Loading... आजः शुक्रबार, कार्तिक १४, २०७७

सार्वजनिक भयो कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनको खर्च

सुर्खेत,२५जेठ । कर्णाली प्रदेश सरकारले कर्णाली–रारा पर्यटन वर्ष–२०७५ को उद्घाटनमा मात्रै ६३ लाखभन्दा बढी खर्च गरेको पाइएको छ। पर्यटन वर्षको खर्च सार्वजनिक गर्न संसद्मा पटक– पटक आवाज उठेपछि आज बसेको दोस्रो अधिवेशनको दसौं संसद् बैठकमा सरकारले खर्च विवरण सार्वजनिक गरेको हो।

सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले संसद्मा जवाफ दिँदै पर्यटन वर्षको शुभारम्भ गर्दा ६३ लाख ८१ हजार रुपैयाँ खर्च भएको जानकारी दिए। जसमा प्रदेश सरकारबाट ४९ लाख ४१ हजार र नेपाल पर्यटन बोर्डबाट १४ लाख ४० हजार बजेट प्राप्त भएको उनले जनाए।

मन्त्री ज्वालाका अनुसार अतिथि र सहभागीलाई पर्यटन वर्षको प्रचारका लागि वितरण गरिएको झोलाका लागि २ लाखस अतिथि र सहभागीको खाना र खाजामा १७ लाख ४६ हजारस अतिथिलाई उपहारमा ५ लाख ५४ हजारस पत्रकारलाई मुगुसम्म लैजान यातायात र आवासमा ६४ हजार रुपैयाँ खर्च भएको छ।

त्यसैगरी प्रचारप्रसारका लागि टेलिभिजन जिंगलमा ४ लाख १२ हजारस रेडियोमा २ लाख ५८ हजारस पोस्टर लगायतका अन्य सामग्रीमा २ लाखस हवाई भाडा १० लाख २९ हजारस स्थलगत यातायत ७६ हजारस मञ्च व्यवस्थापन, सांस्कृतिक कार्यक्रम लगायतमा ११ लाख ५० हजारस आवासमा ४ लाख ६२ हजार र स्थानीय तयारीमा २ लाख गरी जम्मा ६३ लाख ८१ हजार रुपैयाँ खर्च भएको ज्वालाले जानकारी दिए।

खर्च विवरण सार्वजनिक गर्दै मन्त्री ज्वालाले उक्त विवरण कार्यक्रम लगत्तै तत्काल सार्वजनिक नगर्नु कमजोरी भएको स्वीकार गरे। पर्यटन वर्ष शुभारम्भ लगत्तै बजेट निर्माणमा जुट्नु परेकाले ढिलाइ भएको उनको भनाइ थियो। उनले सांसदहरुले उठाएजसरी कुनै पनि आर्थिक अनियमितता नभएको भन्दै मितव्ययिता र आर्थिक अनुशासन सरकारको प्राथमिकता भएको जिकिर गरे। साथै, उनले पर्यटन वर्ष शुभारम्भ भएसँगै रारा र कर्णालीका अन्य पर्यटकीय स्थलहरुमा पर्यटकको आगमन बढेको समेत दाबी गरे।

गत वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारामा पुगेर कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन गरेका थिए। पर्यटन वर्षका लागि प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर, कार्यक्रम सम्पन्न गर्दा उक्त बजेट अपुग भएको सरकारले जनाएको छ।

पर्यटन वर्ष शुभारम्भ गर्दाको खर्च विवरण सार्वजनिक गर्नुपर्ने लगायत विभिन्न माग राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबारको संसद् बैठक अवरुद्ध पारेपछि आज बसेको बैठकमा सरकारले खर्च विवरण सार्वजनिक गरेको हो।


ताजा समाचार