रुपमा बालविवाह न्युनिकरण अभियानकै रुपमा लाग्ने संस्थाका अध्यक्ष राम जंग शाहले बताए । उनले भने–‘एकै पटक बालविवाह अन्त्य गर्न नसकेपनि जनचेतनाका माध्यामबाट जिल्लाभर अभियान छेड्ने छौ र धेरै हदसम्म बालविवाह न्युनिकरण हुनेछ ।’

बाल विवाह न्युनिकरणका लागी संस्थाका कार्यसमिति सदस्य, साधारण सदस्य र कर्मचारी हरुले ७ बुदे साझा प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् । आफ्नो घर परिवारमा बालविवाह पुर्ण रुपमा निषेध गर्ने, बाल विवाहको भोज, निम्ता, जन्ति र बाजा वहिष्कार गर्ने, बालविवाहलाई वढावा दिने तथा प्रोत्साहित गर्ने कुनै पनि कामहरु नगर्ने, समुदायमा बालविवाह न्यनीकरणका लागि पैरवी गर्ने, कार्यक्रमहरु सञ्चालन गर्ने जस्ता प्रतिवद्धता गरिएको छ ।

संस्थाले ४ बर्षे बाल विवाह न्युनिकरण रणनैतिक योजना बनाएर काम गर्ने प्रतिबद्धता समेत गरेको छ । कार्ययोजनामा बालविवाह न्युनिकरणका लागी विद्यालय अभियान, किशोरकिशोरी कार्यक्रम, आमसञ्चारका माध्यामबाट जनचेतना फैलाउने, बालविवाह गर्नेलाई सामाजिक बहिष्कार गर्ने जस्ता दवाव मुलक कार्यक्रम समेत अभियानमा समेटिने पाँच तारा युवा संरक्षक मञ्चकी बाल अधिकृत अञ्जु भट्टराईले बताईन । ‘उमेर नपुग्दै गरिने विवाहले महिला पुरुष आत्मनिर्भर हुन समस्या हुने, महिलाको स्वास्थ्यमा गंभिर असर पर्ने, सम्बन्ध विच्छेद, बहुविवाह जस्ता सामाजिक विकृति बढ्ने र समाज तथा राष्ट्रलाई नै गंभिर असर पुग्ने भएकोले बालविवाह न्युनिकरण अभियान थालेका हौ’ उनले भनिन–‘हामी सवैको साथ र सहयोग लिएर यो अभियान सफल पाछौं ।’

जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्मा, जिल्ला प्रहरी प्रमुख रविन्द्र बहादुर सिंह लगायतका सरोकारवालाहरुले पनि बालविवाह न्युनिकरणको अभियानमा सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

नायिका रेखा थापाले निर्माण गरिरहेको बाल विवाहमा केन्द्रित मालिका फिल्मको समेत केही समय अघि जाजरकोटमै छायाँकन गरिएको थियो । आगामी लक्ष्मीपुजामा रिलिज हुने मालिकाले पनि बालविवाह न्युनिकरणमा सघाउ पुरयाउने कार्यकारी निर्माता नरबहादुर कार्कीको दावी छ । उनले जाजरकोट लगायतका पश्चिम पहाडमा बालविवाह भयावह रुपमा भैरहेकोले यसलाई रोक्नु तथा न्युनिकरण गर्नु आवश्यक रहेको बताए । महिला तथा बालबालिका कार्यालय जाजरकोटका अनुसार १९ बर्ष नपुग्दै जाजरकोटमा ७४ प्रतिशतको विवाह हुने गरेको छ ।

डीजिटलसंचारबाट


ताजा समाचार